
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता तीब्र पारेका छन् ।
यसक्रममा उनी मंगलबार दिउँसो भारतीय जनता पार्टी (भाजपा)को कार्यालय पुगेका छन् । त्यहाँ उनलाई भाजपा अध्यक्ष नीतिन नवीनले भव्य स्वागत गरे ।
सो क्रममा रविले भाजपा अध्यक्ष नीतिनलाई पशुपतिनाथको मन्दिरको फोटो उपहार दिए भने रुद्राक्षको माला लगाइदिए ।
यसअघि भाजपा मुख्यालयमा रविलाई रेड कार्पेटमा भव्य स्वागत गरिएको थियो ।
रवि मुख्यालय पुग्दा परम्परागत झाँकी र फूलमालासहित भाजपा नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए । सभापति लामिछानेको स्वागतमा नयाँ दिल्लीका विभिन्न स्थानमा उनको तस्वीर राखिएको थियो ।
भेटवार्ता दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।
लामिछाने पाँच दिने भ्रमणका लागि सोमबार भारत गएका हुन् । उनी सोमबार दिल्ली प्रस्थान गरेका थिए । दिल्ली विमानस्थलमा लामिछानेलाई भाजपा महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए ।
रास्वपाका अनुसार लामिछानेले जुन ५ तारिखसम्म नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नेछन् ।
उनले भारतस्थित नेपाली समुदाय तथा शुभेच्छुकहरूसँग भेटघाट गर्नुका साथै अयोध्याको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ।