
फुटबल केवल २२ खेलाडीको दौडधुप होइन, यो त विश्वभरिका अर्बौं समर्थकको मुटुको धड्कन पनि हो । फिफाको ब्यानरमुनि सन् १९३० बाट शुरू भएको यो महाकुम्भले हरेक चार वर्षमा संसारलाई एउटै लयमा नचाउँछ ।
सन् २०२२ मा कतारमा सम्पन्न विश्वकपको २२ औं संस्करणले पनि फुटबलमा अनेकौं ऐतिहासिक अध्याय थप्यो । जुन, फुटबलप्रेमीका लागि सधैं प्रेरणाको स्रोत बनेर रहने पक्का छ । विश्वकपको यो संस्करण नोभेम्बर २० देखि डिसेम्बर १८ तारिखसम्म चलेको थियो ।
प्रतियोगितामा सहभागी ३२ टोलीलाई विभिन्न पाँच शहरका आठवटा रंगशालामा खेलाइएको थियो । एसियामा आयोजना भएको यो दोस्रो पुरुष फिफा विश्वकप थियो भने मध्यपूर्वमा आयोजना भएको पहिलो संस्करण ।
आयोजकको ‘डेब्यू’ र भौगोलिक चुनौतीमाथि जित
सन् २०१० मा आयोजक राष्ट्रको रूपमा कतार छनोट हुँदा विश्वभर एउटै प्रश्न थियो, ‘के यो सानो मरुभूमि राष्ट्रले यति ठूलो प्रतियोगिताको भार धान्न सक्ला ?’

मध्यपूर्वको पहिलो आयोजकका रूपमा कतारले तिखा प्रश्नहरुको सामनामात्र गरेन, बरु इतिहासकै सबैभन्दा भव्य र सुविधायुक्त प्रतियोगिता प्रस्तुत गरेर पनि देखायो ।
सामान्यत: जुन–जुलाईमा आयोजना हुने फिफा विश्वकप कतारको भीषण गर्मीलाई मध्यनजर गर्दै पहिलो पटक नोभेम्बर–डिसेम्बरमा सारिएको थियो ।
केवल आठवटा रंगशालामा केन्द्रित भएर खेलाइएको विश्वकपको यो संस्करणलाई ‘दिगोपन’को नमूनाका रूपमा पनि हेरियो ।

अत्याधुनिक वातानुकूलित रंगशालाले प्रविधिको उच्चतम प्रयोग भएको देखायो । यहाँसम्म कि, ‘अल रिहला’ बलमा राखिएको सेन्सर र १२ वटा विशेष क्यामराले ‘अफ–साइड’को निर्णयलाई मानवरहित र थप पारदर्शी बनाएको थियो ।
भ्रष्टाचारको आरोप र ‘गार्सिया रिपोर्ट’
कतारले आयोजनाको अधिकार पाएदेखि नै यो प्रतियोगिता विवादको घेरामा परेको थियो । फिफाका वरिष्ठ अधिकारीहरूमाथि लागेका भ्रष्टाचारका आरोप, आर्थिक अनियमितता र विश्वकप छनोट प्रक्रियामा घूसखोरीका मुद्दाहरूले लामो समयसम्म विश्व फुटबललाई ततायो ।
विशेषगरी, ‘गार्सिया रिपोर्ट’ले कतारको आयोजना दाबी प्रक्रियामाथि नै प्रश्न उठाएको थियो । यद्यपि, फिफाको आन्तरिक अनुसन्धानले पछि कतारलाई औपचारिक रूपमा सफाइ दियो ।

तर, माइकल गार्सिया आफैंले फिफाको उक्त निष्कर्ष ‘अपूर्ण’ रहेको भन्दै असन्तुष्टि जनाएका थिए । सन् २०१५ मा भएको फिफा भ्रष्टाचार काण्ड र त्यसपछि भएका गिरफ्तारीहरूले पनि यो आयोजनाको छविमाथि पटक–पटक प्रश्न उठाउने काम गर्यो ।
राजनीतिक र सामाजिक प्रतिबन्धको छायाँ
विश्वकपका क्रममा कतारले अपनाएको कठोर सामाजिक नियमहरूले ‘सांस्कृतिक द्वन्द्व’ निम्त्यायो । विशेषगरी, एलजीबीटीक्यू अधिकारका विषयमा फिफा र कतारबीच जुहारी नै चल्यो ।
युरोपेली टोलीका कप्तानहरूले लगाउने भनिएको ‘वान लभ’ आर्मब्यान्डमा फिफाले प्रतिबन्ध लगायो, जसले खेलाडी र आयोजकबीच तनाव बढायो ।

सन् २०२२ को विश्वकप आयोजक समितिको एक कर्मचारीमाथि लागेको ‘विवाहबाहिर यौनसम्बन्ध’को आरोप र त्यससँग जोडिएको आपराधिक मुद्दाले कतारको कानूनलाई लिएर अन्तर्राष्ट्रिय जगतमा निकै ठूलो बहस सिर्जना गर्यो ।
इरानको प्रभाव र यहुदी समुदायको अनुभव
यो विश्वकपमा इरानको उपस्थिति पनि निकै तनावपूर्ण रह्यो । इरानमा भइरहेको ‘महिला, जीवन र स्वतन्त्रता’ आन्दोलनको प्रभाव रंगशालासम्मै देखिएको थियो ।
इरानका समर्थकहरूले सरकारविरोधी नारा वा तस्बिर बोक्न खोज्दा सुरक्षाकर्मीले उनीहरूलाई रोक्ने र पक्राउ गर्नेजस्ता घटनाहरू भए ।

विश्वकपमा सहभागी हुन पुगेका यहुदी र इजरायली नागरिकले पनि मिश्रित अनुभव गरे । कतारले शुरूमा यहुदीहरूका लागि आवश्यक सुविधा (कोशेर खाना र प्रार्थना)को व्यवस्था गर्ने बाचा गरे पनि अन्तिम समयमा त्यसमा कडाइ गरियो ।
केही इजरायली पत्रकारले आफूहरूलाई अरबी मुलुकका समर्थकले दुर्व्यवहार गरेको र आफ्नो परिचय लुकाउनुपरेको अनुभवसमेत सुनाएका थिए ।
युक्रेनमाथिको आक्रमण र रुसको बहिर्गमन
युक्रेनमाथि आक्रमण गरेपछि रुसलाई फिफाले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट अनिश्चितकालका लागि निलम्बन गर्यो ।
सोही कारण रुसी राष्ट्रिय टोलीले विश्वकप छनोटका खेलसमेत खेल्न पाएन । यो निर्णयले खेलकुदमा राजनीति र युद्धको प्रत्यक्ष प्रभावलाई छर्लङ्ग पारेको थियो ।

भौतिक पूर्वाधार र समर्थकलाई सास्ती
विश्वकप हेर्न पुगेका हजारौं समर्थकले आवासको व्यवस्थालाई लिएर चरम असन्तुष्टि पोखे । महँगो शुल्कमा उपलब्ध गराइएका ‘सिपिङ कन्टेनर’बाट बनेका कोठा र टेन्टहरूमा पानीको समस्या, चर्को गर्मी र अव्यवस्थित संरचनाका कारण समर्थकहरूले ठूलै सास्ती व्यहोर्नुपर्यो ।
यही कारणले दुबईजस्ता छिमेकी शहरहरूबाट दैनिक हवाई उडानमार्फत खेल हेर्न आउने समर्थकको चाप ह्वात्तै बढेको थियो ।

विवाद र आलोचना अनि, पर्दापछाडिको यथार्थ
हरेक ठूलो प्रतियोगिताझैं कतार विश्वकप पनि विवादमुक्त रहेन । आप्रवासी कामदारहरूको दयनीय अवस्था र निर्माणका क्रममा भएका मानवीय क्षतिले कडा आलोचना खेप्यो ।
एलजीबीटीक्यू समुदायप्रतिको दृष्टिकोण र मानवाधिकारका मुद्दाहरूले पनि यो विश्वकपलाई निकै विवादित बनायो ।
फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरले त कतारलाई आयोजनाको अधिकार दिनु नै ‘गल्ती’ भएको सार्वजनिक टिप्पणीसमेत गरे ।

यी मुद्दाले विश्वभरका सञ्चारमाध्यममा बहस सिर्जना गर्यो । कतारले पूर्वाधारमा खर्च गरेको करिब दुई सय बिलियन डलरले आर्थिक पाटोमा पनि ठूलो चर्चा बटुल्यो ।
यो विश्वकपको सुरक्षा व्यवस्थाका लागि १३ भन्दा बढी देशबाट ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको यो थियो ।
यति हुँदाहुँदै पनि ३० लाखभन्दा बढी दर्शकको उपस्थिति र विश्वभरका अर्बौं दर्शकले देखाएको चासोले कतार विश्वकपलाई सर्वाधिक सफल बनाइदियो ।
‘कन्कसन सब्स्टिच्यूसन’ र खेलाडी परिवर्तन
यो प्रतियोगितामा केही नवीन अभ्यासहरू पनि गरिए । प्रत्येक टोलीलाई सामान्य समयमा पाँच र अतिरिक्त समयमा थप एक गरी कुल ६ खेलाडी परिवर्तन गर्न पाउने सुविधा दिइयो ।
यसैगरी, विश्वकपको इतिहासमै पहिलोपटक ‘कन्कसन सब्स्टिच्युसन’ (टाउकोमा चोट लागेमा गरिने खेलाडी परिवर्तन)को नियम प्रयोगमा ल्याइयो ।

खेललाई थप पारदर्शी बनाउन इलेक्ट्रोनिक सेन्सर जडित ‘अल रिहला’ बलको प्रयोग गरिएको थियो, जसले प्रतिसेकेन्ड पाँच सय पटकसम्म बलको स्थिति ट्र्याक गर्थ्यो ।
मेसीको अधुरो सपना र उपाधि यात्रा
कतार विश्वकपको सबैभन्दा भावुक र गौरवपूर्ण क्षण अर्जेन्टिनाको जित रह्यो । यो संस्करणले विश्वभर रहेका अर्जेन्टिना र मेसीका करोडौं समर्थकलाई धुरुधुरु रुवायो ।
दुई दशकदेखि फुटबलको शिखरमा रहेका लियोनल मेसीका लागि यो प्रतियोगिता केवल एउटा खेल थिएन, उनका लागि यो आफ्नो ‘लिगेसी’को रक्षा गर्ने गतिलो अवसर पनि थियो ।
सन् १९८६ मा डिएगो म्याराडोनाले अर्जेन्टिनालाई जुन उचाइमा पूर्याएका थिए, ३६ वर्षपछि मेसीले त्यसलाई पुनर्जीवित गरे ।

फाइनलमा फ्रान्सविरुद्धको सनसनीपूर्ण जितले मेसीलाई विश्व फुटबलको ‘सर्वकालीन महान खेलाडी’का रूपमा स्थापित गरिदियो ।
फाइनलमा खेल निकै नाटकीय रह्यो । ३–३ गोलको बराबरीपछि भएको पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४–२ ले विजयी भयो ।
समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक मेसीले यो विश्वकपमा सात गोल र सर्वाधिक ‘गोल कन्ट्रीब्यूसन’को कीर्तिमान कायम गर्दै ‘गोल्डेन बल’ पनि हात पारे ।
फाइनलमा एमबाप्पेको त्यो ह्याट्रिक
फ्रान्सका युवा स्टार केलियन एमबाप्पेको प्रदर्शनले कतार विश्वकपलाई थप रोमान्चक बनायो । फाइनलमा ह्याट्रिक गोल गरेर उनले इतिहास रचे ।

सन् १९६६ पछि विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी बने । २३ वर्षको उमेरमा १२ विश्वकप गोल पुर्याएका एमबाप्पे पेलेको कीर्तिमानको नजिक पुगेका छन् ।
‘गोल्डेन बुट’ विजेता एमबाप्पेको खेलशैलीले प्रमाणित गर्यो कि, मेसी र रोनाल्डोको युगपछि फुटबलको बागडोर कसको हातमा पुग्नेछ । एमबाप्पेले लगातार दुई फाइनलमा गोल गर्ने दुर्लभ कीर्तिमान पनि आफ्नो नाममा लेखाए ।
अफ्रिकाको उदय र मोरक्कोको जादु
विश्व फुटबलको इतिहासमा युरोप र दक्षिण अमेरिकाको दबदबालाई चुनौती दिँदै मोरक्कोले कतारमा नयाँ इतिहास रच्यो ।
विश्वकपको सेमिफाइनलसम्म पुग्ने पहिलो अफ्रिकी टोली बन्ने क्रममा मोरक्कोले बेल्जियम, स्पेन र पोर्चुगलजस्ता दिग्गज टोलीलाई पाखा लगायो ।
यो सफलताले भविष्यमा यदि कुनै अफ्रिकी राष्ट्रले विश्वकप ट्रफी उचाल्ने हिम्मत राख्छ भने त्यो मोरक्को नै हो भन्ने सन्देश पनि प्रवाहित गर्यो ।

नयाँ पुस्ताको चमक र दिग्गजहरूको छाप
कतार विश्वकपमा एन्जो फर्नान्डेज (बेस्ट योङ प्लेयर), जुड बेलिङ्घम, जमाल मुसियाला र भिनिसियस जुनियरजस्ता युवाको उदयले फुटबलको भविष्य सुरक्षित रहेको देखायो ।
अर्कोतर्फ, लुका मोड्रिच, थियागो सिल्भा, ओलिभर जिरोर्ड र क्रिस्टियानो रोनाल्डोजस्ता भेट्रान खेलाडीले ‘उमेर केवल अंक हो’ भन्ने कुरा प्रमाणित गर्दै मैदानमा आफ्नो गतिलो छाप छाडे ।
समग्रमा, कतार विश्वकपले एउटा विजेता (अर्जेन्टिना) मात्र दिएन, सँगै यो संस्करणले फुटबललाई नयाँ उचाइ, प्रविधिको फड्को र सांस्कृतिक एकताको मञ्च पनि प्रदान गर्यो ।
त्यसको चार वर्षपछि ४८ टोलीको विशाल सहभागितासहित अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने २३ औं संस्करणले कस्तो इतिहास रच्ला ? यतिबेला अन्तर्राष्ट्रिय फुटबल जगत त्यसैको प्रतीक्षामा छ ।

२२ औं विश्वकपसँग जोडिएका केही रोचक कथा :
० इतिहासकै महँगो विश्वकप : यो विश्वकपका लागि पूर्वाधार विकासमा दुई सय बिलियन डलर खर्च भएको थियो, जुन इतिहासमै सबैभन्दा महँगो हो ।
० दोस्रो छोटो अवधि : सन् १९७८ को विश्वकपपछि कतार विश्वकप इतिहासकै सबैभन्दा छोटो (२८ दिन) समयमा सम्पन्न भएको संस्करण हो ।
० ३२ टोलीको अन्तिम संस्करण : यो विश्वकप ३२ टोलीको सहभागितामा रहेको अन्तिम संस्करण पनि हो । २०२६ को संस्करणदेखि टोलीको सँख्या बढाएर ४८ पुर्याइएको छ ।

० सांस्कृतिक प्रतीक : विश्वकपको लोगो ‘इन्फिनिटी’ आकारमा तयार पारिएको थियो, जसले आठवटा रंगशाला र अरब संस्कृतिलाई झल्काउँछ ।
० समयको फेरबदल : कतारको अत्यधिक गर्मीलाई ध्यानमा राखी फिफाले परम्परा तोड्ने निर्णय गर्यो । मे, जुन र जुलाईमा हुने विश्वकप पहिलोपटक नोभेम्बर र डिसेम्बरमा सारियो ।
० मस्कट र म्याच बल : विश्वकपको मस्कट ‘ला उ इब’ले विश्वभर सकारात्मकता फैलायो भने, अन्तिम खेलको बल ‘अल हिल्म’ अर्थात ‘सपना’ले हरेक राष्ट्रको विश्वकप उचाल्ने सपनालाई प्रतिनिधित्व गर्यो ।

० सबैभन्दा सानो राष्ट्र : कतार फिफा विश्वकप आयोजना गर्न क्षेत्रफलको हिसाबले सबैभन्दा सानो राष्ट्र बन्न पुग्यो ।
० फाइनल र राष्ट्रिय दिवस : यो विश्वकपको फाइनल खेल डिसेम्बर १८ तारिखमा खेलाइएको थियो । त्यो दिन कतारको राष्ट्रिय दिवस पनि परेको थियो ।
० रंगशालाको कथा : विश्वकप आयोजनाको अधिकार पाउँदा कतारमा एउटामात्र फुटबल रंगशाला थियो । थप सात वटा रंगशाला पछि द्रुत गतिमा निर्माण गरिएको थियो ।
विश्वकप फुटबलबारे यसअघिका शृखला :
२१औँ फिफा विश्वकप : कीर्तिमान, विवाद, नाटक र रोमाञ्चक फुटबलको अविस्मरणीय गाथा
- २०औँ फिफा विश्वकप : ‘माराकाना’को महासंग्राम, स्वारेजको चर्तिकला र जर्मनीको ऐतिहासिक यात्रा
- १९औँ फिफा विश्वकप : अफ्रिकी धर्तीमा कोरिएको महागाथा : जहाँ स्पेनको ‘टिकी–टाका’ले इतिहास रच्यो
- जब विश्वकपले काचुली फेर्यो : रोनाल्डोको ‘रहस्यमय’ रात र जिदानको उदय
- १५औं फिफा विश्वकप-१९९४ : त्यो ‘ब्लकबस्टर’ संस्करण, जसले फुटबलको परिभाषा नै बदल्यो
१४औँ फिफा विश्वकप : ‘डिफेन्सिभ’को दबदबा, रातो कार्डको वर्षा र विश्व फुटबलको बदलिएको ‘कथा’
- ५२ वर्ष लामो ‘फुटबल वनवास’को अन्त्य : कसरी बदलियो ‘अफ्रिकी लेपाडर्स’को भाग्य ?
- विवाद र रोमाञ्चकताले भरिएको १९८२ को विश्वकप- 'गिजोनको लज्जा'देखि इटालीको ऐतिहासिक उपाधिसम्म
- ११औं फिफा विश्वकप- १९७८: ‘कन्फेटी’को वर्षाले सेताम्मे रंगशाला र अर्जेन्टिनाको पहिलो उपाधि
- १० औं फिफा विश्वकप-१९७४ : जब ‘टोटल फुटबल’को जादूमाथि हाबी भयो ‘जर्मन दृढता’
- उज्बेकिस्तानको फुटबल पुनर्जागरण : विमान दुर्घटनाको शोकदेखि विश्वकपसम्म ‘सेता ब्वाँसाहरू’को उडान
- नवौं फिफा विश्वकप– १९७० : त्यो ‘स्वर्णिम युग’ जसले फूटबल ‘कला’ र ब्राजिललाई ‘अमर’ बनायो
- ‘ब्लू सार्क’को एतिहासिक यात्रा : पाँच लाख जनसंख्या भएको टापुले कसरी पूरा गर्यो असम्भव सपना ?
- आठौं विश्वकप- १९६६: फूटबलको ‘जन्मभूमि’मा जब इतिहास रचियो
- सातौं फिफा विश्वकप–१९६२ : भूकम्प, ‘सान्टियागोको युद्ध’ र ब्राजिलको ऐतिहासिक उपाधि रक्षा
- छैटौं फिफा विश्वकप– १९५८: फूटबलको स्वर्णिम अध्याय, सर्वकालीन महान खेलाडी पेलेको उदय
- पाँचौं फिफा विश्वकप–१९५४: ‘ब्याटल अफ बर्न’, हंगेरीको ‘स्वर्ण युग’ र जर्मनीको उदयबीचको टकराव
- द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो
- विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग
- दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम
- पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म