
फिफा विश्वकप फुटबलको १५औं संस्करण सन् १९९४ को जुन १७ देखि जुलाई १७ तारिखसम्म अमेरिकामा आयोजना भएको थियो । अमेरिकाले विश्वकप फुटबल आयोजना गरेको यो नै पहिलो पटक थियो ।
यो विश्वकपमा पनि २४ टोलीबीच नै उपाधिका लागि भिडन्त भएको थियो । यो विश्वकपका खेल विभिन्न नौवटा शहरका रंगशालामा खेलाइएको थियो ।
विश्वकपको यो संस्करणमा एसियाको प्रतिनिधित्व साउदी अरेयिबा र दक्षिण कोरियाले गरेका थिए । अघिल्लो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका कारण अफ्रिकाबाट तीन राष्ट्रले अवसर पाएका थिए । अफ्रिकाबाट क्यामरुन, मोरक्को र नाइजेरिया सहभागी थिए ।
यसपटक पनि ओसेसिया क्षेत्रको भने प्रतिनिधित्व थिएन । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट मेक्सिको र अमेरिकाले भाग लिएका थिए । दक्षिण अमेरिकाबाट अर्जेन्टिन, ब्राजिल, बोलिभिया र कोलम्बो सहभागी थिए ।
युरोपबाट बेल्जियम, बुल्गेरिया, जर्मनी, ग्रिस, इटाली, नेदरल्यान्ड्स, नर्वे, आयरल्यान्ड, रोमानिया, रुस, स्पेन, स्वीडेन र स्विट्जरल्यान्डले सहभागिता जनाएका थिए । साउदी अरेयिबा, नाइजेरिया र ग्रिसको विश्वकपमा यो नै पहिलो सहभागिता थियो ।

‘सकर’को प्रभाव नै नभएको देशमा विश्वकप !
फिफा विश्वकपको यो संस्करण यस्तो देशमा आयोजना भएको थियो, जहाँ ‘सकर’को खासै प्रभाव नै थिएन । फुटबलको मक्का मानिने युरोप र दक्षिण अमेरिकाको आकाशलाई छिचोल्दै विश्वकप अमेरिका पुगेपछि धेरैले सफल आयोजनाप्रति नै आशंकासमेत व्यक्त गरेका थिए ।
सन् १९८८ को जुलाई ४ तारिखमा स्विट्जरल्यान्डको जुरिचमा फिफाले यो निर्णय लिएको थियो । फिफाको यो निर्णयले फुटबलको भूगोललाई नै बदलिदिएको थियो । अमेरिका, जहाँ त्यतिबेला फुटबल ‘लोकप्रिय खेल’को सूचीमा समेत थिएन, त्यसैलाई आयोजकको रूपमा चुनिएको थियो ।
सन् १९८८ को स्वतन्त्रता दिवसका दिन नै अमेरिकाले यो विश्वकप आयोजनाको जिम्मेवारी पाएको थियो । अमेरिकी नागरिकका लागि पनि यो खुसीको खबर थियो । अमेरिकाले ब्राजिल र मोरक्कोलाई पछि पार्दै यो अवसर पाएको थियो ।
फिफाको यो निर्णयको पछाडि केही ठोस आधार थिए । निरीक्षण समितिले ब्राजिलका रंगशालालाई ‘अयोग्य’ ठहर गरेको थियो । अर्कोतिर, मोरक्कोले पनि विश्वकपका लागि नौवटा नयाँ रंगशाला बनाउने प्रस्ताव राखेको थियो ।
अमेरिकाले भने विश्वकपको दाबीका लागि पहिले नै निर्माण भइसकेका र पूर्ण रूपमा सञ्चालनमा रहेका रंगशालाहरूलाई अघि सारेको थियो । यसमा अर्को एउटा रमाइलो संयोग पनि जोडिएको छ ।
अमेरिकाले विश्वकप आयोजनाका करिब ५०० मिलियन डलरमात्र खर्चिने योजना बनाएको थियो, जुन अन्य देशले विश्वकप आयोजना गर्न खर्चिने अर्बौं डलरको तुलनामा निकै कम थियो । त्यै पनि यो अधिकार अमेरिकाले पाउनु आफैंमा आश्चर्यको विषय थियो ।

आठ वर्षअघिको पीडा र अमेरिकाको जिद्दी
अमेरिकाका लागि यो सफलता सहजै प्राप्त भएको थिएन । सन् १९८२ मा कोलम्बियाले आर्थिक कारण देखाउँदै सन् १९८६ को विश्वकप आयोजनाबाट हात झिकेपछि अमेरिकाले आयोजक बन्ने प्रयास गरेको थियो ।
त्यतिबेला यो अधिकार अमेरिकालाई दिइनुपर्ने मागसहित पेले, फ्रान्ज बेकेनबाउरजस्ता दिग्गज खेलाडी र तत्कालीन अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर आफैं मैदानमा ओर्लिएका थिए । तर, फिफाले मेक्सिकोलाई रोज्यो । त्यो पिडाबाट सिकेको पाठ नै सन् १९९४ मा अमेरिकाको जितको आधार बन्यो ।
विश्वकप आयोजनाका लागि फिफाले अमेरिकासामू एउटा कडा सर्त राखेको थियो, देशभित्र व्यावसायिक फुटबल लिगको स्थापना । त्यतिबेला अमेरिकामा व्यावसायिक लिगको नामोनिसान थिएन ।
सन् १९६७ मा स्थापित ‘नर्थ अमेरिकन सकर लिग’ सन् १९८४ मै बन्द भइसकेको थियो । फिफाको सर्त बमोजिम नै सन् १९९३ मा ‘मेजर लिग सकर’को जग बसेको थियो र सन् १९९६ देखि यो लिग सञ्चालनमा आएको थियो ।

नियम परिवर्तन गरेर ‘गोल’को खोजी
सन् १९९० को इटाली विश्वकपमा गोलको खडेरी परेपछि फिफा निकै दबाबमा थियो । दर्शकलाई खेलमा टिकाइराख्न फिफाले सन् १९९४ को विश्वकपमा केही क्रान्तिकारी नियम लागू गर्यो ।
गोलरक्षकले ‘ब्याक पास’को बल हातले छुन नपाउने नियमले खेलमा गतिशीलता ल्यायो । खेललाई थप आक्रामक बनाउन प्रत्येक जितका लागि दुईको सट्टा तीन अंक दिने व्यवस्था पनि गरियो । ‘अफ–साइड’को नियमलाई पनि थप खुकुलो बनाइयो ।
यतिमात्र होइन, रेफ्रीहरूलाई खेलमा अझ कडा हुन निर्देशन दिइयो । परम्परागत कालो जर्सी त्यागेर रेफ्रीहरू रंगीन पहिरनमा देखा परे । यी परिवर्तनहरूको उद्देश्य स्पष्ट थियो, आक्रामक फुटबलको चाहना र बढीभन्दा बढी गोलको खोजी ।

कीर्तिमानको ओइरो र नयाँ युगको शुरूआत
यो विश्वकपमा २४ वटा टोलीलाई ६ समूहमा विभाजन गरिएको थियो । सोभियत संघको विघटनपछि रुस पहिलो पटक छुट्टै राष्ट्रका रूपमा मैदानमा ओर्लिएको थियो ।
अर्कोतिर, जर्मनीले पनि दोस्रो विश्वयुद्धपछि पहिलो पटक एकीकृत टोलीका रूपमा विश्वकपमा सहभागिता जनाएको थियो । नाइजेरिया, ग्रिस र साउदी अरबले विश्वकपमा ‘डेब्यू’ गरेका थिए ।
कीर्तिमानका हिसाबले विश्वकपको यो संस्करण विशेष रह्यो । रुसका ओलेग सालेन्कोले क्यामरुन विरुद्धको खेलमा पाँच गोल गर्दै विश्वकप इतिहासकै एउटा ‘अजेय’ कीर्तिमान बनाए ।
क्यामरुनका महान् खेलाडी रोजर मिलाले पनि ४२ वर्ष ३९ दिनको उमेरमा गोल गर्दै विश्वकपमा गोल गर्ने सबैभन्दा पाको उमेरका खेलाडीको कीर्तिमान आफ्नो नाममा पारे ।

म्याराडोनाको अप्रत्यासित बिदाइ र दु:खद हत्याकाण्ड
यो विश्वकपमा खेलको मैदानमा जति उत्साह थियो, मैदानबाहिर त्यत्तिकै तनाव पनि । अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोनाले पुनरागमन त गरे, तर वजन घटाउने औषधि ‘एफेड्रिन’ सेवन गरेको पुष्टि भएपछि उनलाई प्रतियोगिताबाटै निलम्बन गरियो ।
म्याराडोनाको बिदाइले अर्जेन्टिनी समर्थकको सपना चकनाचुर पारिदियो । तर, विश्वकपको इतिहासमै सबैभन्दा कालो धब्बा लाग्यो, कोलम्बियाली डिफेन्डर आन्द्रेस एस्कोबारको हत्याले ।
अमेरिकाविरुद्धको समूहगत चरणको खेलमा एस्कोबारले भुलवश आत्मघाती गोल गरे । सोही कारणले कोलम्बिया उपाधि होडबाट बाहिरियो ।
विश्वकपमा सहभागी भएर स्वदेश फर्किएको केही दिनभित्रै मेडेलिनको एक नाइट क्लब बाहिर उनको गोली हानी हत्या गरियो । उक्त हत्याको पछाडि त्यही आत्मघाती गोल नै मुख्य कारण रहेको आशंका गरियो, जसले विश्व फुटबललाई नै स्तब्ध: बनायो ।

त्यो अवस्मिरणीय फाइनल र ब्राजिलको चौथो ‘तारा’
यो विश्वकपको फाइनल खेल क्यालिफोर्नियाको ‘रोज बाउल’ रंगशालामा ९४ हजारभन्दा बढी दर्शकको उपस्थितिमा खेलिएको थियो ।
ब्राजिल र इटालीबीचको त्यो भिडन्त विश्वकपको इतिहासमै पहिलोपटक निर्धारित समय र अतिरिक्त समयमा गोलरहित बराबरीमा टुंगिएको थियो ।
त्यसपछि, पेनाल्टी सुटआउटमा ब्राजिलका गोलरक्षक ताफारेल र इटालीका रोबर्टो बाजियोको त्यो अन्तिम प्रहारलाई फुटबलप्रेमीहरूले कहिल्यै बिर्सने छैनन् ।
जब, प्रभावशाली खेलाडी बाजियोले पेनाल्टी पोस्टभन्दा बाहिर प्रहार गरे, सिंगो रंगशाला स्तब्ध: बन्यो । त्यसपछि, ब्राजिल चौथोपटक विश्व च्याम्पियन बन्यो ।
ब्राजिलले आफ्नो यो जित अघिल्लो महिनामात्रै ‘फर्मुला वान’ दुर्घटनामा ज्यान गुमाएका आफ्ना राष्ट्रिय नायक आयरटन सेनाप्रति समर्पित गर्यो ।

आखिर के पायो त अमेरिकाले ?
अमेरिकाका लागि यो विश्वकप केवल खेलको आयोजना थिएन । अमेरिकाका लागि यो आफ्नो देशमा ‘सकर’को जग बसाल्ने सबैभन्दा गतिलो मौका पनि थियो ।
नौवटा सहरमा भएका ५२ खेल हेर्न ३५ लाख ८७ हजारभन्दा बढी दर्शक रंगशालामा पुगेका थिए । औसतमा प्रतिखेल ६८ हजार नौ सय ९१ दर्शकको उपस्थिति आज पनि विश्वकप फुटबलको कीर्तिमान हो ।
यही विश्वकपको सफलताले गर्दा पछि सन् १९९६ मा ‘मेजर लिग सकर’को स्थापना भयो । रोमारियोको उत्कृष्ट प्रदर्शन (गोल्डेन बल) र स्टोइचकोभजस्ता खेलाडीको उदयसँगै सकिएको यो विश्वकपले फुटबललाई मनोरञ्जन र व्यापार दुवैको उच्च विन्दुमा पुर्यायो ।
समग्रमा, सन् १९९४ को विश्वकप केवल खेलमात्र नभइ आधुनिक फुटबलको ‘ब्लुप्रिन्ट’ तयार पार्ने महाकुम्भ थियो । अमेरिकाले फुटबल नबुझेको देशबाट विश्वकै सबैभन्दा सफल र व्यवस्थित विश्वकपको आयोजक बन्ने यात्रा तय गरेको थियो ।

१५औं विश्वकपसँग जोडिएका केही रोचक कथा :
० दर्शकले बनाएको कीर्तिमान :सन १९९४ को विश्वकप मैदानभित्र मात्र होइन, मैदान बाहिर पनि ऐतिहासिक रह्यो । यो विश्वकपले सर्वाधिक कुल दर्शक (३५ लाख ८७ हजार ५३८) र प्रतिखेल औषत दर्शक (६८ हजार ९९१) को कीर्तिमान बनायो, जुन आजसम्म पनि कायमै छ ।
० ओलेग सालेन्कोको पाँच गोल : यो विश्वकपमा रुसका ओलेग सालेन्कोले एउटै खेलमा पाँच गोल गरेर कीर्तिमान बनाए । उनले क्यामरुनविरुद्धको खेलमा १५औं, ४१औं, ४४औं, ७२औं र ७५औं मिनेटमा गोल गरेका थिए । त्यो खेलमा रुस ६–१ गोलले विजयी भएको थियो ।
० ४२ वर्षको उमेरमा गोल : क्यामरुनका महान् खेलाडी रोजर मिल्ला ४२ वर्षको उमेरमा गोल गर्दै विश्वकपमा गोल गर्ने सबैभन्दा बढी उमेरका खेलाडी बने । उनले रुसविरुद्धको खेलको ४६औं मिनेटमा गोल गरेका थिए ।
० रातो कार्ड पाउने कान्छा खेलाडी :क्यामरुनका रिगोबर्ट सोङ विश्वकपको इतिहासमा रातो कार्ड पाउने सबैभन्दा कम उमेरका खेलाडी बने । रातो कार्ड पाउँदा उनको उमेर केवल १७ वर्ष पुगेको थियो । यद्दपि, यो उनको नामसँग जोडिएको खराब कीर्तिमान थियो ।

० रातो कार्ड पाउने पहिलो गोलरक्षक :यो विश्वकपमा इटालीका चर्चित गोलरक्षक जियानलुका पाग्लियुकाले पनि रातो कार्ड पाएका थिए । उनी विश्वकपको इतिहासमा रातो कार्ड पाउने पहिलो गोलरक्षक बन्न पुगे ।
० जितका लागि बढी अंक: जितका लागि दुईको सट्टा तीन अंक दिने नियम यही विश्वकपबाट शुरू भएको थियो, जसले टोलीहरूलाई थप आक्रामक बनायो ।
० गोलरक्षकका लागि कडाइ :सहकर्मीले दिएको ‘ब्याक पास’लाई गोलरक्षकले हातले समात्न नपाउने नियम पनि यही विश्वकपबाट कार्यान्वयनमा आएको थियो ।
० रेफ्रीको पहिरन : रेफ्रीहरू सधैं कालो जर्सीमा देखिने परम्परा तोड्दै यो विश्वकपदेखि रेफ्रीले रातो, पहेँलो र चाँदीको रङको जर्सी प्रयोग गर्नुपर्ने नियम शुरू भयो ।
० नयाँ अवार्ड :विश्वकपको सर्वोत्कृष्ट गोलरक्षकलाई ‘लेभ याशिन अवार्ड’ प्रदान गर्ने परम्परा यही संस्करणबाट शुरू भएको थियो ।
० प्रविधि र व्यवस्थापनमा फड्को : डेट्रोइट नजिकको पोन्टियाक सिल्भरडोममा पहिलो पटक ‘इन्डोर’ रंगशालामा विश्वकप खेल खेलाइयो ।

० प्रत्यक्ष प्रसारण : यो विश्वकपको ५२ वटै खेल अमेरिकी दर्शकका लागि प्रत्यक्ष प्रसारण गरिएको थियो र त्यसमा कुनै पनि विज्ञापन देखाइएको थिएन ।
० फिफा एन्थमको शुरूआत : खेल शुरू हुनुअघि खेलाडीहरू मैदानमा प्रवेश गर्दा बज्ने फ्रान्ज ल्याम्बर्टद्वारा कम्पोज गरिएको ‘फिफा एन्थम’ पनि यही संस्करणबाट शुरू भएको थियो ।
० समूहगत चरणको पहेँलो कार्ड खारेज : विश्वकपको नकआउट चरण शुरू हुनुअघि समूहगत चरणको पहेँलो कार्ड खारेज हुने नियम पनि पहिलो पटक लागू गरिएको थियो ।
विश्वकप फुटबलबारे यसअघिका शृखला :
१४औँ फिफा विश्वकप : ‘डिफेन्सिभ’को दबदबा, रातो कार्डको वर्षा र विश्व फुटबलको बदलिएको ‘कथा’
- ५२ वर्ष लामो ‘फुटबल वनवास’को अन्त्य : कसरी बदलियो ‘अफ्रिकी लेपाडर्स’को भाग्य ?
- विवाद र रोमाञ्चकताले भरिएको १९८२ को विश्वकप- 'गिजोनको लज्जा'देखि इटालीको ऐतिहासिक उपाधिसम्म
- ११औं फिफा विश्वकप- १९७८: ‘कन्फेटी’को वर्षाले सेताम्मे रंगशाला र अर्जेन्टिनाको पहिलो उपाधि
- १० औं फिफा विश्वकप-१९७४ : जब ‘टोटल फुटबल’को जादूमाथि हाबी भयो ‘जर्मन दृढता’
- उज्बेकिस्तानको फुटबल पुनर्जागरण : विमान दुर्घटनाको शोकदेखि विश्वकपसम्म ‘सेता ब्वाँसाहरू’को उडान
- नवौं फिफा विश्वकप– १९७० : त्यो ‘स्वर्णिम युग’ जसले फूटबल ‘कला’ र ब्राजिललाई ‘अमर’ बनायो
- ‘ब्लू सार्क’को एतिहासिक यात्रा : पाँच लाख जनसंख्या भएको टापुले कसरी पूरा गर्यो असम्भव सपना ?
- आठौं विश्वकप- १९६६: फूटबलको ‘जन्मभूमि’मा जब इतिहास रचियो
- सातौं फिफा विश्वकप–१९६२ : भूकम्प, ‘सान्टियागोको युद्ध’ र ब्राजिलको ऐतिहासिक उपाधि रक्षा
- छैटौं फिफा विश्वकप– १९५८: फूटबलको स्वर्णिम अध्याय, सर्वकालीन महान खेलाडी पेलेको उदय
- पाँचौं फिफा विश्वकप–१९५४: ‘ब्याटल अफ बर्न’, हंगेरीको ‘स्वर्ण युग’ र जर्मनीको उदयबीचको टकराव
- द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो
- विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग
- दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम
- पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म