गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभाबाट पारित 'औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता पठाएका छन् ।
प्रदेश प्रमुखको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्रदेशसभाबाट पारित तथा सभामुखबाट प्रमाणित भई प्राप्त भएको उक्त विधेयक सन्देशसहित प्रदेशसभामा फिर्ता पठाइएको हो।
कार्यालयका प्रवक्ता प्रवीण पौडेलका अनुसार प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा २०१ को उपधारा (३) बमोजिम उक्त विधेयक पुनर्विचारका लागि फिर्ता गरेका हुन् ।
