
पाँचदिने भारत भ्रमण पूरा गरेर शुक्रबार स्वदेश फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भ्रमणलाई लिएर नेपालमा उठेका राजनीतिक बहस र अड्कलबाजीबारे एकैसाथ जवाफ दिएका छन् ।
भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा, भारतीय नेतृत्वसँगको भेटघाट, नेपाल–भारत सीमा विवाद र भ्रमणमा प्राप्त स्वागतबारे सोधिएका प्रश्नमा रविले एक/एक गरेर जवाफ दिएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले रास्वपा सरकार परिवर्तन वा अस्थिरताको राजनीतिमा नरहेको स्पष्ट पार्दै आफू चुनावअघिको सहमतिमा अडिग रहेको बताए ।
भारत भ्रमणका क्रममा आफूलाई दिइएको विशेष सम्मानपछि राजनीतिक वृत्तमा प्रधानमन्त्री बन्ने तयारी भइरहेको चर्चा चलेको प्रसंगमा उनले भने, ‘चुनावअघि हामीले गरेको कागज एकपटक पढिदिन अनुरोध गर्छु । हामी अस्थिरताको पक्षमा छैनौं, स्थिरताको पक्षमा छौं । नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हुन् ।’

उनले रास्वपाले जनतासँग बोलेर र लिखित रूपमा गरेका प्रतिबद्धता नबिर्सिएको उल्लेख गर्दै ती वाचाप्रति पार्टी प्रतिबद्ध रहेको बताए । प्रतिपक्षी दलहरूले उठाएका आशंका र प्रश्नलाई भने उनले स्वाभाविक राजनीतिक दृष्टिकोणका रूपमा व्याख्या गरे ।
‘प्रतिपक्षले गरेका प्रश्न र आशंकाहरूको आफ्नो धारणा होला, कारण होला । हामीले प्रतिपक्षले उठाएका कुरा सुनेका छौं । सधैंभरि किचलोको वातावरण गर्नु हुँदैन’, उनले भने, ‘जे सुधार्नुपर्ने छ, सुधार्दै लिएर जानेछौं । जे कुरामा ध्यानाकर्षण गराइएको छ, त्यसमा सचेत हुनुपर्नेछ र हामी सचेत भएका छौं ।’
भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीसँग भेट हुँदा नेपाल–भारत सीमा विवादको विषय किन नउठाइएको भन्ने प्रश्नमा लामिछानेले कूटनीतिक विषय सार्वजनिक प्रदर्शनको विषय नभएको बताए ।
उनले सीमा विवादजस्ता संवेदनशील मुद्दा चरणबद्ध र कूटनीतिक माध्यमबाट उठाउनुपर्ने धारणा राखे।
‘कुनै पनि विषय कूटनीतिको माध्यमबाट गरिनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ । त्यो हल्ला गरेर, ढोल बजाएर हुँदैन’, उनले भने, ‘गर्नुपर्ने ठाउँमा गर्नुपर्ने जसरी चरणबद्ध रूपमा हुन्छ ।’
लामिछानेले पत्रकारिता र राजनीतिक नेतृत्वको भूमिका फरक हुने पनि उल्लेख गरे ।

‘पत्रकारका रूपमा उठाउने विषय र जनताको सबैभन्दा धेरै मत पाएको पार्टीले उठाउने कुरा एकै हुँदैन । कुनै पनि कुराको एउटा चरण हुन्छ’, उनले भने ।
उनको यो अभिव्यक्ति प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर मुलुकभित्र तीव्र राजनीतिक विवाद चलिरहेका बेला आएको हो ।
भारत भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिए ।
‘मैले यही भ्रमणमा भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरेको छु’, उनले भने । निमन्त्रणाप्रति दुवै नेताको प्रतिक्रिया सकारात्मक रहेको उनको दाबी छ ।
‘दुवै जना सकारात्मक हुनुहुन्छ । हेरौं, समयले कहिले जुराउँछ । दुवैतिरको समय जुरेपछि हुन्छ’, उनले भने ।
रास्वपाको नेतृत्वमा सरकार बनेपछि पार्टी प्रमुखका रूपमा लामिछानेको यो पहिलो भारत भ्रमण हो । भ्रमणका क्रममा उनले भारतीय राजनीतिक नेतृत्वसँगको सम्बन्धलाई संस्थागत बनाउन खोजेको संकेत पनि दिएका छन् ।

भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी मुख्यालयमा आफूलाई गरिएको स्वागतलाई लिएर नेपालमा विभिन्न टिप्पणी भइरहेका बेला लामिछानेले त्यसलाई व्यक्तिगत सम्मानका रूपमा नलिन आग्रह गरेका छन् ।
उनले आफू र आफ्नो टोलीलाई गरिएको सत्कार वास्तवमा नेपाल र नेपालीप्रतिको सम्मान भएको दाबी गरे।
‘एउटा अतिथिलाई कसरी सत्कार गर्ने, कुन अतिथिलाई कसरी सत्कार गर्ने भन्ने बोलाउने पक्षले निर्णय गर्ने कुरा हो’, उनले भने, ‘भारतीय जनता पार्टीको मुख्यालयमा गरिएको स्वागतलाई अत्यन्त प्रेमपूर्वक गरियो भनिएको छ । त्यो मेरो व्यक्तिगत, मेरो पार्टीको अथवा मेरो भ्रमण दलमा भएका साथीहरूको लागि होइन । हामीलाई गरिएको स्वागत मुलुकका लागि हो, नेपाल र नेपालीका लागि हो ।’
भारतीय जनता पार्टीको निमन्त्रणामा जेठ १८ गते भारत प्रस्थान गरेका लामिछानेको भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी थिए ।