
विश्वकप फुटबलको १८औँ संस्करण जर्मनीमा आयोजना भएको थियो । सन् २००६ को जुन ९ देखि जुलाई ९ तारिखसम्म आयोजना भएको यो संस्करण विश्वकप फुटबलको इतिहासमा धेरै अर्थमा ऐतिहासिक छ ।
विश्वकपको यो संस्करण केवल ६४ खेलको यात्रामात्र थिएन, यो त एउटा यस्तो सामाजिक र सांस्कृतिक आन्दोलन थियो– जसले युद्धपछिको जर्मनीको छवि बदल्नुका साथै आधुनिक फुटबलको ‘फ्यान संस्कृतिको’ जग बसालेको थियो ।
यो महाकुम्भलाई आज पनि विश्व खेलकुद इतिहासकै एक कोसेढुंगाका रूपमा स्मरण गरिन्छ । विश्वकपको यो संस्करण मैदानभित्रका अनपेक्षित विवाद, प्रविधि र ऐतिहासिक क्षणहरूका कारण पनि उत्तिकै चर्चित छ ।
घानादेखि युक्रेनसम्म ६ राष्ट्रको ‘डेब्यू’
१८औँ संस्करणका खेलहरू जर्मनीको विभिन्न १२ शहरका रंगशालामा खेलाइएको थियो । यो विश्वकपमा पनि ३२ वटा टोलीले सहभागिता जनाएका थिए ।
एसियाबाट दक्षिण कोरिया, जापान, इरान र साउदी अरेबियाले भाग लिएका थिए । अफ्रिकाबाट एंगोला, घाना, आइभर कोस्ट, टोगो र ट्युनिसिया सहभागी थिए ।
यो संस्करणमा लामो समयपछि ओसेनिया क्षेत्रले पनि प्रतिनिधित्व गरेको थियो । ओसेनियाबाट अस्ट्रेलियाले सहभागिता जनाएको थियो ।

उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट कोस्टा रिका, अमेरिका, मेक्सिको र ट्रिनिडाड एन्ड टोबागो सहभागी थिए ।
दक्षिण अमेरिकाको प्रतिनिधित्व ब्राजिल, अर्जेन्टिना, पाराग्वे र इक्वेडरले गरेका थिए । युरोपबाट सबैभन्दा बढी १४ राष्ट्र सहभागी थिए ।
क्रोएसिया, चेक गणतन्त्र, जर्मनी, इङ्ल्यान्ड, फ्रान्स, इटाली, नेदरल्यान्ड्स, पोल्यान्ड, सर्बिया एन्ड मोन्टेनेग्रो, पोर्चुगल, स्वीडेन, स्पेन, स्विट्जरल्यान्ड र युक्रेनले युरोपको प्रतिनिधित्व गरेका थिए ।
यो विश्वकपमा ६ वटा राष्ट्रले एकैपटक ‘डेब्यू’ गरेका थिए । एंगोला, घाना, आइभरी कोस्ट, टोगो, ट्रिनिडाड एन्ड टोबागो र युक्रेनको यो पहिलो विश्वकप थियो ।
आयोजक छनोटमै विवाद
जर्मनीले विश्वकप आयोजना गर्ने अधिकार सन् २००० मा पाएको थियो । तर, यो जितको पछाडि भ्रष्टाचार र घूसखोरीका अनेकन गम्भीर आरोपहरू लागे ।
दक्षिण अफ्रिका, इङ्ल्यान्ड र मोरोक्कोसँगको प्रतिस्पर्धामा जर्मनी विजयी भए पनि, ‘डियर स्पिगल’जस्ता चर्चित सञ्चारमाध्यमले पछि घूस लेनदेनको मुद्दा उचालेका थिए ।
ओसेनिया क्षेत्रका प्रतिनिधि चार्ली डेम्पसीले मतदानको अघिल्लो रात महसुस गरेको ‘असह्य दबाब’देखि जर्मन राजनीतिज्ञ र व्यापारीहरूले एसियाली देशका प्रतिनिधिलाई प्रलोभनमा पारेको आरोपसम्मले यो विश्वकपलाई सुरुमै विवादको आँधीमा फसाएको थियो ।
मैदानबाहिरको क्रान्ति :‘फ्यान फेस्ट’को उदय
यो विश्वकपलाई अविस्मरणीय बनाउने सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ‘फ्यान फेस्ट’को अवधारणा थियो । सुरक्षाको कारण देखाउँदै विगतमा टिकट नभएका समर्थकहरूलाई खेलस्थलभन्दा टाढा राखिन्थ्यो ।
तर, सन् २००६ मा जर्मनीले १२ वटा मुख्य शहरमा विशाल स्क्रिन र मनोरञ्जनसहितका ‘फ्यान फेस्ट’ स्थापना गर्यो । बर्लिनको प्रसिद्ध ‘ब्रान्डेनबर्ग गेट’मा मात्रै ९० लाख मानिसले खेल हेरे ।

यो अवधारणाले जर्मनीमा राष्ट्रिय झण्डा बोकेर फुटबलको मजा लिनुलाई गर्वको विषय बनायो । दुई करोड १० लाखभन्दा बढी दर्शकले यी फेस्टहरूमा भाग लिए ।
‘फ्यान फेस्ट’को यो अवधारणाले फुटबललाई एउटा खेलभन्दा पनि बढी ‘राष्ट्रिय उत्सव’को रूपमा चित्रण गर्न महत्वपूर्ण योगदान पूर्यायो ।
आयोजकको भव्यता र नयाँ शुरूआत
सन् २००६ को विश्वकप जर्मनीका लागि आफ्नो सांगठनिक क्षमता प्रदर्शन गर्ने गतिलो अवसर थियो । जर्मनीले दक्षिण अफ्रिकालाई पछि पार्दै आयोजनाको जिम्मेवारी पाएको थियो ।
जर्मनीले खासगरी उच्चस्तरीय रंगशाला, उत्कृष्ट यातायात र आम नागरिकको न्यानो स्वागतबाट विश्वलाई नै प्रभावित बनाएको थियो । यो विश्वकप अर्को विशेषता थियो, साबिक विजेता स्वत: छनोट हुने परम्परा तोडिनु ।
साथै, पहिलो पटक ‘फ्यान जोन’को अवधारणा पनि ल्याइएको थियो, जहाँ ब्रान्डेनबर्ग गेटमा मात्रै साढे सात लाखभन्दा बढी दर्शकले खेलको आनन्द लिएका थिए ।
रोमाञ्चक खेल र अप्रत्याशित नतिजा
प्रतियोगिताको शुरूआत नै रोमाञ्चक रह्यो । आयोजक जर्मनीले कोस्टारिकालाई ४–२ गोलले हराउँदै आफ्नो आक्रमणको लय उजागर गर्यो ।
अर्कोतिर, अर्जेन्टिनाले पनि सर्बिया एन्ड मोन्टेनेग्रोलाई ६–० गोलले पाखा लगाउँदै आफ्नो शक्ति प्रदर्शन गर्यो । स्विट्जरल्यान्डले पनि विश्वकपमा एउटा अनौठो कीर्तिमान बनायो ।
कुनै पनि गोल नखाई समूहगत चरण पार गरेको स्विट्जरल्यान्ड प्रिक्वार्टरफाइनलमै पेनाल्टी सुटआउटमा युक्रेनसँग पराजित हुँदै घर फर्कियो ।
जब समर्थक ‘अन्डरवेयर’मात्र लगाएर खेल हेर्न बाध्य भए
विश्वकपको यो संस्करण विवादका कारण पनि चर्चामा रह्यो । मैदानमा खेलभन्दा पनि बढी चर्चा विवादहरूको भयो ।
क्रोएसिया र अस्ट्रेलियाबीचको खेलमा रेफ्री ग्राहम पोलले जोसिप सिमुनिकलाई तीनवटा पहेँलो कार्ड देखाएर मात्र रातो कार्ड दिएको दृश्यले विश्वलाई नै चकित तुल्यायो ।
उता, नेदरल्यान्ड्सको खेल हेर्न पुगेका दर्शकहरूलाई विश्वकपको प्रायोजक नै नभएको कम्पनीको लुगा लगाएको भन्दै फिफाले रंगशालाबाट बाहिर निकाल्न लगायो ।
फिफाको यो ब्यवहारबाट समर्थकहरू निकै रुष्ट बनेका थिए । अन्तत: कतिपय समर्थकहरू अन्डरवेयरमात्र लगाएर खेल हेर्न बाध्य भएका थिए ।
परम्परागत शक्तिहरूको दबदबा
सन् २००२ को विश्वकपमा सेनेगल, दक्षिण कोरिया र टर्कीजस्ता टोलीले गरेको आश्चर्यजनक प्रदर्शनको ठीक विपरीत सन् २००६ मा परम्परागत फुटबल शक्तिहरूको पुनरागमन भयो ।
क्वार्टरफाइनलमा पुग्ने सबै आठ टोली युरोप र दक्षिण अमेरिकाका मात्र थिए । ब्राजिल र अर्जेन्टिना क्वार्टरफाइनलबाटै बाहिरिएपछि सेमिफाइनलमा पुग्ने सबै चार टोली युरोपका थिए ।
यो विश्वकपमा अनुशासनको पाटो भने निकै आलोचित रह्यो । रेफ्री भ्यालेन्टिन इभानोभले ‘ब्याटल अफ न्युरेम्बर्ग’का रुपमा चित्रण गरिने पोर्चुगल र नेदरल्यान्ड्सबीचको खेलमा चार रातो र १६ वटा पहेँलो कार्ड देखाएर कीर्तिमान कायम गरे । समग्रमा यो विश्वकपमा तीन सय ४५ पहेँलो र २८ वटा रातो कार्ड देखाइयो, जुन फिफा इतिहासकै सर्वाधिक थियो ।
जिदानको त्यो ‘हेडबट’ र इटालीको पुनरागमन
फाइनल खेल फ्रान्स र इटालीबीच खेलिएको थियो । उक्त खेल दुई महान खेलाडी जिनेदिन जिदान र मार्को माटेराजीबीचको द्वन्द्वका रूपमा इतिहासमै दर्ज भयो ।
खेल १–१ गोलको बराबरीमा थियो । खेल सुरु भएको सातौँ मिनेटमै फ्रान्सका लागि जिदानले पेनाल्टीमार्फत गोल गरेका थिए । तर, फ्रान्सको त्यो अग्रता लामो समय टिक्न सकेन ।
निर्धारित समयको १९औँ मिनेटमा इटालीका लागि माटेराजीले हेडरमार्फत जवाफी गोल फर्काएपछि खेल १–१ को बराबरीमा पुगेको थियो ।
निर्धारित समयमा थप गोल नभएपछि खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयको ११०औँ मिनेट चलिरहँदा मैदानमा यस्तो दृश्य देखियो, जसले विश्वभरका करोडौँ दर्शकलाई चकित बनायो ।
फ्रान्सका महान मिडफिल्डर जिदानले इटालीका डिफेन्डर माटेराजीको छातीमा जोडले टाउकोले प्रहार गरे । अझ आश्चर्यको कुरा त, जिदानले यो कार्य जानेरै गरेका थिए ।
मैदानमा दुवै खेलाडीबीच चर्को नोकझोक पनि चलिरहेको थियो । त्यसैको परिणामस्वरुप अघि बढेको विवादले उग्र रूप लियो र अन्तत: जिदानले माटेराजीलाई ‘हेडबट’ प्रहार गरे ।

रेफ्रीले बिना हिच्किचाहट जिदानलाई सिधै ‘रेड कार्ड’ देखाएर मैदानबाहिर पठाए । १० खेलाडीमा सीमित फ्रान्सले त्यसपछि आफ्नो लय गुमायो र अन्तत: पेनाल्टी सुटआउटमा इटाली ५–३ गोलले विजयी भयो ।
यसरी, इटालीले आफ्नो चौथो विश्वकप उपाधि जित्दा जिदानको करिअर भने एउटा विवादास्पद मोडमा पुगेर टुंगियो ।
जिदानले २००५–०६ सिजनअघि नै यो विश्वकपपछि सन्न्यास लिने घोषणा गरिसकेका थिए । त्यसैले, यो फाइनल खेल उनको जीवनकै अन्तिम खेल बन्न पुग्यो ।
खेलभन्दा परको प्रभाव
विश्वकपको यो संस्करणले जर्मनीको अर्थतन्त्रमा पनि ठूलो प्रभाव पार्यो । कुल पाँच करोड २० लाख पर्यटकले जर्मनी पुगेका थिए । विश्वकपले जर्मनीको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा पनि ०.३ प्रतिशतले वृद्धि गर्यो ।
यसैगरी, सन् २००६ को विश्वकपले एन्टि–डोपिङ नियमहरूलाई अझ कडा बनाउँदै सबै खेलाडीको डोपिङ परीक्षण अनिवार्य गरेको थियो । आधुनिक फुटबलको सुरक्षाका लागि यो एउटा महत्वपूर्ण पाइला थियो ।
सन् २००६ को त्यो विश्वकप विवादास्पद निर्णय, ऐतिहासिक कीर्तिमान र जिदानको त्यो अन्तिम प्रहारका कारण सधैं फुटबलप्रेमीको स्मृतिमा ताजा रहने पक्का छ ।
समग्रमा, जर्मनीका लागि यो विश्वकप एउटा महान् सफलता थियो । तात्कालीन राष्ट्रपति होर्स्ट कोहलरले राष्ट्रिय टोलीलाई ‘सिल्भर लरेल लीफ’ नै प्रदान गरेका थिए ।
प्रशिक्षक योर्गेन क्लिन्सम्यानले आफ्नो आधुनिक प्रशिक्षण विधिमार्फत टिमलाई नयाँ उचाइ दिएका थिए, जसलाई पछि जोआकिम लोभले निरन्तरता दिए ।
सन् २००६ को विश्वकपले फुटबललाई केवल एउटा खेलको घेराबाट बाहिर निकालेर जन–जनको उत्सवमा परिणत गरिदियो ।
आजको समयमा हामीले देख्ने ‘फ्यान जोन’हरू, ठूला स्क्रिनमा हुने सामूहिक हेराइ र विश्वकपको त्यो अभूतपूर्व चर्चाको जग यही जर्मनी संस्करणले नै बसालेको थियो ।
१८औँ विश्वकपसँग जोडिएका केही रोचक कथा :
०पाँच गोलमै ‘गोल्डेन बुट’ :यो विश्वकपमा पोर्चुगललाई ३–१ गोलले हराउँदै आयोजक जर्मनी तेस्रो भएको थियो । तर, प्रतियोगिताको सर्वाधिक गोलकर्ता भने जर्मनीकै मिरोस्लाभ क्लोस बने । उनले यो विश्वकपमा कुल पाँच गोल गर्दै ‘गोल्डेन बुट’ जितेका थिए । यो ‘गोल्डेन बुट’ सन् १९६२ यताकै सबैभन्दा कम गोलमा जितिएको ‘गोल्डेन बुट’ हो ।
० ३२६ पहेँलो कार्ड :यो विश्वकपमा खेलाइएको ६४ खेलमा कुल २.३० को औसतले कुल एक सय ४७ गोल भएको थियो । यो विश्वकपमा रेफ्रीहरूले कार्डको प्रयोग पनि मजैले गरे । खेलका क्रममा कीर्तिमानी रूपमा तीन सय २६ पहेँलो कार्ड र २८ वटा रातो कार्ड प्रयोग भएको थियो । पोर्चुगल र नेदरल्यान्ड्सबीचको खेलमामात्र १६ वटा पहेँलो र चारवटा रातो कार्ड देखाइएको थियो ।
० एउटै नाममा दुई देश : यो विश्वकपमा सर्बिया एन्ड मोन्टेनेग्रोको नाममा एउटै टोलीले भाग लिइरहँदा प्रतियोगिताको ठीकअघि यो देश टुक्रिएर दुई छुट्टै देश बनेका थिए । तर, फिफाको समय सीमाका कारण उनीहरूले एउटै राष्ट्रका रूपमा यो विश्वकप खेल्नुपरेको थियो ।
० ह्याट्रिकको खडेरी : सन् २००६ को विश्वकपको अर्को अनौठो पक्ष भनेको कुनै पनि खेलाडीले ‘ह्याट्रिक’ गर्न नसक्नु हो । यो विश्वकप इतिहासमा एकमात्र यस्तो संस्करण हो जहाँ कुनै पनि खेलाडीले एउटै खेलमा तीन गोलको जादु देखाउन सकेनन् ।
० पहिलो र अन्तिम गोलको कथा :यो विश्वकपको पहिलो गोल फिलिप लाम (डिफेन्डर)ले गरेका थिए भने फाइनलको अन्तिम गोल पनि मार्को माटेराजी (डिफेन्डर) ले नै गरेका थिए ।
विश्वकप फुटबलबारे यसअघिका शृखला :
- १७औँ विश्वकप : एसियाली आकाशमा लेखिएको इतिहास- रोनाल्डोको 'चमत्कारी' पुनरागमन र केही रोचक तथ्यहरू
- जब विश्वकपले काचुली फेर्यो : रोनाल्डोको ‘रहस्यमय’ रात र जिदानको उदय
- १५औं फिफा विश्वकप-१९९४ : त्यो ‘ब्लकबस्टर’ संस्करण, जसले फुटबलको परिभाषा नै बदल्यो
१४औँ फिफा विश्वकप : ‘डिफेन्सिभ’को दबदबा, रातो कार्डको वर्षा र विश्व फुटबलको बदलिएको ‘कथा’
- ५२ वर्ष लामो ‘फुटबल वनवास’को अन्त्य : कसरी बदलियो ‘अफ्रिकी लेपाडर्स’को भाग्य ?
- विवाद र रोमाञ्चकताले भरिएको १९८२ को विश्वकप- 'गिजोनको लज्जा'देखि इटालीको ऐतिहासिक उपाधिसम्म
- ११औं फिफा विश्वकप- १९७८: ‘कन्फेटी’को वर्षाले सेताम्मे रंगशाला र अर्जेन्टिनाको पहिलो उपाधि
- १० औं फिफा विश्वकप-१९७४ : जब ‘टोटल फुटबल’को जादूमाथि हाबी भयो ‘जर्मन दृढता’
- उज्बेकिस्तानको फुटबल पुनर्जागरण : विमान दुर्घटनाको शोकदेखि विश्वकपसम्म ‘सेता ब्वाँसाहरू’को उडान
- नवौं फिफा विश्वकप– १९७० : त्यो ‘स्वर्णिम युग’ जसले फूटबल ‘कला’ र ब्राजिललाई ‘अमर’ बनायो
- ‘ब्लू सार्क’को एतिहासिक यात्रा : पाँच लाख जनसंख्या भएको टापुले कसरी पूरा गर्यो असम्भव सपना ?
- आठौं विश्वकप- १९६६: फूटबलको ‘जन्मभूमि’मा जब इतिहास रचियो
- सातौं फिफा विश्वकप–१९६२ : भूकम्प, ‘सान्टियागोको युद्ध’ र ब्राजिलको ऐतिहासिक उपाधि रक्षा
- छैटौं फिफा विश्वकप– १९५८: फूटबलको स्वर्णिम अध्याय, सर्वकालीन महान खेलाडी पेलेको उदय
- पाँचौं फिफा विश्वकप–१९५४: ‘ब्याटल अफ बर्न’, हंगेरीको ‘स्वर्ण युग’ र जर्मनीको उदयबीचको टकराव
- द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो
- विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग
- दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम
- पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म