२३ जेठ २०८३, शनिबार
'हनीट्र्याप'

तुलसाको नानाथरी धन्दा– एकै व्यक्तिसँग साढे ४ करोड, अरूलाई फसाउँदा आफैं फन्दामा !

जेठ १७, २०८३
काठमाडौं

सामाजिक सञ्जालमा ‘तुलसा’ नामबाट परिचित टिकटकर तुल्सी अधिकारी अन्तत: प्रहरी नियन्त्रणमा आएकी छिन् । उनीविरुद्ध जिल्ला अदालत ललितपुरमा आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले अधिकारीसहित १० जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो ।

मुद्दा दर्ता गर्नुअघि नै चीन भागेकी अधिकारीविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड नोटिस जारी गरेको थियो । चीनबाट थाइल्यान्ड पुगेकी उनलाई इन्टरपोलकै सहयोगमा प्रहरीले नेपाल ल्याएको हो ।

सरकारी वकिल कार्यालयलयले अदालतमा दर्ता गरेको अभियोगपत्रमा एक अटोमोबाइल व्यवसायीलाई धम्की र दबाबमा पारेर करोडौं रुपैयाँ असुलेको आरोप लगाइएको छ ।

अभियोगपत्रअनुसार चिमोरिया थरका अटोमोबाइल व्यवसायी र अधिकारीबीच २०७५ सालदेखि चिनजान भएको थियो । व्यावसायिक सम्पर्कबाट शुरू भएको सम्बन्ध पछि व्यक्तिगत सम्बन्धमा विकसित भएको उल्लेख छ ।

चिमोरियाले दिएको जाहेरीमा अधिकारीले विभिन्न समयमा आफूलाई जबरजस्ती करणीको मुद्दा हालिदिने, परिवारमा सम्बन्धबारे जानकारी गराइदिने, सामाजिक सञ्जालमार्फत बदनाम गरिदिने तथा व्यवसायमा क्षति पुर्‍याइदिने धम्की दिँदै रकम माग्ने गरेको दाबी गरिएको छ ।

जाहेरी अनुसार चिमोरियाले विभिन्न चरणमा गरी अधिकारीलाई करिब ४ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएका थिए ।

फेन्सी पसल सञ्चालन, व्यापार विस्तार, विदेशबाट सामान आयात तथा अन्य विभिन्न प्रयोजनका नाममा रकम लिइएको आरोप अभियोगपत्रमा उल्लेख छ ।

अभियोगपत्रमा सातदोबाटो र इमाडोलमा पसल स्थापना गर्न रकम उपलब्ध गराइएको, धातु तथा स्टोन व्यवसाय सञ्चालनका लागि लाखौं रुपैयाँ दिइएको तथा भारत र चीनबाट सामान ल्याउने प्रयोजनमा थप रकम उपलब्ध गराइएको विवरण समावेश छ ।

त्यस्तै, सुनका गरगहना, मोबाइल फोन, स्कुटर, घरभाडा, विद्यालय शुल्क, अस्पताल खर्च तथा विदेश भ्रमणसम्बन्धी खर्चसमेत आफूले बेहोरेको चिमोरियाको दाबी छ ।

प्रहरी अनुसन्धानका क्रममा विभिन्न व्यक्तिहरूको बैंक खाता प्रयोग गरी रकम कारोबार गरिएको, नगद संकलनका लागि अन्य व्यक्तिहरू परिचालन गरिएको तथा सम्पत्तिको स्रोत लुकाउने प्रयास भएको आशंकामा अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

सोही आधारमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत आकर्षित भएको प्रहरीको निष्कर्ष छ ।

अनुसन्धानका क्रममा प्रहरीले तुलसा कलेक्सन प्रालिमा खानतलासी गरी विभिन्न प्रकारका गहना, स्टोन तथा व्यापारसँग सम्बन्धित सामग्री बरामद गरेको थियो ।

बैंक स्टेटमेन्ट, मोबाइल सन्देश, अडियो रेकर्ड तथा अन्य कागजात समेत प्रमाणका रूपमा संकलन गरिएको प्रहरीले उल्लेख गरेको छ ।

मुद्दामा प्रतिवादी बनाइएकी नेलिका लामिछानेले भने आफू कुनै गैरकानूनी आर्थिक कारोबारमा संलग्न नरहेको बयान दिएकी छन् । उनले आफ्नो खातामा आएको रकम घर मर्मत, कानूनी प्रक्रिया र अन्य व्यक्तिगत प्रयोजनसँग सम्बन्धित रहेको दाबी गरेकी छन् ।

अनुसन्धानका क्रममा अधिकारीले भारत र चीन गरी ५३ पटक विदेश भ्रमण गरेको तथा चीनमा ‘यिहु तुलसा इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी’ सञ्चालन गरेको विवरण पनि खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार अदालतमा अभियोगपत्र दर्ता भइसकेकाले सोमबार अधिकारीलाई अदालतमा उपस्थित गराइने छ ।

हेर्नुहोस्, भिडियो:

salt training

कमेन्ट गर्नुहोस्