१७ असार २०८३, बुधबार

एसीसी महिला प्रिमियर कप क्रिकेट : नेपाल बुधबार कतारसँग भिड्दै, एसिया कप छनोटको लक्ष्य

जेठ १९, २०८३
काठमाडौं
एसीसी महिला प्रिमियर कप क्रिकेट : नेपाल बुधबार कतारसँग भिड्दै, एसिया कप छनोटको लक्ष्य

एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा बुधबारदेखि मलेसियामा शुरू हुँदैछ । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल बुधबार नै कतारसँग खेल्दैछ ।

नेपाल र कतारबीचको खेल नेपाली समय अनुसार बिहान ७:१५ बजे शुरू हुनेछ । यो एसीसी महिला टी–२० एसिया कपको छनोट प्रतियोगिता पनि हो ।

प्रिमियर कपमा १८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

नेपाल र कतार प्रतियोगिताको समूह ‘डी’मा परेका छन् । यो समूहमा भुटान र हङकङ पनि छन् । प्रतियोगिताको समूह ‘सी’मा इन्डोनेसिया, कुवेत, मलेसिया र सिंगापुर छन् ।

यसैगरी, समूह ‘बी’मा चीन, ओमान, फिलिपिन्स, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । समूह ‘ए’मा बहराइन, जापान, मंगोलिया, म्यानमार र थाइल्यान्ड परेका छन् ।

नेपाली टोलीले आफ्नो दोस्रो खेल जुन ४ तारिखमा भुटानसँग खेल्नेछ । नेपाली टोलीले समूहगत चरणको अन्तिम खेल जुन ६ तारिखमा हङकङसँग खेल्नेछ ।

प्रत्येक समूहबाट दुई/दुई टोली प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । चारवटै क्वार्टरफाइनल खेल जुन १० तारिख हुनेछ ।

त्यसपछि, जुन १२ तारिखमा दुवै सेमिफाइनल तथा जुन १३ तारिखमा तेस्रो स्थानका लागि र फाइनल खेल खेलाइने छ । यो प्रतियोगिताबाट चार टोली आगामी महिला एसिया कपमा छनोट हुनेछन् ।

नेपाल र कतारको महिला टोलीबीच यसअघि चारवटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ । चारवटै खेलमा नेपाली टोली विजयी भएको छ ।

सन् २०२१ को नोभेम्बर १६ तारिखमा खेलिएको खेलमा नेपालले कतारलाई एक सय १९ रनले हराएको थियो । सोही वर्षको नोभेम्बर १७ मा खेलिएको खेलमा पनि नेपाल ६१ रनले विजयी भएको थियो ।

सोही वर्षको नोभेम्बर १८ मा खेलिएको खेलमा नेपाल एक सय नौ रनले विजयी भएको थियो । सन् २०२३ को सेप्टेम्बर ४ तारिखमा खेलिएको खेलमा नेपालले कतारलाई नौ विकेटले हराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्