२२ असार २०८३, सोमबार
फिफा विश्वकप-२०२६

चेक गणतन्त्रलाई एसियाली ‘पावर हाउस’ दक्षिण कोरियाको चुनौती, सुखद शुरूआतको लक्ष्य

जेठ २८, २०८३
काठमाडौं
चेक गणतन्त्रलाई एसियाली ‘पावर हाउस’ दक्षिण कोरियाको चुनौती, सुखद शुरूआतको लक्ष्य

फिफा विश्वकप–२०२६ को दोस्रो खेल शुक्रबार बिहान एसियाली ‘पावर हाउस’ दक्षिण कोरिया र चेक गणतन्त्रबीच खेलिँदैछ ।

समूह ‘ए’अन्तर्गतको यो महत्त्वपूर्ण खेल मेक्सिकोको जापोपानस्थित ‘एस्टाडियो ग्वाडलजारामा नेपाली समयअनुसार बिहान ०७:४५ बजे शुरू हुनेछ ।

पछिल्लो फिफा वरीयताको २५ औं स्थानमा रहेको दक्षिण कोरिया एसियाको सबैभन्दा सफल विश्वकप टोली हो ।

सन् २०२२ को विश्वकपमा अन्तिम–१६ सम्मको यात्रा तय गरेको कोरियाली टोली यसपटक पनि उच्च लयमा छ । टोलीमा सन ह्युङ–मिन, ली काङ–इन र किम मिन–जाएजस्ता स्टार खेलाडी छन् ।

हाल लस एन्जलस एफसीमा आबद्ध रहेका ३३ वर्षीय कप्तान सन ह्युङ–मिन आफ्नो चौथो विश्वकप खेल्ने तयारीमा छन् ।

सम्भवत: यो उनको अन्तिम विश्वकप हुनसक्छ । त्यसैले कोरियाली समर्थकहरूले उनीबाट उत्कृष्ट प्रदर्शनको आशा गरेका छन् ।

यसैगरी, सन् २०२२ मा पोर्चुगलविरुद्ध निर्णायक गोल गरेका ह्वाङ ही–चान पनि टोलीका लागि अर्को मुख्य हतियार हुन् ।

प्रशिक्षक होङ म्युङ–बोको प्रशिक्षणमा रहेको दक्षिण कोरिया समूह ‘ए’मा छ । यो समूहमा चेक गणतन्त्रका अतिरिक्त दक्षिण अफ्रिका र आयोजक मेक्सिको पनि छन् ।

पढ्नुहोस् यो पनि- उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै, १६ वर्षपछि दोहोरिँदै इतिहास

यसैगरी, दुईपटकको उपविजेता (चेकोस्लोभाकियाको नाममा सन् १९३४ र सन् १९६२ मा) चेक गणतन्त्र २० वर्ष लामो पर्खाइपछि विश्वकपमा फर्किएको हो ।

पछिल्लो समय केही कठिन मोडबाट गुज्रिएको चेक गणतन्त्र सन् २०२५ को डिसेम्बरमा मिरोस्लाभ कोबेकलाई प्रशिक्षक नियुक्त गरेपछि लयमा फर्किएको हो ।

चेक गणतन्त्र पछिल्लो फिफा वरीयताको ४० औं स्थानमा छ । यो टोली कठिन युरोपेली क्षेत्रको छनोट चरण पार गर्दै विश्वकपको अन्तिम चरणमा पुगेको हो ।

टोलीमा बायर लेभरकुसेनका स्ट्राइकर तथा युरो–२०२० का संयुक्त शीर्ष गोलकर्ता प्याट्रिक शिक, एडम ह्लोजेक र थोमस सौसेकजस्ता अनुभवी खेलाडी छन् ।

चेक गणतन्त्रले आफ्ना करिब दुई मिटर अग्ला स्ट्राइकर थोमस चोरीको माध्यमबाट कोरियाली डिफेन्समा शारीरिक दबाब सिर्जना गर्ने रणनीति बनाएको छ ।

यी दुई टोलीबीच विश्वकपमा पहिलो पटक भिडन्त हुन लागेको हो । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भने यी दुई टोली यसअघि तीनपटक आमने–सामने भएका छन् ।

त्यसमध्ये दुवै टोलीले एक–एक खेल जितेका छन् । एक खेल भने बराबरीमा सकिएको छ । सन् २०१६ मा प्रागमा भएको अन्तिम मैत्रीपूर्ण खेलमा दक्षिण कोरिया २–१ गोलले विजयी भएको थियो ।

हालको ‘फर्म’ हेर्ने हो भने, चेक गणतन्त्र पछिल्ला पाँचवटै खेलमा विजयी हुँदै उच्च मनोबलका साथ मैदान ओर्लने छ । 

दक्षिण कोरियाको पछिल्लो नतिजा भने मिश्रित छ । दक्षिण कोरियाका लागि युवा विंगर बाए जुन–होको चोट चिन्ताको विषय बनेको छ । यद्यपि, चोटबाट मुक्त भएका ली ताए–सेक टोलीमा फर्किएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्