
आईपीएल-२०२६ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार राति सम्पन्न फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले लगातार दोस्रो पटक आईपीएलको उपाधि चुम्न सफल भएको हो ।
गुजरातले दिएको १५६ रनको मध्यम लक्ष्य बेंगलुरुले १५ ओभरमै ५ विकेट गुमाएर भेट्टायो । बेंगलुरुको जितका मुख्य नायक स्टार ब्याटर विराट कोहली रहे । उनले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ७५ रनको महत्वपूर्ण इनिङ खेले । कोहलीले मात्र २५ बलमा आफ्नो अर्धशतक पूरा गर्दै आईपीएल फाइनलमा आफ्नो तीव्र गतिको अर्धशतकको कीर्तिमान समेत बनाए ।
उनलाई जितेस शर्माले क्रिजमा साथ दिएका थिए । बेंगलुरुका लागि प्रारम्भिक ब्याटर वेनकटेश अय्यरले ३२ र टिम डेविडले २४ रनको योगदान दिए पनि बीचमा राशिद खानले एकै ओभरमा दुई विकेट लिएर गुजरातलाई खेलमा फर्काउने कोसिस गरेका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्सको सुरुवात निकै फितलो रह्यो । निर्धारित २० ओभरमा गुजरातले ८ विकेट गुमाएर १५५ रन मात्र जोड्न सक्यो । टोलीका लागि वासिङ्टन सुन्दरले सर्वाधिक ५० रनको अविजित पारि खेले पनि अन्य प्रमुख ब्याटरहरू सस्तैमा समेटिए ।
कप्तान शुभमन गिल १२ र साई सुदर्शन १० रनमै आउट भए भने जोस बटलर १९ र निशांत सिन्धु २० रन बनाएर पेभिलियन फर्किए ।
बेंगलुरुका बलर रसिख सलामले घातक बलिङ गर्दै ३ विकेट लिए भने अनुभवी बलर भुवनेश्वर कुमार र जोस हेजलवुडले समान २-२ विकेट लिए ।