२५ जेठ २०८३, सोमबार

साढे दुई लाख नगदसहित विराटनगरबाट १२ जुवाडे पक्राउ

जेठ २५, २०८३
काठमाडौं
साढे दुई लाख नगदसहित विराटनगरबाट १२ जुवाडे पक्राउ

मोरङ प्रहरीले विराटनगर महानगरपालिका–११ स्थित जनपथ टोलबाट ठूलो परिमाणको नगदसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ। स्थानीय महेश अग्रवालको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

शनिबार राति करिब १:३० बजे गरिएको छापाका क्रममा प्रहरीले जुवाको खालबाट २ लाख ५७ हजार ४ सय रुपैयाँ नगद बरामद गरेको छ। नगदका साथै २२ बुक तास, १४ थान मोबाइल फोन र ३ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा विराटनगरका विभिन्न वडाका साथै मोरङको ग्रामथान, बुढीगंगा र कटहरीका स्थानीयहरू रहेका छन्। पक्राउ परेकामध्ये एक जना ४६ वर्षीय लोकचन्द्र कार्की भने उदयपुरको गाईघाटदेखि विराटनगर आएको खुलेको छ। पक्राउ पर्नेमा ७१ वर्षीय वृद्ध मेदिनी प्रसाद प्रसाईदेखि १६ वर्षीय किशोर सुरज शर्मासम्म रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक  मकेन्द्र कुमार मिश्रका अनुसार, पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ।

salt training

कमेन्ट गर्नुहोस्