
सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा हुने व्यवस्था लागू भएपछि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा आन्तरिक पर्यटकको आगमन बढेको छ । आज पनि चिडियाखानामा आगन्तुकको चहलपहल उल्लेखनीय रूपमा बढेको हो ।
चिडियाखाना प्रशासनका अनुसार अन्य दिनमा दैनिक करिब एक हजार ७०० देखि एक हजार ८०० जना आगन्तुक आउने गरेकामा शनिबार पाँच हजारदेखि सात हजार र आइतबार तीन हजार ५०० देखि पाँच हजार जनाले भ्रमण गर्ने गरेका छन् ।
चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार वार्षिक रूपमा करिब १० लाख आगन्तुकले चिडियाखाना भ्रमण गर्ने गरेका छन् । आइतबारको बिदाका कारण आगन्तुक सङ्ख्या थप बढ्ने र त्यससँगै आम्दानीमा पनि वृद्धि हुने अपेक्षा गरिएको उनले बताए ।
चिडियाखानाले बालबालिका र ज्येष्ठ नागरिकका लागि रु १००, विद्यार्थीका लागि रु १५० तथा अन्य आगन्तुकका लागि रु २५० प्रवेश शुल्क लिने गरेको छ ।
गत आर्थिक वर्षमा करिब रु १८ करोड आम्दानी गरेको चिडियाखानाले चालु आवमा करिब रु २१ करोडसम्म आम्दानी गर्ने अनुमान गरेको छ । सूचना अधिकारी कोइरालाका अनुसार चिडियाखाना परिसरमा प्रक्रियागत रूपमा सञ्चालन भएका बोटिङ, रेष्टुरेन्ट, चिल्ड्रेन पार्कलगायत गतिविधिले पनि आम्दानी बढाउन योगदान पु¥याएका छन् ।
चिडियाखानाका कार्यालय प्रमुख सत्यनारायण शाहले बिहान १०ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म टिकट काउन्टर खुला रहने बताउँदै बेलुकातिर आगन्तुकको सङ्ख्या अझ बढी हुने जानकारी दिए । उनका अनुसार चिडियाखानामा पूर्वाधार सुधारका काम पनि भएका छन् ।
आगन्तुकको सुविधाका लागि फल्चा निर्माण, प्रकाश व्यवस्थापन तथा अन्य संरचनागत सुधार गरिएकाले भ्रमण अनुभव थप सहज बनेको छ । चिडियाखानाको टिकट काउन्टर साँझ ६ः०० बजेसम्म हुनुका साथै साँझ ७ः०० बजेसम्म चिडियाखाना परिसर खुला रहने व्यवस्था गरिएकाले पनि आगन्तुकको आकर्षण बढ्दै गएको उनले बताए ।