३२ असार २०८३, बिहीबार
फेरिँदै राजनीतिक समीकरण

एमाले नेतृत्वका सबै प्रदेश सरकारबाट कांग्रेसले मन्त्री फिर्ता बोलाउने

असार ३१, २०८३
विराटनगर
एमाले नेतृत्वका सबै प्रदेश सरकारबाट कांग्रेसले मन्त्री फिर्ता बोलाउने

नेपाली कांग्रेसले नेकपा एमालेले नेतृत्व गरेका प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने भएको छ । 

सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले)सँगको सहकार्यमा देखिएको असहजताका कारण कांग्रेसले एमालेसँगको गठबन्धनबारे पुनर्विचार गर्दै सरकारबाट बाहिरिने जनाएको छ ।

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सुदूरपश्चिममा एमालेले सृजना गरेको अप्ठ्यारो परिस्थितिका कारण एमालेसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने अवस्था आएको बताए ।  

घिमिरेका अनुसार, कांग्रेसले अब एमालेसँगको गठबन्धनलाई पुनर्विचार गर्ने र एमाले नेतृत्वका सबै प्रदेश सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने भएको हो ।

‘सुदूरपश्चिममा एमालेले जुन अप्ठ्यारो पार्‍यो त्यसले अब हामीलाई एमालेसँगको गठबन्धन पुनर्विचार गर्नुपर्ने ठाउँमा पुर्‍याएको छ,’ घिमिरेले भने, ‘हामीले कर्णालीबाट फिर्ता हुने निर्णय गरिसकेका छौं र भोलिसम्ममा सबै प्रदेशका (एमाले नेतृत्वमा सरकार रहेको) मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी छ ।’

बुधबार नै कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिएको छ । 

एमालेसँगको दूरी बढेसँगै कांग्रेसले नेकपासँग नयाँ समीकरणका लागि छलफल शुरू गरेको छ । महामन्त्री घिमिरेले नेकपासँग पनि कुराकानी भइरहेको पुष्टि गर्दै यदि नेकपासँग ठोस सहमति हुन नसके कांग्रेस सातै प्रदेशमा प्रतिपक्षमा बस्ने स्पष्ट पारे ।

‘नेकपासँग पनि कुराकानी भइरहेको छ । यदि त्यो संवादले मूर्त रूप लिएन भने हामी सातै प्रदेशमा प्रतिपक्षमा बस्छौं’, उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्