२१ जेठ २०८३, बिहीबार
विश्वकप फुटबल शृंखला- २३

जब जर्मनीले विश्वलाई ‘फ्यान फेस्ट’को जादु देखायो, समर्थकहरू ‘अन्डरवेयर’ मात्र लगाएर खेल हेर्न बाध्य भए

जेठ २०, २०८३
काठमाडौं
जब जर्मनीले विश्वलाई ‘फ्यान फेस्ट’को जादु देखायो, समर्थकहरू ‘अन्डरवेयर’ मात्र लगाएर खेल हेर्न बाध्य भए

विश्वकप फुटबलको १८औँ संस्करण जर्मनीमा आयोजना भएको थियो । सन् २००६ को जुन ९ देखि जुलाई ९ तारिखसम्म आयोजना भएको यो संस्करण विश्वकप फुटबलको इतिहासमा धेरै अर्थमा ऐतिहासिक छ ।

विश्वकपको यो संस्करण केवल ६४ खेलको यात्रामात्र थिएन, यो त एउटा यस्तो सामाजिक र सांस्कृतिक आन्दोलन थियो– जसले युद्धपछिको जर्मनीको छवि बदल्नुका साथै आधुनिक फुटबलको ‘फ्यान संस्कृतिको’ जग बसालेको थियो ।

यो महाकुम्भलाई आज पनि विश्व खेलकुद इतिहासकै एक कोसेढुंगाका रूपमा स्मरण गरिन्छ । विश्वकपको यो संस्करण मैदानभित्रका अनपेक्षित विवाद, प्रविधि र ऐतिहासिक क्षणहरूका कारण पनि उत्तिकै चर्चित छ ।

घानादेखि युक्रेनसम्म ६ राष्ट्रको ‘डेब्यू’

१८औँ संस्करणका खेलहरू जर्मनीको विभिन्न १२ शहरका रंगशालामा खेलाइएको थियो । यो विश्वकपमा पनि ३२ वटा टोलीले सहभागिता जनाएका थिए ।

एसियाबाट दक्षिण कोरिया, जापान, इरान र साउदी अरेबियाले भाग लिएका थिए । अफ्रिकाबाट एंगोला, घाना, आइभर कोस्ट, टोगो र ट्युनिसिया सहभागी थिए ।

यो संस्करणमा लामो समयपछि ओसेनिया क्षेत्रले पनि प्रतिनिधित्व गरेको थियो । ओसेनियाबाट अस्ट्रेलियाले सहभागिता जनाएको थियो ।

null

उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट कोस्टा रिका, अमेरिका, मेक्सिको र ट्रिनिडाड एन्ड टोबागो सहभागी थिए ।

दक्षिण अमेरिकाको प्रतिनिधित्व ब्राजिल, अर्जेन्टिना, पाराग्वे र इक्वेडरले गरेका थिए । युरोपबाट सबैभन्दा बढी १४ राष्ट्र सहभागी थिए ।

क्रोएसिया, चेक गणतन्त्र, जर्मनी, इङ्ल्यान्ड, फ्रान्स, इटाली, नेदरल्यान्ड्स, पोल्यान्ड, सर्बिया एन्ड मोन्टेनेग्रो, पोर्चुगल, स्वीडेन, स्पेन, स्विट्जरल्यान्ड र युक्रेनले युरोपको प्रतिनिधित्व गरेका थिए ।

यो विश्वकपमा ६ वटा राष्ट्रले एकैपटक ‘डेब्यू’ गरेका थिए । एंगोला, घाना, आइभरी कोस्ट, टोगो, ट्रिनिडाड एन्ड टोबागो र युक्रेनको यो पहिलो विश्वकप थियो ।

योजक छनोटमै विवाद

जर्मनीले विश्वकप आयोजना गर्ने अधिकार सन् २००० मा पाएको थियो । तर, यो जितको पछाडि भ्रष्टाचार र घूसखोरीका अनेकन गम्भीर आरोपहरू लागे ।

null

दक्षिण अफ्रिका, इङ्ल्यान्ड र मोरोक्कोसँगको प्रतिस्पर्धामा जर्मनी विजयी भए पनि, ‘डियर स्पिगल’जस्ता चर्चित सञ्चारमाध्यमले पछि घूस लेनदेनको मुद्दा उचालेका थिए ।

ओसेनिया क्षेत्रका प्रतिनिधि चार्ली डेम्पसीले मतदानको अघिल्लो रात महसुस गरेको ‘असह्य दबाब’देखि जर्मन राजनीतिज्ञ र व्यापारीहरूले एसियाली देशका प्रतिनिधिलाई प्रलोभनमा पारेको आरोपसम्मले यो विश्वकपलाई सुरुमै विवादको आँधीमा फसाएको थियो ।

मैदानबाहिरको क्रान्ति :‘फ्यान फेस्ट’को उदय

यो विश्वकपलाई अविस्मरणीय बनाउने सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ‘फ्यान फेस्ट’को अवधारणा थियो । सुरक्षाको कारण देखाउँदै विगतमा टिकट नभएका समर्थकहरूलाई खेलस्थलभन्दा टाढा राखिन्थ्यो ।

तर, सन् २००६ मा जर्मनीले १२ वटा मुख्य शहरमा विशाल स्क्रिन र मनोरञ्जनसहितका ‘फ्यान फेस्ट’ स्थापना गर्‍यो । बर्लिनको प्रसिद्ध ‘ब्रान्डेनबर्ग गेट’मा मात्रै ९० लाख मानिसले खेल हेरे ।

null

यो अवधारणाले जर्मनीमा राष्ट्रिय झण्डा बोकेर फुटबलको मजा लिनुलाई गर्वको विषय बनायो । दुई करोड १० लाखभन्दा बढी दर्शकले यी फेस्टहरूमा भाग लिए ।

‘फ्यान फेस्ट’को यो अवधारणाले फुटबललाई एउटा खेलभन्दा पनि बढी ‘राष्ट्रिय उत्सव’को रूपमा चित्रण गर्न महत्वपूर्ण योगदान पूर्‍यायो ।

आयोजकको भव्यता र नयाँ शुरूआत

सन् २००६ को विश्वकप जर्मनीका लागि आफ्नो सांगठनिक क्षमता प्रदर्शन गर्ने गतिलो अवसर थियो । जर्मनीले दक्षिण अफ्रिकालाई पछि पार्दै आयोजनाको जिम्मेवारी पाएको थियो ।

जर्मनीले खासगरी उच्चस्तरीय रंगशाला, उत्कृष्ट यातायात र आम नागरिकको न्यानो स्वागतबाट विश्वलाई नै प्रभावित बनाएको थियो । यो विश्वकप अर्को विशेषता थियो, साबिक विजेता स्वत: छनोट हुने परम्परा तोडिनु ।

साथै, पहिलो पटक ‘फ्यान जोन’को अवधारणा पनि ल्याइएको थियो, जहाँ ब्रान्डेनबर्ग गेटमा मात्रै साढे सात लाखभन्दा बढी दर्शकले खेलको आनन्द लिएका थिए ।

रोमाञ्चक खेल र अप्रत्याशित नतिजा

प्रतियोगिताको शुरूआत नै रोमाञ्चक रह्यो । आयोजक जर्मनीले कोस्टारिकालाई ४–२ गोलले हराउँदै आफ्नो आक्रमणको लय उजागर गर्‍यो ।

अर्कोतिर, अर्जेन्टिनाले पनि सर्बिया एन्ड मोन्टेनेग्रोलाई ६–० गोलले पाखा लगाउँदै आफ्नो शक्ति प्रदर्शन गर्‍यो । स्विट्जरल्यान्डले पनि विश्वकपमा एउटा अनौठो कीर्तिमान बनायो ।

कुनै पनि गोल नखाई समूहगत चरण पार गरेको स्विट्जरल्यान्ड प्रिक्वार्टरफाइनलमै पेनाल्टी सुटआउटमा युक्रेनसँग पराजित हुँदै घर फर्कियो ।

जब समर्थक ‘अन्डरवेयर’मात्र लगाएर खेल हेर्न बाध्य भए

विश्वकपको यो संस्करण विवादका कारण पनि चर्चामा रह्यो । मैदानमा खेलभन्दा पनि बढी चर्चा विवादहरूको भयो ।

क्रोएसिया र अस्ट्रेलियाबीचको खेलमा रेफ्री ग्राहम पोलले जोसिप सिमुनिकलाई तीनवटा पहेँलो कार्ड देखाएर मात्र रातो कार्ड दिएको दृश्यले विश्वलाई नै चकित तुल्यायो ।

उता, नेदरल्यान्ड्सको खेल हेर्न पुगेका दर्शकहरूलाई विश्वकपको प्रायोजक नै नभएको कम्पनीको लुगा लगाएको भन्दै फिफाले रंगशालाबाट बाहिर निकाल्न लगायो ।

फिफाको यो ब्यवहारबाट समर्थकहरू निकै रुष्ट बनेका थिए । अन्तत: कतिपय समर्थकहरू अन्डरवेयरमात्र लगाएर खेल हेर्न बाध्य भएका थिए ।

परम्परागत शक्तिहरूको दबदबा

सन् २००२ को विश्वकपमा सेनेगल, दक्षिण कोरिया र टर्कीजस्ता टोलीले गरेको आश्चर्यजनक प्रदर्शनको ठीक विपरीत सन् २००६ मा परम्परागत फुटबल शक्तिहरूको पुनरागमन भयो ।

क्वार्टरफाइनलमा पुग्ने सबै आठ टोली युरोप र दक्षिण अमेरिकाका मात्र थिए । ब्राजिल र अर्जेन्टिना क्वार्टरफाइनलबाटै बाहिरिएपछि सेमिफाइनलमा पुग्ने सबै चार टोली युरोपका थिए ।

यो विश्वकपमा अनुशासनको पाटो भने निकै आलोचित रह्यो । रेफ्री भ्यालेन्टिन इभानोभले ‘ब्याटल अफ न्युरेम्बर्ग’का रुपमा चित्रण गरिने पोर्चुगल र नेदरल्यान्ड्सबीचको खेलमा चार रातो र १६ वटा पहेँलो कार्ड देखाएर कीर्तिमान कायम गरे । समग्रमा यो विश्वकपमा तीन सय ४५ पहेँलो र २८ वटा रातो कार्ड देखाइयो, जुन फिफा इतिहासकै सर्वाधिक थियो ।

जिदानको त्यो ‘हेडबट’ र इटालीको पुनरागमन

फाइनल खेल फ्रान्स र इटालीबीच खेलिएको थियो । उक्त खेल दुई महान खेलाडी जिनेदिन जिदान र मार्को माटेराजीबीचको द्वन्द्वका रूपमा इतिहासमै दर्ज भयो ।

खेल १–१ गोलको बराबरीमा थियो । खेल सुरु भएको सातौँ मिनेटमै फ्रान्सका लागि जिदानले पेनाल्टीमार्फत गोल गरेका थिए । तर, फ्रान्सको त्यो अग्रता लामो समय टिक्न सकेन ।

निर्धारित समयको १९औँ मिनेटमा इटालीका लागि माटेराजीले हेडरमार्फत जवाफी गोल फर्काएपछि खेल १–१ को बराबरीमा पुगेको थियो ।

निर्धारित समयमा थप गोल नभएपछि खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयको ११०औँ मिनेट चलिरहँदा मैदानमा यस्तो दृश्य देखियो, जसले विश्वभरका करोडौँ दर्शकलाई चकित बनायो ।

फ्रान्सका महान मिडफिल्डर जिदानले इटालीका डिफेन्डर माटेराजीको छातीमा जोडले टाउकोले प्रहार गरे । अझ आश्चर्यको कुरा त, जिदानले यो कार्य जानेरै गरेका थिए ।

मैदानमा दुवै खेलाडीबीच चर्को नोकझोक पनि चलिरहेको थियो । त्यसैको परिणामस्वरुप अघि बढेको विवादले उग्र रूप लियो र अन्तत: जिदानले माटेराजीलाई ‘हेडबट’ प्रहार गरे ।

null

रेफ्रीले बिना हिच्किचाहट जिदानलाई सिधै ‘रेड कार्ड’ देखाएर मैदानबाहिर पठाए । १० खेलाडीमा सीमित फ्रान्सले त्यसपछि आफ्नो लय गुमायो र अन्तत: पेनाल्टी सुटआउटमा इटाली ५–३ गोलले विजयी भयो ।

यसरी, इटालीले आफ्नो चौथो विश्वकप उपाधि जित्दा जिदानको करिअर भने एउटा विवादास्पद मोडमा पुगेर टुंगियो ।

जिदानले २००५–०६ सिजनअघि नै यो विश्वकपपछि सन्न्यास लिने घोषणा गरिसकेका थिए । त्यसैले, यो फाइनल खेल उनको जीवनकै अन्तिम खेल बन्न पुग्यो ।

खेलभन्दा परको प्रभाव

विश्वकपको यो संस्करणले जर्मनीको अर्थतन्त्रमा पनि ठूलो प्रभाव पार्‍यो । कुल पाँच करोड २० लाख पर्यटकले जर्मनी पुगेका थिए । विश्वकपले जर्मनीको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा पनि ०.३ प्रतिशतले वृद्धि गर्‍यो ।

यसैगरी, सन् २००६ को विश्वकपले एन्टि–डोपिङ नियमहरूलाई अझ कडा बनाउँदै सबै खेलाडीको डोपिङ परीक्षण अनिवार्य गरेको थियो । आधुनिक फुटबलको सुरक्षाका लागि यो एउटा महत्वपूर्ण पाइला थियो ।

सन् २००६ को त्यो विश्वकप विवादास्पद निर्णय, ऐतिहासिक कीर्तिमान र जिदानको त्यो अन्तिम प्रहारका कारण सधैं फुटबलप्रेमीको स्मृतिमा ताजा रहने पक्का छ ।

समग्रमा, जर्मनीका लागि यो विश्वकप एउटा महान् सफलता थियो । तात्कालीन राष्ट्रपति होर्स्ट कोहलरले राष्ट्रिय टोलीलाई ‘सिल्भर लरेल लीफ’ नै प्रदान गरेका थिए ।

प्रशिक्षक योर्गेन क्लिन्सम्यानले आफ्नो आधुनिक प्रशिक्षण विधिमार्फत टिमलाई नयाँ उचाइ दिएका थिए, जसलाई पछि जोआकिम लोभले निरन्तरता दिए ।

सन् २००६ को विश्वकपले फुटबललाई केवल एउटा खेलको घेराबाट बाहिर निकालेर जन–जनको उत्सवमा परिणत गरिदियो ।

null

आजको समयमा हामीले देख्ने ‘फ्यान जोन’हरू, ठूला स्क्रिनमा हुने सामूहिक हेराइ र विश्वकपको त्यो अभूतपूर्व चर्चाको जग यही जर्मनी संस्करणले नै बसालेको थियो ।

१८औँ विश्वकपसँग जोडिएका केही रोचक कथा :   

पाँच गोलमै ‘गोल्डेन बुट’ :यो विश्वकपमा पोर्चुगललाई ३–१ गोलले हराउँदै आयोजक जर्मनी तेस्रो भएको थियो । तर, प्रतियोगिताको सर्वाधिक गोलकर्ता भने जर्मनीकै मिरोस्लाभ क्लोस बने । उनले यो विश्वकपमा कुल पाँच गोल गर्दै ‘गोल्डेन बुट’ जितेका थिए । यो ‘गोल्डेन बुट’ सन् १९६२ यताकै सबैभन्दा कम गोलमा जितिएको ‘गोल्डेन बुट’ हो ।

० ३२६ पहेँलो कार्ड :यो विश्वकपमा खेलाइएको ६४ खेलमा कुल २.३० को औसतले कुल एक सय ४७ गोल भएको थियो । यो विश्वकपमा रेफ्रीहरूले कार्डको प्रयोग पनि मजैले गरे । खेलका क्रममा कीर्तिमानी रूपमा तीन सय २६ पहेँलो कार्ड र २८ वटा रातो कार्ड प्रयोग भएको थियो । पोर्चुगल र नेदरल्यान्ड्सबीचको खेलमामात्र १६ वटा पहेँलो र चारवटा रातो कार्ड देखाइएको थियो ।

० एउटै नाममा दुई देश : यो विश्वकपमा सर्बिया एन्ड मोन्टेनेग्रोको नाममा एउटै टोलीले भाग लिइरहँदा प्रतियोगिताको ठीकअघि यो देश टुक्रिएर दुई छुट्टै देश बनेका थिए । तर, फिफाको समय सीमाका कारण उनीहरूले एउटै राष्ट्रका रूपमा यो विश्वकप खेल्नुपरेको थियो ।

० ह्याट्रिकको खडेरी : सन् २००६ को विश्वकपको अर्को अनौठो पक्ष भनेको कुनै पनि खेलाडीले ‘ह्याट्रिक’ गर्न नसक्नु हो । यो विश्वकप इतिहासमा एकमात्र यस्तो संस्करण हो जहाँ कुनै पनि खेलाडीले एउटै खेलमा तीन गोलको जादु देखाउन सकेनन् ।

० पहिलो र अन्तिम गोलको कथा :यो विश्वकपको पहिलो गोल फिलिप लाम (डिफेन्डर)ले गरेका थिए भने फाइनलको अन्तिम गोल पनि मार्को माटेराजी (डिफेन्डर) ले नै गरेका थिए ।

विश्वकप फुटबलबारे यसअघिका शृ‌खला :

- ​१७औँ विश्वकप : एसियाली आकाशमा लेखिएको इतिहास- रोनाल्डोको 'चमत्कारी' पुनरागमन र केही रोचक तथ्यहरू

- जब विश्वकपले काचुली फेर्‍यो : रोनाल्डोको ‘रहस्यमय’ रात र जिदानको उदय

१५औं फिफा विश्वकप-१९९४ : त्यो ‘ब्लकबस्टर’ संस्करण, जसले फुटबलको परिभाषा नै बदल्यो

१४औँ फिफा विश्वकप : ‘डिफेन्सिभ’को दबदबा, रातो कार्डको वर्षा र विश्व फुटबलको बदलिएको ‘कथा’

५२ वर्ष लामो ‘फुटबल वनवास’को अन्त्य : कसरी बदलियो ‘अफ्रिकी लेपाडर्स’को भाग्य ?

​- १३औँ फिफा विश्वकप : म्याराडोनाको जादूसामू नतमस्तक विश्व, ‘ह्यान्ड अफ गड’देखि ‘गोल अफ द सेन्चुरी’सम्म

​- विवाद र रोमाञ्चकताले भरिएको १९८२ को विश्वकप- 'गिजोनको लज्जा'देखि इटालीको ऐतिहासिक उपाधिसम्म

- विश्व फुटबलमा मोरक्कोको ‘जादुमयी’ यात्रा : फेरि कतारको सफलता दोहोर्‍याउने दाउमा कीर्तिमानी ‘एटलास लायन्स’

-  ११औं फिफा विश्वकप- १९७८: ‘कन्फेटी’को वर्षाले सेताम्मे रंगशाला र अर्जेन्टिनाको पहिलो उपाधि

- १० औं फिफा विश्वकप-१९७४ : जब ‘टोटल फुटबल’को जादूमाथि हाबी भयो ‘जर्मन दृढता’

- उज्बेकिस्तानको फुटबल पुनर्जागरण : विमान दुर्घटनाको शोकदेखि विश्वकपसम्म ‘सेता ब्वाँसाहरू’को उडान

- नवौं फिफा विश्वकप– १९७० : त्यो ‘स्वर्णिम युग’ जसले फूटबल ‘कला’ र ब्राजिललाई ‘अमर’ बनायो

‘ब्लू सार्क’को एतिहासिक यात्रा : पाँच लाख जनसंख्या भएको टापुले कसरी पूरा गर्‍यो असम्भव सपना ?

- आठौं विश्वकप- १९६६: फूटबलको ‘जन्मभूमि’मा जब इतिहास रचियो

- कुराकाओको ऐतिहासिक विश्वकप यात्रा : डच प्रभाव, औपनिवेशिक विरासत र एउटा सानो टापुको ‘ब्लू वेभ’ क्रान्ति

- सातौं फिफा विश्वकप–१९६२ :  भूकम्प, ‘सान्टियागोको युद्ध’ र ब्राजिलको ऐतिहासिक उपाधि रक्षा

- छैटौं फिफा विश्वकप– १९५८: फूटबलको स्वर्णिम अध्याय, सर्वकालीन महान खेलाडी पेलेको उदय

- पाँचौं फिफा विश्वकप–१९५४: ‘ब्याटल अफ बर्न’, हंगेरीको ‘स्वर्ण युग’ र जर्मनीको उदयबीचको टकराव

​- द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो

- विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग

- दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम

- पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म

salt training

कमेन्ट गर्नुहोस्