
अष्ट्रेलियाली डाटा सेन्टर कम्पनी एयरट्रङ्कले भारतको महाराष्ट्र राज्यमा २१ अर्ब ५० करोड अमेरिकी डलरभन्दा बढी लगानीमा विशाल डाटा सेन्टर निर्माण गर्ने भएको छ ।
महाराष्ट्रका मुख्यमन्त्रीले सामाजिक सञ्जाल एक्समार्फत एयरट्रङ्क र राज्य सरकारबीच जग्गा उपलब्ध गराउने सम्बन्धमा आशयपत्रमा हस्ताक्षर भएको जानकारी दिएका छन् ।
प्रस्तावित डाटा सेन्टर मुम्बई नजिकैको रायगढस्थित पेन ग्रोथ सेन्टर क्षेत्रमा निर्माण हुनेछ । यसको क्षमता ३ गिगावाट रहने जनाइएको छ, जुन भारतमा निर्माण हुने सबैभन्दा ठूला डाटा पूर्वाधार परियोजनामध्ये एक मानिएको छ ।
एयरट्रङ्क अमेरिकी लगानी कम्पनी ब्ल्याकस्टोटको लगानीमा सञ्चालित कम्पनी हो । कम्पनीले हाल हङकङ, जापान, मलेसिया र सिंगापुरमा डाटा सेन्टर सञ्चालन गरिरहेको छ ।
कृत्रिम बुद्धिमत्ता (एआई), क्लाउड कम्प्युटिङ र डिजिटल सेवाको बढ्दो मागलाई लक्षित गर्दै भारत डाटा सेन्टर लगानीको प्रमुख गन्तव्यका रूपमा उदाइरहेको छ ।
विदेशी कम्पनीलाई आकर्षित गर्न भारत सरकारले स्वदेशी डाटा सेन्टरबाट सञ्चालन हुने व्यवसायका लागि कर सहुलियतसमेत उपलब्ध गराउँदै आएको छ ।
यस वर्ष मात्र अमेरिकी प्रविधि कम्पनीहरूबाट भारतमा ६३० अर्ब डलरभन्दा बढी लगानी आउने अपेक्षा गरिएको छ ।
भारतका ठूला औद्योगिक समूहहरू पनि डाटा तथा एआई पूर्वाधारमा आक्रामक रूपमा लगानी गरिरहेका छन् । रिलायन्स इन्डस्ट्रिजले करिब ११० अर्ब डलर तथा अडानी समूहले करिब १०० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता यसअघि नै सार्वजनिक गरिसकेका छन् ।
एयरट्रङ्कको नयाँ परियोजनाले भारतलाई दक्षिण एसियाको प्रमुख डाटा सेन्टर हब बनाउने प्रयासलाई थप बल पुग्ने विश्वास गरिएको छ ।