संघीय राजधानी काठमाडौंको प्रमुख प्रवेशद्वार, थानकोट । यहाँबाट तपाईंहरूले देख्न सक्नुहुन्छ चन्द्रागिरिको विशाल पहाड । यही पहाडको पछाडि छ कुनै समयमा राजा अंशु वर्माले गोठालाहरूलाई उपहार दिएको सुन्दर गाउँ चित्लाङ । जुन एउटा किम्बदन्तीका रूपमा गाउँलेहरूले सुनाउने गर्दछन् ।
सरकारले यही चन्द्रागिरिको डाँडालाई छेड्दै चित्लाङसम्म पुग्ने सुरुङमार्ग निर्माण सम्बन्धी अध्ययन गर्ने घोषणा गरेको छ ।
काठमाडौंलाई मकवानपुरसँग अझ सहज र छोटो दूरीमा जोड्ने यो थानकोट-चित्लाङ सुरुङमार्गले यहाँको सम्पूर्ण चित्रलाई नै परिवर्तन गर्ने अपेक्षा गरिएको छ ।
यसअघि पनि २०७९ सालमा ततकालीन अर्थमन्त्री जनार्दन शर्माले काठमाडौंदेखि चितवनसम्म एक घण्टामै पुग्नेगरी द्रुतमार्ग अर्थात् फास्ट ट्रयाक बनाउने कुरा बजेटमै ल्याएका थिए । उनले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा ‘चन्द्रगिरि–चित्लाङ–पालुङ–चितवन फास्ट्रयाक’ बनाउने कुरा उल्लेख गरेका थिए ।
यहाँ सुरुङमार्ग बनाउनुको सबैभन्दा ठूलो कारणमध्ये एक हो- गणेशमान सिंह मार्ग । लगभग २२ किलोमिटर लामो यो सडक खण्ड वर्षौंदेखि जोखिमपूर्ण छ । साँघुरो घुम्ती, कच्ची र भत्किएको अवस्थाका कारण दैनिक हजारौं मानिसले सास्ती खेप्नुका साथै जोखिपूर्ण यात्र गर्न बाध्य छन् ।
मर्मत तथा स्तरोन्नति गर्नका लागि काठमाडौं सडक डिभिजन कार्यालयले जेठ ३० गतेसम्म यो बाटो बन्द गरेको छ । यसले पनि यस सडकको दयनीय अवस्था र तत्काल सुधारको आवश्यकतालाई उजागर गर्छ ।
विस्तृत जानकारीका लागि हेर्नुहोस् यो भिडियो सामग्री: