
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न पाँचवटा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि लागू हुने गरी आदेश जारी गरेका हुन् । राति १२:३० बजे जारी गरिएको उक्त आदेशमा तोकिएको सिमानाभित्र आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
००००
नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको सोमबार औपचारिक उद्घाटन हुँदैछ । यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षलगायत वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो ।
००००
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा आठ वर्ष पुगिसक्दा पनि प्रहरीको अनुसन्धान पूरा हुन सकेको छैन । आठ वर्षअघि (२०७५ साउन १०) निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव निम्बुखेडाको उखुबारीमा भेटिएको थियो ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमै चासोको विषय बनेको निर्मला प्रकरणमा प्रहरी संयन्त्र निरन्तर अनुसन्धानमा रहे पनि हत्यारासम्म पुग्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका साथै प्रहरीको माथिल्लो तहबाट प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा टोली अझै पनि घटनामा विभिन्न कोणबाट अनुसन्धानरत छ ।
००००
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी नन्दन यादव ह्यामस्ट्रिङमा चोट लागेका कारण आईसीसी क्रिकेट विश्वकप लिग–२ का बाँकी खेलबाट बाहिरिएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सामाजिक सञ्जालमार्फत नन्दन ह्यामस्ट्रिङ स्ट्रेनका कारण प्रतियोगिताको बाँकी खेल खेल्न नसक्ने जनाएको हो।
००००
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘अन्य राजनीतिक दल संवाद समिति’ मा दुई जना सदस्यहरू मनोनयन गरेका छन् ।
सभापति थापाले पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी.को संयोजकत्वमा गठित उक्त समितिमा केन्द्रीय सदस्यद्वय उज्ज्वलप्रसाद बराल र प्रदीपराज शर्मालाई सदस्यका रूपमा मनोनयन गरेका हुन् ।
००००
त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अगावै बाहिर ल्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको अभियोगमा ३३ वर्षीय सन्दीप सिंहलाई नियन्त्रणमा लिएको हो।
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं. १ बस्ने सिंहलाई सीआईबीको टोलीले आइतबार पक्राउ गरेको हो।
००००
काठमाडौंको तारकेश्वर नगरपालिका १ कालेबासे चुनीदेवीस्थित कारभित्र जलेको अवस्थामा मृत फेला परेकी रश्मी रिजालको घटनामा प्रहरीले महत्त्वपूर्ण क्लू फेला पारेको छ । रिजाल कारको ड्राइभिङ सिटबाट झरेर पछाडिको सिटमा गएको सीसीटीभी फुटेज प्रहरीले फेला पारेको हो ।
प्रारम्भिक अनुसन्धानमा उक्त फुटेजले घटनास्थलमा तेस्रो व्यक्तिको उपस्थिति नदेखिएको दाबी प्रहरीको छ।
००००
लघुवित्त तथा वित्तीय शोषण पीडित किसान–मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका छन् ।
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालको आयोजनामा बल्खुबाट मार्च शुरू भएको हो ।
मार्च भद्रकाली पुगेर कोणसभा परिणत हुनेछ । यसैबिच राति बास बस्ने ठाउँ नपाएर उनीहरुको विचल्ली भएको छ ।
००००
लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले राजीनामा दिने भएका छन् ।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै कांग्रेसले सरकार छाड्न लागेको हो ।
यता नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले नयाँ मुख्यमन्त्रीको टुङ्गो लागेपछि मात्र कांग्रेसका मन्त्रीले राजीनामा दिने बताएका छन् ।