२१ जेठ २०८३, बिहीबार
विश्वकप फुटबल शृंखला- २४

१९औँ फिफा विश्वकप : अफ्रिकी धर्तीमा कोरिएको महागाथा : जहाँ स्पेनको ‘टिकी–टाका’ले इतिहास रच्यो

जेठ २१, २०८३
काठमाडौं
१९औँ फिफा विश्वकप : अफ्रिकी धर्तीमा कोरिएको महागाथा : जहाँ स्पेनको ‘टिकी–टाका’ले इतिहास रच्यो

फिफा विश्वकपको १९औँ संस्करण सन् २०१० को जुन ११ देखि जुलाई ११ तारिखसम्म दक्षिण अफ्रिकामा आयोजना भयो ।

अफ्रिकी महादेशमा आयोजना भएको यो पहिलो फिफा विश्वकप थियो । त्यसयता पनि हालसम्म अफ्रिकामा फिफा विश्वकप आयोजना भएको छैन ।

त्यसैले यो संस्करण फिफा विश्वकप फुटबलको इतिहासमा सधैंका लागि एउटा कोसेढुङ्गा बनेर रहेको छ ।

यो केवल ३२ देशबीचको प्रतिस्पर्धा थिएन, बरु यो एउटा महादेशको स्वाभिमान, नविनतम् प्रविधिको खोजी र आधुनिक फुटबलको रणनीतिक परीक्षणको संगम पनि थियो ।

नेल्सन मण्डेलाको आँसु

यो विश्वकप आयोजनाका लागि दक्षिण अफ्रिकासँगै इजिप्ट र मोरक्कोले पनि आफ्नो दाबी प्रस्तुत गरेका थिए । यसका अतिरिक्त लिबिया र ट्युनिसियाले पनि संयुक्त दाबी पेश गरेका थिए ।

तर, फिफाले संयुक्त आयोजनाको दाबीलाई प्रारम्भमै खारेज गरेको थियो । त्यसपछि तीनवटा टोलीमात्र दौडमा थिए ।

null

सन् २००४ मा फिफाले इजिप्ट र मोरक्कोलाई पछि पार्दै दक्षिण अफ्रिकालाई विश्वकप आयोजक राष्ट्र घोषणा गर्‍यो ।

आफ्नो राष्ट्रले विश्वकप आयोजनाको अधिकार पाउँदा नेल्सन मण्डेलाको आँखामा छचल्किएको खुसीको आँसुले फुटबल खेलको वास्तविक महत्वलाई प्रष्ट पारेको थियो ।

मण्डेलाले रोबेन आइल्यान्डको जेलमा रहँदा फुटबलले आफूहरूलाई ‘जीवित र विजयी’ महसुस गराएको ओजपूर्ण अभिव्यक्ति दिँदै यो विश्वकपको भव्यताको आधारशिला राखेका थिए ।

घुस काण्ड, विवाद र आलोचना

यो विश्वकप खेलका कारणमात्र चर्चामा रहेन, योसँग केही काला पाटा पनि जोडिएका थिए । सन् २०१५ को फिफा भ्रष्टाचार काण्डले दक्षिण अफ्रिकाको बिडिङ प्रक्रियामाथि नै प्रश्न उठायो ।

उच्च पदस्थ फिफा अधिकारीहरूलाई घुस दिएर आयोजनाको अधिकार हात पारेको खुलासा भएपछि खेल जगत स्तब्ध: बन्यो ।

यसैगरी, एडिडासको ‘जाबुलानी’ बल पनि खेलाडीहरूका लागि टाउको दु:खाइको विषय बन्यो । विभिन्न टोलीका गोलरक्षकले यो बलको दिशा अनुमान गर्नै नसकिएको भन्दै आक्रोश पोखेका थिए ।

null

फुटबल मैदानमा आयोजक दक्षिण अफ्रिकाको प्रदर्शन भने सुखद् रहेन । विश्वकपको इतिहासमा समूहगत चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्रको नमीठो कीर्तिमान दक्षिण अफ्रिकाले बनायो ।

साविक विजेता इटाली र उपविजेता फ्रान्स पनि समूहगत चरणबाटै घर फर्किनु प्रतियोगिताको अर्को सनसनीपूर्ण घटना थियो ।

आर्थिक हिसाबले पनि यो प्रतियोगिता मिश्रित रह्यो । फिफाका लागि यो २.२४ बिलियन पाउन्डको व्यापारसहित ‘ठूलो सफलता’ बन्यो ।

तर, दक्षिण अफ्रिकाका लागि भने लगानीको तुलनामा आम्दानी आशातीत हुन सकेन । पर्यटनबाट ठूलो लाभ लिने सरकारी लक्ष्य अधुरै रह्यो ।

स्थानीय व्यापारीहरूले फिफाको कडा नीति र रंगशाला वरपरको प्रतिबन्धका कारण व्यापार गुमाउनु परेको व्यापक गुनासो गरेका थिए ।

फरक संस्करणका पुराना टोली

विश्वकप फुटबलको इतिहासमा यो यस्तो संस्करण थियो, जसमा कुनै पनि नयाँ टोलीले ‘डेब्यू’ गरेका थिएनन् ।

यो संस्करणमा सबै महादेशको प्रतिनिधित्व थियो । एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया र उत्तर कोरियाले भाग लिएका थिए ।

अफ्रिकाबाट भने दक्षिण अफ्रिका, क्यामरुन, अल्जेरिया, घाना, आइभरी कोस्ट र नाइजेरिया सहभागी थिए । ओसेनिया क्षेत्रको प्रतिनिधित्व न्युजिल्यान्डले गरेको थियो ।

null

यसैगरी, उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट होन्डुरस, मेक्सिको र अमेरिका सहभागी थिए । दक्षिण अमेरिकी क्षेत्रबाट अर्जेन्टिना, ब्राजिल, चिली, पाराग्वे र उरुग्वेले भाग लिएका थिए ।

युरोपबाट भने स्पेन, स्विट्जरल्यान्ड, सर्बिया, स्लोभाकिया, स्लोभानिया, डेनमार्क, इङ्ल्यान्ड, फ्रान्स, जर्मनी, ग्रिस, इटाली, नेदरल्यान्ड्स र पोर्चुगल सहभागी थिए ।

‘वका वका’को धुन र सञ्चारमाध्यमको त्रास

विश्वकपको इतिहासमा पहिलो पटक अफ्रिकी महादेशमा आयोजना भएको यो संस्करणलाई लिएर शुरूआती दिनमा निकै आशंका थियो ।

सुरक्षा र पूर्वाधारलाई लिएर पश्चिमा सञ्चारमाध्यमले ‘डरलाग्दो चित्रण’ गरेका थिए । तर, अफ्रिकी भूगोलले ती सबै अनर्गल प्रचारलाई गलत सावित गरिदियो ।

null

जब शाकिराको स्वरमा ‘वका वका’को धुन गुञ्जियो, अफ्रिकामात्र होइन, सिंगो विश्व नै फुटबलको उत्सवमा झुम्यो ।

जब, दक्षिण अफ्रिकाले संसारका लागि आफ्नो ढोका खोलिदियो र सारा विश्वले अफ्रिकी आतिथ्यको गजबको स्वाद चाख्ने अवसर पायो ।

नयाँ प्रविधिको आवश्यक्ता महसुस

यो यस्तो संस्करण थियो, जहाँ विश्व फुटबलमा नयाँ प्रविधिको बहसले निकै ठूलो चर्चा पायो । केही खेलको नतिजालाई लिएर पछिसम्म पनि वहस जारी रह्यो ।

खासगरी, जर्मनी र इङ्ल्यान्डबीचको खेलमा फ्रान्क लाम्पार्डको प्रहारले प्रष्ट रूपमा ‘गोल लाइन’ पार गरेको थियो । तर, रेफ्रीले त्यसलाई गोल दिएनन् ।

null

यो विवादले कालान्तरमा नयाँ प्रविधि भित्र्याउन ठूलो सहयोग गर्‍यो । हाल विश्व फुटबलमा प्रयोगमा ल्याइएको ‘गोल लाइन’ प्रविधि र ‘भिडियो असिस्टेन्ट रेफ्री’ त्यसैको प्रतिफल हो ।

मैदानभित्रको रणनीतिक युद्ध र स्पेनको उदय

यो विश्वकपमा मैदानभित्र ‘टिकी–टाका’ शैलीको दबदबा देखियो । प्रशिक्षक भिसेन्ट डेल बोस्कको नेतृत्वमा स्पेनले आफ्नो पहिलो विश्वकप उपाधि जित्यो ।

रोचक कुरा के छ भने, स्पेन समूहगत चरणको पहिलो खेलमै स्विट्जरल्यान्डसँग ०–१ गोलले पराजित भएको थियो ।

null

त्यसपछिका हरेक नकआउट खेलमा स्पेनले १–० गोलकै नतिजा निकाल्दै उपाधिसम्मको गौरवशाली यात्रा तय गर्‍यो ।

नेदरल्यान्ड्सविरुद्धको फाइनलमा खेलमा आन्द्रेस इनिएस्टाले ११६औँ मिनेटमा गरेको निर्णायक गोल स्पेनका लागि मात्र नभई फुटबल इतिहासकै लागि एक स्वर्णिम क्षण थियो ।

इनिएस्टाले गोल गरेपछि जर्सी फुकालेर दिवंगत साथी ड्यानी जार्केप्रति व्यक्त गरेको श्रद्धाञ्जलीले विश्व खेलकुदको मानवीय पक्षलाई राम्ररी उजागर गरेको थियो ।

स्पेनको नाममा कीर्तिमानको ओइरो

स्पेनले ऐतिहासिक उपाधिसँगै थुप्रै कीर्तिमान पनि आफ्नो नाममा लेखायो । पहिलो खेलमै पराजित भएर पनि विश्वकप जित्ने स्पेन पहिलो राष्ट्र बन्यो ।

युरोपबाहिर विश्वकप जित्ने पहिलो युरोपेली राष्ट्रको कीर्तिमान पनि स्पेनकै नामसँग जोडियो । यो विश्वकपमा स्पेनले केवल आठ गोल गरेर उपाधि जित्दै सबैभन्दा कम गोल गर्ने विजेताको रूपमा पनि इतिहास रच्यो ।

विश्वकपको यो संस्करणको तेस्रो स्थानका लागि भएको खेलमा दुई पूर्वच्याम्पियन जर्मनी र उरुग्वेबीच भिडन्त भएको थियो । त्यसमा जर्मनीले उरुग्वेलाई ३–२ गोलले हरायो ।

यो विश्वकपसँगै जर्मनी सबैभन्दा बढी (चार पटक) तेस्रो स्थान हासिल गर्ने टोली र उरुग्वे सबैभन्दा बढी (तीन पटक) चौथो स्थान हासिल गर्ने टोली बने ।

‘भुभुजेला’को रमाइलो कथा

दक्षिण अफ्रिका विश्वकपको अर्को विशेषता थियो, भुभुजेला । विश्वकप सकिएको लामो समयसम्म पनि भुभुजेला समर्थकमाझ चर्चाको विषय बनिरह्यो ।

रंगशालाभित्र ‘भुभुजेला’ अर्थात्, प्लास्टिकका हर्नको आवाजले खेलाडी र टेलिभिजन दर्शकलाई हैरान पारेको थियो । तर, धेरैले यसैलाई अफ्रिकी विश्वकपको विशिष्ट पहिचानका रूपमा लिए ।

त्यतिमात्र होइन, ‘भुभुजेला’को निरन्तरको चर्को आवाजले धेरै खेलाडी र दर्शकको निद्रा बिथोल्ने काम गरेको आरोप पनि लाग्यो ।

null

अर्जेन्टिनी स्टार लियोनल मेसीजस्ता खेलाडीले मैदानमा एक–आपसको सञ्चारमा समेत भुभुजेलाको आवाज बाधक बनेको गुनासो गरेका थिए ।

चर्चा र अविस्मरणीय क्षणहरू

सन् २०१० को विश्वकप पनि विवादबाट भने टाढा रहन सकेन । प्रशिक्षक रेमन्ड डोमेनेच र खेलाडी निकोलस एनेल्काबीचको विवादले फ्रान्सेली टोलीलाई तहसनहस पार्‍यो ।

विवादकै कारण फ्रान्सेली खेलाडीहरूले प्रशिक्षणमा जान अस्वीकार गरे र टोली लज्जास्पद तारिकाले समूहगत चरणबाटै बाहिरियो ।

यसैगरी, घानाविरुद्धको क्वार्टरफाइनल खेलमा उरुग्वेका स्टार खेलाडी लुइस स्वारेजले अन्तिम समयमा गोल लाइननजिक बललाई हातले रोके ।

तर, पेनाल्टीमा घानाले गोल गर्न सकेन । त्यसपछि पेनाल्टी सुटआउटमै घानालाई हराउँदै उरुग्वे सेमिफाइनलमा पुग्न सफल भयो । यसले खेलको नैतिकता र नियमबारे ठूलो बहस छेड्यो ।

यसैगरी, क्वार्टरफाइनलको एक खेलका क्रममा चर्चित कलाकार पेरिस हिल्टनलाई गाँजा राखेको आरोपमा पक्राउ गरिएपछि यो घटनाले लामै समय सञ्चारमाध्यमको ध्यान तान्यो ।

के पायो दक्षिण अफ्रिकाले ?

सन् २०१० को विश्वकपले दक्षिण अफ्रिकालाई धेरै कुरा दियो । सबैभन्दा ठूलो कुरा विश्व खेलकुदमा छुट्टै पहिचान दियो ।

आधुनिक सडक, विमानस्थल र विश्वस्तरीय रंशालाहरू दियो । आज पनि ती संरचनाले अफ्रिकी खेलकुदलाई धानिरहेका छन् ।

null

प्रतियोगिताको अन्त्यमा केवल स्पेनले उपाधिमात्र जितेन, यसले फुटबललाई एउटा साँघुरो घेराबाट निकालेर सिंगो महादेशको साझा उत्सव बनाइदियो ।

विश्वकप फुटबलको इतिहास पल्टाउँदा सन् २०१० को दक्षिण अफ्रिका संस्करण सधैं एउटा यस्तो प्रतियोगिताका रूपमा रहनेछ, जसले मैदानभित्रको कौशल र मैदानबाहिरको संस्कृतिलाई एकसाथ जोड्न सफल भएको थियो ।

१६औँ विश्वकपसँग जोडिएका केही रोचक कथा :

० न्युजिल्यान्डको कीर्तिमान : न्युजिल्यान्ड समूहगत चरणबाट बाहिरिए पनि प्रतियोगिताभर अपराजित रहने एक्लो टोली बन्न सफल भएको थियो ।

० उत्साहजनक सहभागिता : विश्वकप दक्षिण अफ्रिकामा खेलाइएको थियो । तर, फिफा फ्यान फेस्ट भने अस्ट्रेलियाको सिड्नीदेखि ब्राजिलको रियो दि जेनेरियोसम्म आयोजना गरियो ।

० दर्शकको उत्साह : इन्टरनेटको युगमा यो प्रतियोगिताको डिजिटल पहुँच अभूतपूर्व थियो । टेलिभिजनमा यो विश्वकप ९४ करोड २० लाख मिनेटभन्दा बढी हेरिएको थियो ।

० अफ्रिकी परम्परा र चर्को आलोचना : प्रतियोगिताको सफलताका लागि प्रत्येक रंगशालामा गाई काट्ने योजनाका कारण पशु अधिकारवादीहरूको चर्को विरोध खेप्नु परेको थियो । पछि ‘सकर सिटी’ रंगशालामा एउटा गोरु मारेर परम्परालाई संक्षिप्त रूपमा टुंग्याइएको थियो ।

विश्वकप फुटबलबारे यसअघिका शृ‌खला :

- जब जर्मनीले विश्वलाई ‘फ्यान फेस्ट’को जादु देखायो, समर्थकहरू ‘अन्डरवेयर’ मात्र लगाएर खेल हेर्न बाध्य भए

- ​१७औँ विश्वकप : एसियाली आकाशमा लेखिएको इतिहास- रोनाल्डोको 'चमत्कारी' पुनरागमन र केही रोचक तथ्यहरू

- जब विश्वकपले काचुली फेर्‍यो : रोनाल्डोको ‘रहस्यमय’ रात र जिदानको उदय

१५औं फिफा विश्वकप-१९९४ : त्यो ‘ब्लकबस्टर’ संस्करण, जसले फुटबलको परिभाषा नै बदल्यो

१४औँ फिफा विश्वकप : ‘डिफेन्सिभ’को दबदबा, रातो कार्डको वर्षा र विश्व फुटबलको बदलिएको ‘कथा’

५२ वर्ष लामो ‘फुटबल वनवास’को अन्त्य : कसरी बदलियो ‘अफ्रिकी लेपाडर्स’को भाग्य ?

​- १३औँ फिफा विश्वकप : म्याराडोनाको जादूसामू नतमस्तक विश्व, ‘ह्यान्ड अफ गड’देखि ‘गोल अफ द सेन्चुरी’सम्म

​- विवाद र रोमाञ्चकताले भरिएको १९८२ को विश्वकप- 'गिजोनको लज्जा'देखि इटालीको ऐतिहासिक उपाधिसम्म

- विश्व फुटबलमा मोरक्कोको ‘जादुमयी’ यात्रा : फेरि कतारको सफलता दोहोर्‍याउने दाउमा कीर्तिमानी ‘एटलास लायन्स’

-  ११औं फिफा विश्वकप- १९७८: ‘कन्फेटी’को वर्षाले सेताम्मे रंगशाला र अर्जेन्टिनाको पहिलो उपाधि

- १० औं फिफा विश्वकप-१९७४ : जब ‘टोटल फुटबल’को जादूमाथि हाबी भयो ‘जर्मन दृढता’

- उज्बेकिस्तानको फुटबल पुनर्जागरण : विमान दुर्घटनाको शोकदेखि विश्वकपसम्म ‘सेता ब्वाँसाहरू’को उडान

- नवौं फिफा विश्वकप– १९७० : त्यो ‘स्वर्णिम युग’ जसले फूटबल ‘कला’ र ब्राजिललाई ‘अमर’ बनायो

‘ब्लू सार्क’को एतिहासिक यात्रा : पाँच लाख जनसंख्या भएको टापुले कसरी पूरा गर्‍यो असम्भव सपना ?

- आठौं विश्वकप- १९६६: फूटबलको ‘जन्मभूमि’मा जब इतिहास रचियो

- कुराकाओको ऐतिहासिक विश्वकप यात्रा : डच प्रभाव, औपनिवेशिक विरासत र एउटा सानो टापुको ‘ब्लू वेभ’ क्रान्ति

- सातौं फिफा विश्वकप–१९६२ :  भूकम्प, ‘सान्टियागोको युद्ध’ र ब्राजिलको ऐतिहासिक उपाधि रक्षा

- छैटौं फिफा विश्वकप– १९५८: फूटबलको स्वर्णिम अध्याय, सर्वकालीन महान खेलाडी पेलेको उदय

- पाँचौं फिफा विश्वकप–१९५४: ‘ब्याटल अफ बर्न’, हंगेरीको ‘स्वर्ण युग’ र जर्मनीको उदयबीचको टकराव

​- द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो

- विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग

- दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम

- पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म

salt training

कमेन्ट गर्नुहोस्