२५ जेठ २०८३, सोमबार
जिल्लाको सीमा नै करेक्सन !

२०२१ कै धारमा फर्किँदै मनोहरा- १०० रोपनी जग्गा काठमाडौंमा फिर्ता, यस्तो छ मास्टरप्लान

जेठ २०, २०८३
काठमाडौं

जहाँ हालसालै डोजर चलाएर वर्षौंदेखिको अव्यवस्थित बस्ती हटाइयो, ठीक त्यही भग्नावशेषको बीचबाट अब मनोहरा खोला सुसेल्दै बग्नेछ  । हो, काठमाडौं र भक्तपुरको सिमाना छुट्याउने मनोहरा खोला अब आफ्नो पुरानै ऐतिहासिक लयमा फर्किँदैछ ।

वालेन्द्र शाह नेतृत्वको संघीय सरकारको कडा कदमपछि खोला किनारमा फैलिएको बस्ती हटेसँगै, अहिले मनोहरालाई वि.सं. २०२१ सालको नापी नक्सामा उल्लेख भएअनुसारकै प्राकृतिक बहावमा फर्काउने कामले तीव्रता पाएको हो ।

मनोहरा जग्गा एकीकरण आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार अहिले नदीको कायापलट गर्ने काम धमाधम भइरहेको छ ।

कूल डेढ किलोमिटर (१.५ किमि) लामो यस मनोहरा खोला क्षेत्रमध्ये ५७५ मिटरलाई यसअघि नै पुरानै स्वरूपमा फर्काइसकिएको थियो ।

तर, बाँकी क्षेत्रमा बाक्लो अव्यवस्थित बस्ती बसेका कारण लामो समयदेखि काम अघि बढ्न सकेको थिएन ।

अहिले अवरोध हटेसँगै, पहिलो चरणअन्तर्गत करिब ३०० मिटर क्षेत्रमा खोलाको बहाव परिवर्तन गरी पुरानै मार्गमा फर्काउने काम युद्धस्तरमा भइरहेको छ ।

आयोजना प्रमुख निर्मलराज बरालका अनुसार, अब खोला ठीक त्यहीँबाट बग्नेछ, जहाँ केही दिन अघिसम्म सुकुम्बासी बस्ती थियो र भर्खरै डोजर लगाइएको छ ।

आखिर कस्तो बन्नेछ त अबको मनोहरा कोरिडोर? योजना निकै लोभलाग्दो छ ।

खोलाको चौडाइ ३० मिटर कायम गरिनेछ । नदीको दुवै किनारमा वातावरण संरक्षण र सौन्दर्यका लागि ९–९ मिटर चौडा आकर्षक हरियाली क्षेत्र (ग्रिनबेल्ट) निर्माण हुनेछ । र, त्यो ग्रिनबेल्टको बाहिरपट्टि दुवैतर्फ ११–११ मिटर चौडा फराकिला सडकहरू बन्नेछन् ।

तर, यो केवल खोलाको स्वरूप परिवर्तनको मात्र कथा होइन, यो काठमाडौंको गुमेको भूगोल फर्किने कथा पनि हो ।

विगतमा नदीले आफ्नो धार परिवर्तन गर्दा काठमाडौंमा दर्ता कायम रहेका कैयौं जग्गाहरू भक्तपुरतर्फ पुगेका थिए । खोला आफ्नै पुरानो बाटोमा फर्किएसँगै, प्रारम्भिक तथ्यांकअनुसार करिब १०० रोपनी जग्गा अब फेरि काठमाडौंतर्फ नै फर्किनेछ । त्यसैगरी, नदीको बहाव परिवर्तनले भक्तपुरतिर पुगेको काठमाडौंको करिब १४ रोपनी जग्गाको पनि व्यवस्थापन प्रक्रिया शुरू भइसकेको छ ।

यसका लागि जग्गा एकीकरण तथा व्यवस्थापनको काम तीव्रताका साथ अघि बढेको आयोजनाले जनाएको छ ।

यतिबेला संघीय सरकार, काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिकाबीचको गज्जबको तालमेलका कारण काममा कुनै अवरोध छैन ।

तर, एउटा ठूलो चुनौती भने बाँकी नै छ– अव्यवस्थित बस्ती भत्काउँदा निस्किएको भग्नावशेषको व्यवस्थापन ।

यी भग्नावशेषलाई तोकिएको स्थानमा व्यवस्थापन गरेलगत्तै बाँकी क्षेत्रमा नदीको बहाव फर्काउने कामले पूर्णता पाउनेछ ।

बाँकी काम सम्पन्न गर्न करिब ४६ करोड रूपैयाँ लाग्ने विस्तृत सर्वेक्षणले देखाएको छ । चालु आर्थिक वर्ष सकिनै लागेकाले आगामी वर्षको बजेटमा यसलाई समावेश गरी निर्माणलाई निरन्तरता दिने तयारी छ ।

आयोजना प्रमुख बराल भन्छन्, ‘बजेट सुनिश्चित भएर अहिलेकै गतिमा काम अगाडि बढ्ने हो भने, ढिलोमा दुई वर्षभित्र यो सम्पूर्ण आयोजना सम्पन्न हुनेछ ।’

नदीलाई पुरानै बहावमा फर्काउने, सुन्दर हरियाली विकास गर्ने र व्यवस्थित सडक सञ्जाल जोड्ने यो योजना सम्पन्न भएपछि, मनोहरा क्षेत्रले काठमाडौं उपत्यकाकै नदी संरक्षण र आधुनिक सहरी विकासको एउटा उत्कृष्ट नमुना प्रस्तुत गर्नेछ ।

भिडियो सामग्री :


 

salt training

कमेन्ट गर्नुहोस्