२४ जेठ २०८३, आइतबार

पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै

जेठ २१, २०८३
काठमाडौं
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै

नेपाली क्रिकेटमा नयाँ पुस्ताका प्रतिभा खोज्ने लक्ष्यसहित गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप शुक्रबारदेखि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सुरु हुने भएको छ ।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा हुने प्रतियोगिताले विद्यालय तहबाट क्रिकेटको जग बलियो बनाउने, ग्रामीण तथा जिल्लास्तरमा लुकेका प्रतिभालाई राष्ट्रिय मञ्चसम्म पुर्‍याउने र भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ ।

गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाका उत्कृष्ट विद्यालय टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । जिल्ला स्तरीय छनोट प्रतियोगिताका विजेता विद्यालय मात्र प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा कास्कीबाट डायमण्ड सेकेन्डरी स्कुल, नवलपुरबाट भिमसेन आदर्श माध्यमिक विद्यालय, स्याङ्जाबाट भगवती माध्यमिक विद्यालय तथा पर्वतबाट मङ्गलोदय माध्यमिक विद्यालय सहभागी हुनेछन् ।

यस वर्ष प्रतियोगितामा सहभागी विद्यालय टोलीसँगै सम्बन्धित जिल्लाबाट छनोट गरिएका अतिरिक्त चार उत्कृष्ट खेलाडीलाई पनि टोलीमा समावेश गरिनेछ । यस व्यवस्थाले विद्यालय टोलीमा पर्न नसकेका तर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई पनि प्रदेशस्तरीय प्रतियोगितामा प्रतिभा प्रदर्शन गर्ने अवसर दिने विश्वास आयोजकको छ ।

प्रतियोगिताका लिग चरणका खेल जेठ २२, २३ र २४ गते सञ्चालन हुनेछन् भने फाइनल खेल जेठ २५ गते हुनेछ । पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजे सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले आगामी असारको पहिलो सातादेखि काठमाडौँमा आयोजना हुने राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछ । साथै प्रतियोगिताबाट छनोट हुने उत्कृष्ट चार खेलाडीले पनि विजेता विद्यालयको टोलीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाउनेछन् ।

प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन पाउनेछन् । यस वर्ष एसइई परीक्षा उत्तीर्ण गरिसकेका तर जिल्ला स्तरीय प्रतियोगितामा सहभागी भएका खेलाडीलाई समेत खेल्न अनुमति दिइएको छ ।

नेपालमा पछिल्लो समय क्रिकेटप्रति युवापुस्ताको आकर्षण बढिरहेका बेला विद्यालयस्तरबाटै व्यवस्थित प्रतिस्पर्धा सञ्चालन हुनुले भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्