
भारतले नेपालसँग रहेको सीमा विवाद समाधानका विषयमा कुनै तेस्रो पक्षको जरुरत नपर्ने बताएको छ ।
दुई देशबीचको सीमा विवाद आपसमा मिलाउन नेपाल र भारत सक्षम रहेकाले तेस्रो पक्षको जरुरत नपर्ने भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बताए ।
मंगलबार भएको साप्ताहिक मिडिया ब्रिफिङमा पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा जैसवालले नेपाल र भारतबीच ९८ प्रतिशत सीमा विवाद समाधान भइसकेको पनि जानकारी दिए ।
उनले बाँकी केही क्षेत्रमा सीमा विवाद रहेको सुनाए । खासगरी गण्डक नदीले धार परिवर्तन गर्दा यस्तो समस्या निम्तिएको उनको भनाइ छ । यसका साथै दशगजाका केही क्षेत्रमा समेत सानातिना समस्या रहेका जैसवालले सुनाए ।
‘केही भागमा केही विवाद छन्, त्यसलाई सुल्झाउन बाँकी छ । खासगरी गण्डक नदीको बहावमा परिवर्तन हुने कारण यो स्थिति उत्पन्न भएको हो । यसका अतिरिक्त दशगजामा अतिक्रमणको विषय पनि छ’, जैसवालले भने, ‘यसको संयुक्त रूपमा नाप नक्सा गरिएको छ । सीमा विवाद हल गर्न दुईपक्षीय (नेपाल-भारत) संयन्त्र बनाएका छौं । भारत र नेपालबीच जे जति दुईपक्षीय मामिला छन्, त्यसमा कुनै तेस्रो पक्षको भूमिका जरुरी छैन ।’
गत आइतबार नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्ति र त्यसपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिबारे जानकार रहेको उनले बताए ।
संसद्मा प्रधानमन्त्री बालेनले नेपाल-भारत सीमा विवाद समाधानका लागि भारतका अतिरिक्त बेलायतसँग पनि कुरा गरिरहेको बताएका थिए ।
उनले नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए । जुन अभिव्यक्ति अहिले चर्को आलोचनामा परेको छ ।
विपक्षी दलले यही विषयलाई लिएर संसद् अवरोध गरिरहेका छन् । संसद्को रेकर्डबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने, प्रधानमन्त्री बालेनले संसद्मा आएर माफी माग्नुपर्ने लगायतका विपक्षीका माग छन् ।
प्रधानमन्त्रीको यही अभिव्यक्तिका विरुद्ध विभिन्न राजनीतिक तथा नागरिक संघसंस्थाले विरोध प्रदर्शन समेत गरेका छन् ।