
नेपाली टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले सोमबार टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १५औँ अर्धशतक बनाएका छन् ।
कुशलले सिंगापुरमा जारी एसियाली खेलकुदको छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा हङ्कङविरुद्ध ५३ रन बनाउँदै आफ्नो अर्धशतकको संख्या १५ पुर्याएका हुन् । उनी अझै अपराजित छन् ।
प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका २९ वर्षीय कुशलले केवल ३३ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काए ।
उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीनवटा शतक पनि बनाएका छन् । जारी छनोट प्रतियोगितामै उनले दुईवटा शतक बनाएका हुन् ।
कुशलले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अर्धशतकको संख्या २४ पुगेको छ । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि दुई शतक र नौवटा अर्धशतक बनाएका छन् ।
फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको हङ्कङले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८८ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ८.३ ओभरमा एक विकेट गुमाएर ८१ रन बनाएको छ । ओपनर आसिफ शेख पहिलो बलमै पेभेलियन फर्किए भने रोहित पौडेल २३ रन बनाउँदै क्रिजमा छन् ।