२४ जेठ २०८३, आइतबार
विश्वकप फुटबल शृंखला- २५

२०औँ फिफा विश्वकप : ‘माराकाना’को महासंग्राम, स्वारेजको चर्तिकला र जर्मनीको ऐतिहासिक यात्रा

जेठ २२, २०८३
काठमाडौं
२०औँ फिफा विश्वकप : ‘माराकाना’को महासंग्राम, स्वारेजको चर्तिकला र जर्मनीको ऐतिहासिक यात्रा

फुटबल महाकुम्भको २०औँ संस्करण सन् २०१४ को जुन १२ देखि जुलाई १३ तारिखसम्म दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा आयोजना भयो । ३२ टोलीको सहभागिता रहेको यो विश्वकपका खेलहरू विभिन्न १२ शहरका रंगशालामा खेलाइयो ।

६४ वर्षपछि फुटबलको मक्का मानिने ब्राजिलमा फर्किएको यो महाकुम्भले मैदानभित्र रोमाञ्चक कीर्तिमान र प्रविधिको नौलो प्रयोगमात्र गरेन, केही तीता विवाद र ऐतिहासिक उपलब्धिको कथा पनि जन्माएको थियो ।

एकमात्र टोलीको ‘डेब्यू’

विश्वकपको यो संस्करणमा एसियाबाट अस्ट्रेलिया, इरान, जापान र दक्षिण कोरिया सहभागी थिए । अफ्रिकाको प्रतिनिधित्व अल्जेरिया, क्यामरुन, घाना, आइभरी कोस्ट र नाइजेरियाले गरेका थिए । ओसेनिया क्षेत्रबाट भने कुनै पनि टोली सहभागी थिएनन् ।

उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट कोस्टा रिका, होन्डुरस, मेक्सिको र अमेरिकाले भाग लिएका थिए । दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, चिली, कोलम्बिया, इक्वेडर र उरुग्वेको सहभागिता रहेको थियो ।

युरोपको प्रतिनिधित्व बेल्जियम, बोस्निया एन्ड हर्जगोभिना, क्रोएसिया, इङ्ल्यान्ड, फ्रान्स, जर्मनी, ग्रिस, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल, रुस, स्पेन र स्विट्जरल्यान्डले गरेका थिए । यो विश्वकपमा ‘डेब्यू’ गर्ने एकमात्र टोली थियो, बोस्निया एन्ड हर्जगोभिना ।

कोलम्बियाले फिर्ता लिएपछि ब्राजिल निर्विरोध

सन् २००३ को मार्चमा फिफाले ३६ वर्षपछि पहिलो पटक दक्षिण अमेरिकामा विश्वकप आयोजना गर्ने घोषणा गर्‍यो ।

null

 

विभिन्न महादेशमा क्रमैसँग विश्वकप आयोजना गर्ने फिफाको नीति अनुरूप नै यसपटक फुटबलको महाकुम्भ ब्राजिलमा पुगेको थियो ।

यो विश्वकप आयोजनाका लागि ब्राजिल र कोलम्बियाले मात्र औपचारिक रूपमा आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए ।

तर, अन्तिम समयमा आएर कोलम्बियाले आफ्नो दाबी फिर्ता लिएपछि सन् २००७ को अक्टोबर ३० तारिखमा ब्राजिल निर्विरोध आयोजक राष्ट्रको रूपमा निर्वाचित भएको थियो ।

विवाद, अन्योल र दु:खद घटना

मैदानभित्र खेलको रौनक जति थियो, मैदानबाहिर यो विश्वकप उत्तिकै विवादमा घेरिएको थियो । प्रतियोगिताको तयारीका क्रममा भएका पूर्वाधार निर्माणमा आठजना मजदुरको ज्यान गयो ।

बेलो होरिजोन्टेमा ओभरपास भत्किँदा दुईजनाको मृत्यु हुनुले पनि आयोजनाको सुरक्षामाथि प्रश्न उठाएको थियो ।

यसैगरी, लुइस स्वारेजले इटालीका जर्जियो चिलिनीलाई टोकेको घटनाले खेलाडीको अनुशासनमाथि पनि गम्भीर प्रश्न उब्जायो ।

मैदानमा खेलाडीको टाउकोमा गम्भीर चोट लाग्दासमेत उपचारका क्रममा देखिएको हेलचेक्राइँका कारण फिफाले निकै आलोचना खेप्नु पर्‍यो ।

जब प्रविधिले मैदान बदल्यो

सन् २०१४ को संस्करण फुटबल इतिहासमा प्राविधिक क्रान्तिको शुरूआत पनि थियो । यो विश्वकपमा पहिलो पटक ‘गोल–लाइन टेक्नोलोजी’को प्रयोग गरियो ।

null

यो प्रविधिले ‘घोस्ट गोल’ अर्थात्, गोल भए–नभएको विवादलाई सधैंका लागि अन्त्य गरिदियो । ‘गोल–लाइन टेक्नोलोजी’लाई हालसम्म पनि विश्व फुटबलको महत्वपूर्ण उपलब्धि मानिन्छ ।

यसैगरी, यो विश्वकपमा फ्रिकिक लिँदा खेलाडीको दूरी कायम राख्न प्रयोग गरिएको ‘भ्यानिसिङ स्प्रे’ निकै लोकप्रिय बन्यो ।

ब्राजिलको चर्को गर्मीलाई ध्यानमा राखी पहिलो पटक ‘कुलिङ ब्रेक’ को अभ्यास पनि यही संस्करणबाट शुरू भएको थियो ।

अल्जेरियाको वीरता र जामोरानोको जोस

विश्वकपको शुरूआतसँगै ‘एभेनिडा एट्लान्टिका’ (रियोको समुद्री किनारा) विश्वभरका समर्थकको साझा घर बन्यो । अफ्रिकी राष्ट्र अल्जेरियाले यो विश्वकपमा आफ्नो महाद्वीपको झण्डालाई उच्च राख्यो ।

पहिलो पटक नकआउट चरणमा पुगेको अल्जेरियाले जर्मनीजस्तो निकै बलियो टोलीलाई अतिरिक्त समयसम्म पसिना छुटाएको थियो ।

हारपछि मैदानमा आँसु झार्दै निस्किएका आफ्ना नायक स्वदेश फिर्ता हुँदा ‘थ्याङ्क यू हिरोज’ भन्दै देशले भव्य स्वागत गरेको थियो ।

उता, चिलीका महान खेलाडी इभान जामोरानोले टेलिभिजन पण्डितका रूपमा काम गर्दा आफ्नो टोलीको खेलमा देखाएको ‘जिवन्त भाषा’ र उत्साहले दर्शकलाई बाँधिराख्यो ।

‘बाम–बाम’ उपनामले चिनिने जामोरानोले त्यो विश्वकपको चिली टोलीलाई एउटा नयाँ पुस्ताको शुरूआतकर्ताका रूपमा चित्रण गरेका थिए ।

स्वारेजको त्यो विवादास्पद ‘टोकाइ’

नातालको एस्टाडियो दास डुनास रंगशालामा जे भयो, त्यो सायद विश्वकप इतिहासकै सबैभन्दा कुख्यात घटना थियो ।

null

इटलीका जर्जियो चिलिनीलाई टोकेपछि विश्व च्याम्पियन रहिसकेको उरुग्वेका स्टार खेलाडी लुइस स्वारेज निकै आलोचित बन्न पुगे ।

समूहगत चरणको अन्तिम खेल इटाली र उरुग्वेबीच परेको थियो । अघिल्लो चरणमा पुग्न उरुग्वेले त्यो खेलमा इटालीलाई हराउनै पर्ने बाध्यता थियो ।

खेलको ७९औँ मिनेटसम्म स्कोर गोलरहित बराबरीमा थियो । अचानक, पेनाल्टी बक्सभित्र इटालीका डिफेन्डर जर्जियो चिलीनी र स्वारेजबीच घम्सा–घम्सी पर्‍यो ।

त्यही क्षणमा स्वारेजले इटालीका चिलीनीको काँधमा दाँतले टोके । यो दृश्यको कसैले कल्पनासमेत गरेको थिएन ।

अचम्मको कुरा त के भने, चिलीनीलाई टोकेपछि स्वारेज आफैँ मैदानमा लडेर आफ्नो मुख समाउँदै पीडा भएको अभिनय गर्न थाले ।

null

रेफ्रीले तत्कालै घटना देखेनन्, जबकि चिलीनीले आफ्नो जर्सी तानेर काँधमा बसेको दाँतको डाम देखाइरहेका थिए । त्यसको केही क्षणमै उरुग्वेले कर्नर प्रहारबाट गोल गर्‍यो ।

उरुग्वेका लागि त्यो गोल ८१औँ मिनेटमा डिएगो गोडिनले गरेका थिए । त्यसपछि थप गोल हुन सकेन र अन्तत: उरुग्वे अन्तिम १६ मा स्थान सुरक्षित गर्न सफल भयो ।

पटक–पटक विश्वकपको उपाधि चुमिसकेको इटाली भने हारसँगै समूहगत चरणबाटै बाहिरियो । उक्त समूहबाट कोस्टा रिका पहिलो र उरुग्वे दोस्रो हुँदै अघिल्लो चरणमा पुगेका थिए ।

मैदानमा रेफ्रीको निर्णयदेखि लिएर खेलाडीको अनुशासनसम्मका विवादहरू यो विश्वकपमा पर्याप्त देखिए । तर, ती सबै विवादबीच फुटबलको जादू भने कम भएन ।

स्टार खेलाडीहरूको जादु र बाराक ओबामाको फोन

विश्वकपमा स्टार खेलाडीहरूको बाहुल्य थियो । लियोनल मेसी आफ्नो टोली अर्जेन्टिनाका लागि ‘मरुभूमिका पानी’झैँ बने ।

उनले समूहगत चरणमा लगातार गोल गर्दै टोलीलाई अघि बढाए । कोलम्बियाका जेम्स रोड्रिगेजले ६ गोल गर्दै ‘गोल्डेन बुट’ जिते । उनी २२ वर्षको उमेरमै विश्व फुटबलको चर्चाको केन्द्र बने ।

अमेरिकी गोलरक्षक टिम होवार्डको ‘वाल अफ स्टिल’ प्रदर्शन पनि ठुलै चर्चाको विषय बन्यो । उनले बेल्जियमविरुद्ध १५ वटा बचाउ गर्दै विश्व कीर्तिमान बनाए ।

त्यो क्षण अहिले पनि कसैले भुल्न सक्दैन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले समेत फोन गरेर उनको प्रशंसा गरेका थिए ।

‘टिकी–टाका’ युगको अन्त्य

सन् १९५० को पीडा बिर्सिन खोजेको ब्राजिलका लागि सन् २०१४ को सेमिफाइनलको ७–१ गोलको हार एउटा भयानक सपनाजस्तै बन्यो ।

जर्मनीविरुद्धको त्यो हार ब्राजिलियन फुटबल इतिहासकै सबैभन्दा अँध्यारो अध्यायका रूपमा दार्ता भयो ।

अर्कोतिर, साबिक विजेता स्पेनको समूहगत चरणबाटै बाहिरिएको नतिजाले फुटबलमा ‘टिकी–टाका’ युगको अन्त्य र नयाँ युगको शुरूआत भएको संकेत दियो । 

जर्मनीको ऐतिहासिक जित

सन् २०१४ को जुलाई १३ तारिख । ब्राजिलको माराकाना रंगशाला । विश्वभरका फुटबलप्रेमीको आँखा त्यही एउटा मैदानमा केन्द्रित थियो, जहाँ जर्मनी र अर्जेन्टिनाबीचको फाइनलले विश्वकपको नयाँ विजेता घोषणा गर्ने तयारीमा थियो ।

यो विश्वकप जर्मनीका लागि चिरस्मरणीय बन्यो । मारियो गोट्जेले ११३औँ मिनेटमा गरेको निर्णायक ‘हाफ–भली’ गोलले एकातिर, अर्जेन्टिनाको सपना चकनाचुर पार्‍यो भने अर्कोतिर, जर्मनीलाई चौथो पटक विश्व विजेता बनायो ।

null

सन् १९९० मा पश्चिम जर्मनीका रूपमा अर्जेन्टिनालाई नै हराएर उपाधि जितेको जर्मनीले फेरि त्यही इतिहास दोहोर्‍यायो । योसँगै जर्मनी अमेरिकाज (उत्तर र दक्षिण अमेरिका) महादेशमा विश्वकप जित्ने पहिलो युरोपेली राष्ट्र पनि बन्यो ।

जर्मनीको यो सफलता इटाली (सन् २००६) र स्पेन (सन् २०१०) पछिको यो लगातार तेस्रो पटक युरोपेली टोलीको जित थियो, जसले फुटबलमा युरोपको दबदबालाई थप बलियो बनायो ।

रेफ्रीलाई अचम्मको प्रश्न, ‘के यो साँच्चै फाइनल हो ?’

फाइनल खेलको पहिलो हाफ चलिरहँदा जर्मन मिडफिल्डर क्रिस्टोफ क्रेमरले रेफ्री निकोला रिजोलीको नजिक पुगेर सोधे, ‘के यो साँच्चै फाइनल हो ? माफ गर्नुहोला, मैले जान्नै पर्ने भयो ।’

यो सुनेर रेफ्री अलमलमा परे । तर, यो कुनै मजाक थिएन । एजेक्वेल गाराइको ट्याकलमा ठोक्किएपछि क्रेमरलाई ‘ब्ल्याक–आउट’ अर्थात्, अस्थायी स्मृति लोप भएको थियो ।

पछि क्रेमरले भने, ‘मलाई १७औँ मिनेटसम्मको र दोस्रो हाफपछिको मात्र याद छ ।’ जे होस्, उनी पूर्णरूपमा निको भए र जितको खुसीयाली मनाउन पनि पछि हटेनन् ।

मेसीभन्दा राम्रो गरेर देखाऊ’

जर्मनीका प्रशिक्षक जोचिम लोले म्याचको ३२औँ मिनेटमै क्रेमरलाई निकालेका थिए । त्यसपछि उनले अर्को परिवर्तन गर्न अन्तिम समयसम्म संघर्ष गर्नुपर्‍यो । खेलको अन्त्यतिर उनले मिरोस्लाभ क्लोसको स्थानमा मारियो गोट्जेलाई मैदानमा पठाए ।

मैदानमा पठाउनुअघि लोले गोट्जेको कानमा एक शक्तिशाली सन्देश फुकेका थिए: ‘यो तिम्रै मौका हो, संसारलाई देखाऊ कि तिमी मेसीभन्दा कम छैनौँ । जाउ, मैदानमा केही गरेर देखाऊ र हाम्रा लागि यो खेल जिताएर देखाउ ।’ इतिहास साक्षी छ, गोट्जेले त्यही गरेर देखाए पनि ।

गोल नगर्दाको आनन्द !

सामान्यत: कुनै पनि खेलाडी गोल गर्न चाहन्छ । तर, बेनेडिक्ट होवेड्सको सोच अलि फरक थियो । फाइनलको पहिलो हाफमा उनको हेडर पोस्टमा लागेर फर्कियो ।

पछि उनले अनौठो प्रतिक्रिया दिँदै भने, ‘म खुसी छु कि मैले गोल गरिनँ । त्यो विश्वकपको हिरो बन्नु मलाई कताकता अप्ठ्यारो लाग्थ्यो, मलाई थाहा छैन मैले त्यसलाई कसरी सम्हाल्ने थिएँ ।’

जब मैदानमा देखियो ‘पाटाक्सो’ नृत्य

जर्मनी दक्षिण अमेरिकामा विश्वकप जित्ने पहिलो युरोपेली राष्ट्र बन्यो । उपाधि जितेपछि खेलाडीले ब्राजिलको आदिवासी ‘पाटाक्सो’ समुदायबाट सिकेको ‘खुसीको नृत्य’ प्रदर्शन गर्न खोजे ।

null

ट्रफीलाई बीचमा राखेर खेलाडीले गोलाकारमा नाचे । यद्यपि, ताल मिलेको थिएन तर, स्थानीय ‘पाटाक्सो’ नेता जेका पाटाक्सोले भने, ‘हामी उनीहरूको त्यो भावबाट निकै प्रभावित भयौँ ।’

माराकानाको त्यो रातले केवल एउटा च्याम्पियन जन्माएन, बरु फुटबल इतिहासका यस्ता थुप्रै मानवीय पक्षहरू छोडेर गयो, जसले आज १० वर्षपछि पनि समर्थकलाई मुस्कुराउन बाध्य बनाउँछ ।

सम्रगमा, ब्राजिल विश्वकपले विश्वलाई देखायो कि फुटबलमा गरिबीबीच पनि कति धेरै खुसी खोज्न सकिन्छ । सडकका गल्लीहरूमा, समुद्र किनारमा वा वर्षाले बाटो डुबेको बेलामा पनि फुटबलप्रति समर्थकहरूको जुन समर्पण देखियो, त्यसले खेलको वास्तविक शक्ति पुष्टि गर्‍यो ।

यो विश्वकपले खेलप्रेमीलाई खुसी, आँसु, ऐतिहासिक गोल र नयाँ प्रविधिको अनुपम मिश्रण पनि पस्कियो । रियोको रंशालादेखि विश्वका कुनाकाप्चासम्म गुञ्जिएको ‘वी आर वन (ओले ओला)’ गीतको धुन विश्वकपको इतिहासमा सधैं स्वर्णिम अक्षरले कुँदिएर रहनेछ ।

आज १० वर्षपछि पनि ती रंगीन क्षणहरू, नेमारको चोट, मेसीको संघर्ष र जर्मनीको त्यो विजययात्राले फुटबलप्रेमीको मनमा त्यति नै ताजा अनुभव दिन्छ, जति त्यो दिन थियो ।

null

२०औँ विश्वकपसँग जोडिएका केही रोचक कथा :     

० रेफ्रीको स्प्रे : पहिलो पटक मैदानमा प्रयोग गरिएको त्यो सेतो ‘सेभिङ फोम’ अर्थात्, फ्री–किकको दूरी नाप्न प्रयोग गरिने प्रविधि निकै प्रभावकारी साबित भयो ।

० कुलिङ ब्रेक : अत्यधिक गर्मीका कारण खेलको बीचमा पहिलो पटक ‘कुलिङ ब्रेक’को अभ्यास शुरू गरियो । यो अभ्यासलाई डच प्रशिक्षक लुइस भान गालले रणनीतिक परिवर्तनका लागि उत्कृष्ट ढंगले सदूपयोगठ गरे ।

० नेमारको चोट : ब्राजिलका ‘पोस्टर ब्वाई’ नेमारको ढाडमा चोट लाग्दा सिङ्गो देश रोएको थियो । महत्वपूर्ण क्षणमा उनलाई गुमाउनु ब्राजिलका लागि सबैभन्दा ठूलो क्षति थियो ।

० अमेजनको गर्मी : मानाउस सहरको गर्मी र आद्रतामा खेल्नु खेलाडीका लागि निकै कठिन चुनौती थियो ।

० जब प्रशिक्षक हराए :निर्धारित समयको खेल सकिएपछि सबैजना खुसियाली मनाइरहँदा जर्मनीका प्रमुख प्रशिक्षक जोचिम लो भने एकान्त खोज्दै थिए । लामो समयको मानसिक तनावबाट गुज्रिएका लोले फाइनलको सिट्ठी बजेपछि सिधै शौचालयमा गएर ढोका थुने । उनले भने, ‘म पाँच मिनेट आफैंभित्र थुनिएँ र आफैलाई सोधिरहेँ, के यो साँच्चै सत्य हो ?’ केही समयपछि उनी बाहिर निस्किए र टोलीको उत्सवमा सहभागी भएका थिए ।

null

० जो मैदानमा थिएनन् तर, सधैं मैदानमै थिए :जर्मनीको जितमा एक खेलाडी जो मैदानमा त थिएनन् तर, टोलीको भावनामा सधैं उपस्थित थिए । उनी थिए, मार्को रोइस । विश्वकपअघिको अन्तिम मैत्रीपूर्ण खेलमा घाइते भएपछि उनको ब्राजिल जाने सपना चकनाचुर भएको थियो । तर, जर्मनीले उपाधि जित्दा मार्को रोइसको नाम अंकित जर्सी बोकेरै खेलाडीले फोटो खिचाएका थिए । टोलीको यही एकता नै जर्मनीको सफलताको मूल मन्त्र बनेको थियो ।

० ब्राजिलको पीडा र आश्चर्यजनक नतिजा :आयोजक ब्राजिलका लागि यो विश्वकप निकै कष्टकर रह्यो । सेमिफाइनलमा जर्मनीले ब्राजिललाई ७–१ गोलको लज्जास्पद हार चखाएर घरेलु दर्शकलाई स्तब्ध: बनायो । साविक विजेता स्पेन समूहगत चरणबाटै बाहिरिनु प्रतियोगिताको अर्को ठूलो आश्चर्य थियो ।

० पाकिस्तानमा निर्मित बल : ‘एडिस फावर्ट स्पोटर्स’द्वारा पाकिस्तानमा निर्मित ‘ब्रजुका’ बल यो विश्वकपको आधिकारिक म्याच बल थियो ।

null

० पूर्वविजेताहरूको अन्तिम संयोग :सन् २०२६ सम्मको तथ्याङ्क हेर्दा सन् २०१४ को संस्करण सबै पूर्व विजेता राष्ट्र (उरुग्वे, इटाली, जर्मनी, ब्राजिल, इङ्ल्यान्ड, अर्जेन्टिना, फ्रान्स र स्पेन) एकै पटक समावेश भएको अन्तिम विश्वकप थियो ।

विश्वकप फुटबलबारे यसअघिका शृ‌खला :

- १९औँ फिफा विश्वकप : अफ्रिकी धर्तीमा कोरिएको महागाथा : जहाँ स्पेनको ‘टिकी–टाका’ले इतिहास रच्यो

- जब जर्मनीले विश्वलाई ‘फ्यान फेस्ट’को जादु देखायो, समर्थकहरू ‘अन्डरवेयर’ मात्र लगाएर खेल हेर्न बाध्य भए

- ​१७औँ विश्वकप : एसियाली आकाशमा लेखिएको इतिहास- रोनाल्डोको 'चमत्कारी' पुनरागमन र केही रोचक तथ्यहरू

- जब विश्वकपले काचुली फेर्‍यो : रोनाल्डोको ‘रहस्यमय’ रात र जिदानको उदय

१५औं फिफा विश्वकप-१९९४ : त्यो ‘ब्लकबस्टर’ संस्करण, जसले फुटबलको परिभाषा नै बदल्यो

१४औँ फिफा विश्वकप : ‘डिफेन्सिभ’को दबदबा, रातो कार्डको वर्षा र विश्व फुटबलको बदलिएको ‘कथा’

५२ वर्ष लामो ‘फुटबल वनवास’को अन्त्य : कसरी बदलियो ‘अफ्रिकी लेपाडर्स’को भाग्य ?

​- १३औँ फिफा विश्वकप : म्याराडोनाको जादूसामू नतमस्तक विश्व, ‘ह्यान्ड अफ गड’देखि ‘गोल अफ द सेन्चुरी’सम्म

​- विवाद र रोमाञ्चकताले भरिएको १९८२ को विश्वकप- 'गिजोनको लज्जा'देखि इटालीको ऐतिहासिक उपाधिसम्म

- विश्व फुटबलमा मोरक्कोको ‘जादुमयी’ यात्रा : फेरि कतारको सफलता दोहोर्‍याउने दाउमा कीर्तिमानी ‘एटलास लायन्स’

-  ११औं फिफा विश्वकप- १९७८: ‘कन्फेटी’को वर्षाले सेताम्मे रंगशाला र अर्जेन्टिनाको पहिलो उपाधि

- १० औं फिफा विश्वकप-१९७४ : जब ‘टोटल फुटबल’को जादूमाथि हाबी भयो ‘जर्मन दृढता’

- उज्बेकिस्तानको फुटबल पुनर्जागरण : विमान दुर्घटनाको शोकदेखि विश्वकपसम्म ‘सेता ब्वाँसाहरू’को उडान

- नवौं फिफा विश्वकप– १९७० : त्यो ‘स्वर्णिम युग’ जसले फूटबल ‘कला’ र ब्राजिललाई ‘अमर’ बनायो

‘ब्लू सार्क’को एतिहासिक यात्रा : पाँच लाख जनसंख्या भएको टापुले कसरी पूरा गर्‍यो असम्भव सपना ?

- आठौं विश्वकप- १९६६: फूटबलको ‘जन्मभूमि’मा जब इतिहास रचियो

- कुराकाओको ऐतिहासिक विश्वकप यात्रा : डच प्रभाव, औपनिवेशिक विरासत र एउटा सानो टापुको ‘ब्लू वेभ’ क्रान्ति

- सातौं फिफा विश्वकप–१९६२ :  भूकम्प, ‘सान्टियागोको युद्ध’ र ब्राजिलको ऐतिहासिक उपाधि रक्षा

- छैटौं फिफा विश्वकप– १९५८: फूटबलको स्वर्णिम अध्याय, सर्वकालीन महान खेलाडी पेलेको उदय

- पाँचौं फिफा विश्वकप–१९५४: ‘ब्याटल अफ बर्न’, हंगेरीको ‘स्वर्ण युग’ र जर्मनीको उदयबीचको टकराव

​- द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो

- विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग

- दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम

- पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म

salt training

कमेन्ट गर्नुहोस्