
लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ विनियोजन विधेयक पारित भएको छ । प्रदेशसभाको बुधबारको बैठकले विनियोजन विधेयक बहुमतले स्वीकृत गरेको हो ।
आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गरेका थिए ।
सभामुख तुलाराम घर्तीले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कूल ३७ अर्ब ३८ करोड ४५ लाख रूपैयाँ बराबरको बजेट ल्याएको छ ।
बजेटमध्ये चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रूपैयाँ र पूँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रूपैयाँ विनियोजन गरिएको छ ।
मन्त्रीहरूले आफूखुसी आ-आफ्नो जिल्लामा बजेट खन्याएको भन्दै सत्तापक्षकै सांसदहरूले विरोध जनाउँदै आएका थिए ।