
फिफा विश्वकपको १९औँ संस्करण सन् २०१० को जुन ११ देखि जुलाई ११ तारिखसम्म दक्षिण अफ्रिकामा आयोजना भयो ।
अफ्रिकी महादेशमा आयोजना भएको यो पहिलो फिफा विश्वकप थियो । त्यसयता पनि हालसम्म अफ्रिकामा फिफा विश्वकप आयोजना भएको छैन ।
त्यसैले यो संस्करण फिफा विश्वकप फुटबलको इतिहासमा सधैंका लागि एउटा कोसेढुङ्गा बनेर रहेको छ ।
यो केवल ३२ देशबीचको प्रतिस्पर्धा थिएन, बरु यो एउटा महादेशको स्वाभिमान, नविनतम् प्रविधिको खोजी र आधुनिक फुटबलको रणनीतिक परीक्षणको संगम पनि थियो ।
नेल्सन मण्डेलाको आँसु
यो विश्वकप आयोजनाका लागि दक्षिण अफ्रिकासँगै इजिप्ट र मोरक्कोले पनि आफ्नो दाबी प्रस्तुत गरेका थिए । यसका अतिरिक्त लिबिया र ट्युनिसियाले पनि संयुक्त दाबी पेश गरेका थिए ।
तर, फिफाले संयुक्त आयोजनाको दाबीलाई प्रारम्भमै खारेज गरेको थियो । त्यसपछि तीनवटा टोलीमात्र दौडमा थिए ।

सन् २००४ मा फिफाले इजिप्ट र मोरक्कोलाई पछि पार्दै दक्षिण अफ्रिकालाई विश्वकप आयोजक राष्ट्र घोषणा गर्यो ।
आफ्नो राष्ट्रले विश्वकप आयोजनाको अधिकार पाउँदा नेल्सन मण्डेलाको आँखामा छचल्किएको खुसीको आँसुले फुटबल खेलको वास्तविक महत्वलाई प्रष्ट पारेको थियो ।
मण्डेलाले रोबेन आइल्यान्डको जेलमा रहँदा फुटबलले आफूहरूलाई ‘जीवित र विजयी’ महसुस गराएको ओजपूर्ण अभिव्यक्ति दिँदै यो विश्वकपको भव्यताको आधारशिला राखेका थिए ।
घुस काण्ड, विवाद र आलोचना
यो विश्वकप खेलका कारणमात्र चर्चामा रहेन, योसँग केही काला पाटा पनि जोडिएका थिए । सन् २०१५ को फिफा भ्रष्टाचार काण्डले दक्षिण अफ्रिकाको बिडिङ प्रक्रियामाथि नै प्रश्न उठायो ।
उच्च पदस्थ फिफा अधिकारीहरूलाई घुस दिएर आयोजनाको अधिकार हात पारेको खुलासा भएपछि खेल जगत स्तब्ध: बन्यो ।
यसैगरी, एडिडासको ‘जाबुलानी’ बल पनि खेलाडीहरूका लागि टाउको दु:खाइको विषय बन्यो । विभिन्न टोलीका गोलरक्षकले यो बलको दिशा अनुमान गर्नै नसकिएको भन्दै आक्रोश पोखेका थिए ।

फुटबल मैदानमा आयोजक दक्षिण अफ्रिकाको प्रदर्शन भने सुखद् रहेन । विश्वकपको इतिहासमा समूहगत चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्रको नमीठो कीर्तिमान दक्षिण अफ्रिकाले बनायो ।
साविक विजेता इटाली र उपविजेता फ्रान्स पनि समूहगत चरणबाटै घर फर्किनु प्रतियोगिताको अर्को सनसनीपूर्ण घटना थियो ।
आर्थिक हिसाबले पनि यो प्रतियोगिता मिश्रित रह्यो । फिफाका लागि यो २.२४ बिलियन पाउन्डको व्यापारसहित ‘ठूलो सफलता’ बन्यो ।
तर, दक्षिण अफ्रिकाका लागि भने लगानीको तुलनामा आम्दानी आशातीत हुन सकेन । पर्यटनबाट ठूलो लाभ लिने सरकारी लक्ष्य अधुरै रह्यो ।
स्थानीय व्यापारीहरूले फिफाको कडा नीति र रंगशाला वरपरको प्रतिबन्धका कारण व्यापार गुमाउनु परेको व्यापक गुनासो गरेका थिए ।
फरक संस्करणका पुराना टोली
विश्वकप फुटबलको इतिहासमा यो यस्तो संस्करण थियो, जसमा कुनै पनि नयाँ टोलीले ‘डेब्यू’ गरेका थिएनन् ।
यो संस्करणमा सबै महादेशको प्रतिनिधित्व थियो । एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया र उत्तर कोरियाले भाग लिएका थिए ।
अफ्रिकाबाट भने दक्षिण अफ्रिका, क्यामरुन, अल्जेरिया, घाना, आइभरी कोस्ट र नाइजेरिया सहभागी थिए । ओसेनिया क्षेत्रको प्रतिनिधित्व न्युजिल्यान्डले गरेको थियो ।

यसैगरी, उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट होन्डुरस, मेक्सिको र अमेरिका सहभागी थिए । दक्षिण अमेरिकी क्षेत्रबाट अर्जेन्टिना, ब्राजिल, चिली, पाराग्वे र उरुग्वेले भाग लिएका थिए ।
युरोपबाट भने स्पेन, स्विट्जरल्यान्ड, सर्बिया, स्लोभाकिया, स्लोभानिया, डेनमार्क, इङ्ल्यान्ड, फ्रान्स, जर्मनी, ग्रिस, इटाली, नेदरल्यान्ड्स र पोर्चुगल सहभागी थिए ।
‘वका वका’को धुन र सञ्चारमाध्यमको त्रास
विश्वकपको इतिहासमा पहिलो पटक अफ्रिकी महादेशमा आयोजना भएको यो संस्करणलाई लिएर शुरूआती दिनमा निकै आशंका थियो ।
सुरक्षा र पूर्वाधारलाई लिएर पश्चिमा सञ्चारमाध्यमले ‘डरलाग्दो चित्रण’ गरेका थिए । तर, अफ्रिकी भूगोलले ती सबै अनर्गल प्रचारलाई गलत सावित गरिदियो ।

जब शाकिराको स्वरमा ‘वका वका’को धुन गुञ्जियो, अफ्रिकामात्र होइन, सिंगो विश्व नै फुटबलको उत्सवमा झुम्यो ।
जब, दक्षिण अफ्रिकाले संसारका लागि आफ्नो ढोका खोलिदियो र सारा विश्वले अफ्रिकी आतिथ्यको गजबको स्वाद चाख्ने अवसर पायो ।
नयाँ प्रविधिको आवश्यक्ता महसुस
यो यस्तो संस्करण थियो, जहाँ विश्व फुटबलमा नयाँ प्रविधिको बहसले निकै ठूलो चर्चा पायो । केही खेलको नतिजालाई लिएर पछिसम्म पनि वहस जारी रह्यो ।
खासगरी, जर्मनी र इङ्ल्यान्डबीचको खेलमा फ्रान्क लाम्पार्डको प्रहारले प्रष्ट रूपमा ‘गोल लाइन’ पार गरेको थियो । तर, रेफ्रीले त्यसलाई गोल दिएनन् ।

यो विवादले कालान्तरमा नयाँ प्रविधि भित्र्याउन ठूलो सहयोग गर्यो । हाल विश्व फुटबलमा प्रयोगमा ल्याइएको ‘गोल लाइन’ प्रविधि र ‘भिडियो असिस्टेन्ट रेफ्री’ त्यसैको प्रतिफल हो ।
मैदानभित्रको रणनीतिक युद्ध र स्पेनको उदय
यो विश्वकपमा मैदानभित्र ‘टिकी–टाका’ शैलीको दबदबा देखियो । प्रशिक्षक भिसेन्ट डेल बोस्कको नेतृत्वमा स्पेनले आफ्नो पहिलो विश्वकप उपाधि जित्यो ।
रोचक कुरा के छ भने, स्पेन समूहगत चरणको पहिलो खेलमै स्विट्जरल्यान्डसँग ०–१ गोलले पराजित भएको थियो ।

त्यसपछिका हरेक नकआउट खेलमा स्पेनले १–० गोलकै नतिजा निकाल्दै उपाधिसम्मको गौरवशाली यात्रा तय गर्यो ।
नेदरल्यान्ड्सविरुद्धको फाइनलमा खेलमा आन्द्रेस इनिएस्टाले ११६औँ मिनेटमा गरेको निर्णायक गोल स्पेनका लागि मात्र नभई फुटबल इतिहासकै लागि एक स्वर्णिम क्षण थियो ।
इनिएस्टाले गोल गरेपछि जर्सी फुकालेर दिवंगत साथी ड्यानी जार्केप्रति व्यक्त गरेको श्रद्धाञ्जलीले विश्व खेलकुदको मानवीय पक्षलाई राम्ररी उजागर गरेको थियो ।
स्पेनको नाममा कीर्तिमानको ओइरो
स्पेनले ऐतिहासिक उपाधिसँगै थुप्रै कीर्तिमान पनि आफ्नो नाममा लेखायो । पहिलो खेलमै पराजित भएर पनि विश्वकप जित्ने स्पेन पहिलो राष्ट्र बन्यो ।
युरोपबाहिर विश्वकप जित्ने पहिलो युरोपेली राष्ट्रको कीर्तिमान पनि स्पेनकै नामसँग जोडियो । यो विश्वकपमा स्पेनले केवल आठ गोल गरेर उपाधि जित्दै सबैभन्दा कम गोल गर्ने विजेताको रूपमा पनि इतिहास रच्यो ।
विश्वकपको यो संस्करणको तेस्रो स्थानका लागि भएको खेलमा दुई पूर्वच्याम्पियन जर्मनी र उरुग्वेबीच भिडन्त भएको थियो । त्यसमा जर्मनीले उरुग्वेलाई ३–२ गोलले हरायो ।
यो विश्वकपसँगै जर्मनी सबैभन्दा बढी (चार पटक) तेस्रो स्थान हासिल गर्ने टोली र उरुग्वे सबैभन्दा बढी (तीन पटक) चौथो स्थान हासिल गर्ने टोली बने ।
‘भुभुजेला’को रमाइलो कथा
दक्षिण अफ्रिका विश्वकपको अर्को विशेषता थियो, भुभुजेला । विश्वकप सकिएको लामो समयसम्म पनि भुभुजेला समर्थकमाझ चर्चाको विषय बनिरह्यो ।
रंगशालाभित्र ‘भुभुजेला’ अर्थात्, प्लास्टिकका हर्नको आवाजले खेलाडी र टेलिभिजन दर्शकलाई हैरान पारेको थियो । तर, धेरैले यसैलाई अफ्रिकी विश्वकपको विशिष्ट पहिचानका रूपमा लिए ।
त्यतिमात्र होइन, ‘भुभुजेला’को निरन्तरको चर्को आवाजले धेरै खेलाडी र दर्शकको निद्रा बिथोल्ने काम गरेको आरोप पनि लाग्यो ।

अर्जेन्टिनी स्टार लियोनल मेसीजस्ता खेलाडीले मैदानमा एक–आपसको सञ्चारमा समेत भुभुजेलाको आवाज बाधक बनेको गुनासो गरेका थिए ।
चर्चा र अविस्मरणीय क्षणहरू
सन् २०१० को विश्वकप पनि विवादबाट भने टाढा रहन सकेन । प्रशिक्षक रेमन्ड डोमेनेच र खेलाडी निकोलस एनेल्काबीचको विवादले फ्रान्सेली टोलीलाई तहसनहस पार्यो ।
विवादकै कारण फ्रान्सेली खेलाडीहरूले प्रशिक्षणमा जान अस्वीकार गरे र टोली लज्जास्पद तारिकाले समूहगत चरणबाटै बाहिरियो ।
यसैगरी, घानाविरुद्धको क्वार्टरफाइनल खेलमा उरुग्वेका स्टार खेलाडी लुइस स्वारेजले अन्तिम समयमा गोल लाइननजिक बललाई हातले रोके ।
तर, पेनाल्टीमा घानाले गोल गर्न सकेन । त्यसपछि पेनाल्टी सुटआउटमै घानालाई हराउँदै उरुग्वे सेमिफाइनलमा पुग्न सफल भयो । यसले खेलको नैतिकता र नियमबारे ठूलो बहस छेड्यो ।
यसैगरी, क्वार्टरफाइनलको एक खेलका क्रममा चर्चित कलाकार पेरिस हिल्टनलाई गाँजा राखेको आरोपमा पक्राउ गरिएपछि यो घटनाले लामै समय सञ्चारमाध्यमको ध्यान तान्यो ।
के पायो दक्षिण अफ्रिकाले ?
सन् २०१० को विश्वकपले दक्षिण अफ्रिकालाई धेरै कुरा दियो । सबैभन्दा ठूलो कुरा विश्व खेलकुदमा छुट्टै पहिचान दियो ।
आधुनिक सडक, विमानस्थल र विश्वस्तरीय रंशालाहरू दियो । आज पनि ती संरचनाले अफ्रिकी खेलकुदलाई धानिरहेका छन् ।

प्रतियोगिताको अन्त्यमा केवल स्पेनले उपाधिमात्र जितेन, यसले फुटबललाई एउटा साँघुरो घेराबाट निकालेर सिंगो महादेशको साझा उत्सव बनाइदियो ।
विश्वकप फुटबलको इतिहास पल्टाउँदा सन् २०१० को दक्षिण अफ्रिका संस्करण सधैं एउटा यस्तो प्रतियोगिताका रूपमा रहनेछ, जसले मैदानभित्रको कौशल र मैदानबाहिरको संस्कृतिलाई एकसाथ जोड्न सफल भएको थियो ।
१६औँ विश्वकपसँग जोडिएका केही रोचक कथा :
० न्युजिल्यान्डको कीर्तिमान : न्युजिल्यान्ड समूहगत चरणबाट बाहिरिए पनि प्रतियोगिताभर अपराजित रहने एक्लो टोली बन्न सफल भएको थियो ।
० उत्साहजनक सहभागिता : विश्वकप दक्षिण अफ्रिकामा खेलाइएको थियो । तर, फिफा फ्यान फेस्ट भने अस्ट्रेलियाको सिड्नीदेखि ब्राजिलको रियो दि जेनेरियोसम्म आयोजना गरियो ।
० दर्शकको उत्साह : इन्टरनेटको युगमा यो प्रतियोगिताको डिजिटल पहुँच अभूतपूर्व थियो । टेलिभिजनमा यो विश्वकप ९४ करोड २० लाख मिनेटभन्दा बढी हेरिएको थियो ।
० अफ्रिकी परम्परा र चर्को आलोचना : प्रतियोगिताको सफलताका लागि प्रत्येक रंगशालामा गाई काट्ने योजनाका कारण पशु अधिकारवादीहरूको चर्को विरोध खेप्नु परेको थियो । पछि ‘सकर सिटी’ रंगशालामा एउटा गोरु मारेर परम्परालाई संक्षिप्त रूपमा टुंग्याइएको थियो ।
विश्वकप फुटबलबारे यसअघिका शृखला :
- जब विश्वकपले काचुली फेर्यो : रोनाल्डोको ‘रहस्यमय’ रात र जिदानको उदय
- १५औं फिफा विश्वकप-१९९४ : त्यो ‘ब्लकबस्टर’ संस्करण, जसले फुटबलको परिभाषा नै बदल्यो
१४औँ फिफा विश्वकप : ‘डिफेन्सिभ’को दबदबा, रातो कार्डको वर्षा र विश्व फुटबलको बदलिएको ‘कथा’
- ५२ वर्ष लामो ‘फुटबल वनवास’को अन्त्य : कसरी बदलियो ‘अफ्रिकी लेपाडर्स’को भाग्य ?
- विवाद र रोमाञ्चकताले भरिएको १९८२ को विश्वकप- 'गिजोनको लज्जा'देखि इटालीको ऐतिहासिक उपाधिसम्म
- ११औं फिफा विश्वकप- १९७८: ‘कन्फेटी’को वर्षाले सेताम्मे रंगशाला र अर्जेन्टिनाको पहिलो उपाधि
- १० औं फिफा विश्वकप-१९७४ : जब ‘टोटल फुटबल’को जादूमाथि हाबी भयो ‘जर्मन दृढता’
- उज्बेकिस्तानको फुटबल पुनर्जागरण : विमान दुर्घटनाको शोकदेखि विश्वकपसम्म ‘सेता ब्वाँसाहरू’को उडान
- नवौं फिफा विश्वकप– १९७० : त्यो ‘स्वर्णिम युग’ जसले फूटबल ‘कला’ र ब्राजिललाई ‘अमर’ बनायो
- ‘ब्लू सार्क’को एतिहासिक यात्रा : पाँच लाख जनसंख्या भएको टापुले कसरी पूरा गर्यो असम्भव सपना ?
- आठौं विश्वकप- १९६६: फूटबलको ‘जन्मभूमि’मा जब इतिहास रचियो
- सातौं फिफा विश्वकप–१९६२ : भूकम्प, ‘सान्टियागोको युद्ध’ र ब्राजिलको ऐतिहासिक उपाधि रक्षा
- छैटौं फिफा विश्वकप– १९५८: फूटबलको स्वर्णिम अध्याय, सर्वकालीन महान खेलाडी पेलेको उदय
- पाँचौं फिफा विश्वकप–१९५४: ‘ब्याटल अफ बर्न’, हंगेरीको ‘स्वर्ण युग’ र जर्मनीको उदयबीचको टकराव
- द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो
- विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग
- दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम
- पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म