०७ साउन २०८३, बिहीबार

होटलको कोठामा युवतीको हत्या गरी फरार भएको आरोपमा युवक पक्राउ

साउन ५, २०८३
काठमाडौं
होटलको कोठामा युवतीको हत्या गरी फरार भएको आरोपमा युवक पक्राउ

काठमाडौं प्रहरीले होटलको कोठामा युवतीको हत्या गरी फरार भएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–३, चक्रपथ साम्बाला नजिक बस्दै आएका २७ वर्षीय रमेश बुढा रहेका छन् ।

उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यही साउन ३ गते काठमाडौं महानगरपालिका–२६, मित्रनगरस्थित शेरबहादुर खत्रीको चारतले घरमा रहेको होटल माउन्टेन प्लाजाको चौथो तलाको ४०४ नम्बर कोठामा एक युवती मृत अवस्थामा फेला परेकी थिइन् ।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली परिचालन भई प्राविधिक विश्लेषण तथा अनुसन्धान अघि बढाइएको थियो । 

अनुसन्धानका क्रममा उक्त शव कैलालीको धनगढी उपमहानगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–१६, माछापोखरी बस्ने २५ वर्षीया निशा सुनारको रहेको पत्ता लागेको थियो ।

प्रहरीले ती युवतीको हत्यामा संलग्न रहेको आरोपमा बुढालाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको जनाएको छ । 

कमेन्ट गर्नुहोस्