२५ जेठ २०८३, सोमबार

जयकुमारनाथ शाह स्मृति क्रिकेट : नेपाल पुलिस र डीएभी स्कूलबीच उपाधि भिडन्त

जेठ २५, २०८३
काठमाडौं
जयकुमारनाथ शाह स्मृति क्रिकेट : नेपाल पुलिस र डीएभी स्कूलबीच उपाधि भिडन्त

नेपाल पुलिस स्कूल र डीएभी सुशील केडिया विश्व भारती स्कूल जयकुमारनाथ शाह स्मृति यू–१६ अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन् । फाइनल खेल मंगलबार हुनेछ ।

मूलपानी क्रिकेट मैदानमा सोमबार खेलिएको सेमिफाइनलमा नेपाल पुलिस स्कूलले सैनिक आवासीय महाविद्यालयलाई आठ रनले हरायो ।

डीभएपी स्कूलले भने सोमबार नै खेलिएको पहिलो सेमिफाइनल खेलमा जेम्स स्कूललाई ४४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

दोस्रो सेमिफाइनलमा पहिले ब्याटिङ गरेको पुलिस स्कूलले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको सैनिक आवासीय स्कूलले भने निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय ३८ रनमात्र बनाउन सक्यो ।

पुलिस स्कूलका लागि प्रियांशु किशार राउतले ३६, मोहम्मद अब्बास साफीले ३२, राकेश कुमार शाहले अविजित २१ र सुनिल ठाकुरले २० रन बनाए ।

सैनिक आवासीयका बलर सफल पौडेलले तीन विकेट लिए । आभाष केसी र रोशन तिवारीले पनि दुई/दुई विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको सैनिक आवासीयका लागि ओपनर राजदीप आचार्यले उत्कृष्ट अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन ।

कप्तानसमेत रहेका उनले ६४ रन बनाए । यसक्रममा उनले ५२ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए ।

अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । ऋषभ शाहले १९ र रोशन तिवारीले ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिस स्कूलका बलर सुनिल ठाकुर, आर्यन शाह, प्रियांशु किशोर राउत, सुजित यादव र सागर सिंहले एक–एक विकेट लिए ।

त्यसअघि, पहिलो सेमिफाइनल पहिले ब्याटिङ गरेको डीएभी स्कूलले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३० रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको जेम्स स्कूलले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर ८६ रनमात्र बनाउन सक्यो ।

डीएभी स्कूलको जितमा ओपनर प्रसिद्ध जैसीले ४९ रनको योगदान गरे । उनले केवल २८ बलमा नौ चौका पनि प्रहार गरे ।

विराज जैसवालले पनि २८ बलमा दुई छक्का र दुई चौकाको मद्दतले ३७ रन बनाए । सत्यम बस्नेतले १६ र मायांक शाहले १० रन जोडे । जेम्स स्कूलका बलर स्वराज चौलागाइँले तीन विकेट लिए ।

जवाफी ब्याटिङ गरेको जेम्स स्कूलका लागि ओपनर स्वराज चौलागाईंले सर्वाधिक २७ रन बनाए । सुदिश पौडेलले १६ र प्रचित लखोटियाले १५ रन जोडे ।

जेम्स स्कूलका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । डीएभी स्कूलका बलर कुञ्जन आचार्यले दुई विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्