२१ जेठ २०८३, बिहीबार

जाँचबुझ आयोगलाई सम्पत्ति विवरण बुझाउन तयार छौं, निष्पक्ष र पारदर्शी अनुसन्धान होस्- गगन थापा

जेठ २१, २०८३
काठमाडौं
जाँचबुझ आयोगलाई सम्पत्ति विवरण बुझाउन तयार छौं, निष्पक्ष र पारदर्शी अनुसन्धान होस्- गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले आफू लगायत कांग्रेसका सबै नेताले सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ आयोगलाई विवरण बुझाउन तयार रहेको बताएका छन् । तर, आयोगले निष्पक्ष, स्वच्छ र पारदर्शिता भएर अनुसन्धान गर्नुपर्ने थापाको भनाइ छ । 

सभापति थापाले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन आवश्यक रहेको बताए । हरेक पटकका राजनीतिक आन्दोलनको प्रमुख विषय सार्वजनिक जिम्मेवारीमा बसेकाहरूको निजी सम्पत्तिको विषय भएकाले अहिले यो टुंगिनुपर्ने थापाले बताएका हुन् ।

नेपाली कांग्रेसले गर्ने ग्रीन टेबल विशेष शृङ्खला अन्तर्गत बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले सम्पत्ति छानबिनको प्रक्रियामा सबै राजनीतिक दल र नेतृत्व सहभागी हुनुपर्ने समेत बताए । 

कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमै सम्पत्ति छानबिन गर्ने सशक्त आयोग गठन गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै थापाले हाल सरकारले गठन गरेको आयोगप्रति पनि सहयोग रहने बताए ।

‘नेपाली कांग्रेसको तर्फबाट म पनि, मेरो पार्टीका सबै साथीहरूले आ-आफ्नो सम्पत्ति विवरण बुझाउनुहुन्छ । हामी बुझाउँछौं र यो प्रक्रिया टुंगिनुपर्छ भन्ने ठान्छौं’, थापाले भने, ‘केही राजनीतिक दलका शीर्ष नेताहरूले हामी विवरण बुझाउँदैनौं भनेर भन्नुभएको छ । त्यसका बारेमा हाम्रो कुनै टिप्पणी छैन । तर, नेपाली कांग्रेस पार्टीको तर्फबाट म पनि र मेरो पार्टीका सबै साथीहरूले आफ्नो विवरण बुझाउनुहुन्छ ।’

आयोगबारे सरकारसँग कांग्रेसका दुई आग्रह रहेको पनि सभापति थापाको भनाइ छ । जसमा आयोगको निष्पक्षता, स्वच्छता र पारदर्शिता रहेको थापाको भनाइ छ । यसैगरी, सम्पत्ति छानबिनको काम गर्दै गर्दा अहिले राजनीतिक जिम्मेवारीमा भएका नेताहरू पनि दायरामा अटाउनुपर्ने सभापति थापाको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्