
रूपन्देहीको बुटवल उपमहानगरपालिका ६ नेपालगञ्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा रूपन्देही बुटवल उपमहानगरपालिका ११ की ३६ वर्षीया गंगाकुमारी पूर्वछाने, कास्कीको पोखरा महानगरपालिका १ का किरणकृष्ण तिवारी (कृष्ण), कपिलवस्तुको वाणगंगा नगरपालिका १ का सञ्जय थारू, भक्तपुरको चाँगुनारायण नगरपालिका १ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखाको शैलुङ गाउँपालिका ४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारतको पश्चिम बंगाल, सिलिगुडी भक्तिनगर थाना घर भएका ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन् ।
घर तथा कोठा खानतलासीका क्रममा १ हजार दरका ६२२ थान अर्थात् ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नेपाली नोट, फोटोकपी मशिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागजको एक कार्टुन, लेमिनेसन मशिन, केमिकल, प्लास्टिक पेपर, नक्कली नोट कटिङ गर्ने मशिन, साथै ६ थान मोबाइलसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूमाथि मुद्रासम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान भइरहेको छ।