२२ असार २०८३, सोमबार
एपीएफ स्कूलमा घोटाला

सशस्त्रको विद्यालयबाट ११ करोड अपचलन प्रकरण : इन्स्पेक्टरसहित दुई पक्राउ

असार २१, २०८३
काठमाडौं
सशस्त्रको विद्यालयबाट ११ करोड अपचलन प्रकरण : इन्स्पेक्टरसहित दुई पक्राउ

सशस्त्र प्रहरी बलले सञ्चालन गर्दै आएको कीर्तिपुरस्थित विद्यालयको करिब ११ करोड रूपैयाँ अपचलन प्रकरणमा लेखा अधिकृत रहेकी इन्स्पेक्टर कल्पना गुरुङ र उनका निकटस्थ लीला लामा पक्राउ परेका छन् । 

सशस्त्र प्रहरीको आन्तरिक छानबिन प्रतिवेदनका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले सशस्त्र प्रहरीकै पत्रका आधारमा दुवै जनालाई पक्राउ गरी अनुसन्धान शुरू गरिएको लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार विद्यालयको रकम हिनामिनासम्बन्धी विषयमा विस्तृत अनुसन्धान भइरहेको छ । यस प्रकरणमा आपराधिक लाभसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) युवराज अर्यालको नेतृत्वमा गठन गरेको छानबिन समितिले इन्स्पेक्टर गुरुङले गैरकानूनी रूपमा विद्यालयको रकम अपचलन गरेको निष्कर्ष निकालेसँगै गुरुङ र लामालाई पक्राउ गर्ने बाटो खुलेको हो । 

समितिले सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन अध्ययनपछि कानूनी कारबाहीका लागि प्रहरीलाई पत्राचार गरिएको थियो ।

छानबिनका क्रममा इन्स्पेक्टर गुरुङले विद्यालयको रकम आफ्ना निकटस्थ लीला लामाको खातामा पटक–पटक ट्रान्सफर गराएको तथ्य खुलेको छ । लाजिम्पाटमा रेस्टुरेन्ट र ट्राभल एजेन्सी सञ्चालन गर्दै आएका लामाले उक्त रकम आफ्नै व्यवसायमा लगानी गरेका थिए । केही समयपछि रकम फिर्ता गर्ने आश्वासन दिए पनि व्यवसायमा घाटा लागेपछि रकम फिर्ता गर्न नसकेको र छानबिनका क्रममा दुवैले रकम अपचलन गरेको स्वीकार गरेका छन् ।

प्रहरीका अनुसार लामा यसअघि डकैती र लागूऔषधसम्बन्धी मुद्दामा समेत पक्राउ परिसकेका व्यक्ति हुन् । प्रारम्भिक अनुसन्धानले इन्स्पेक्टर गुरुङले तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको कार्यकालमा विद्यालयमा लेखापालको जिम्मेवारी सम्हालेकी थिइन् । त्यसयता उनी लगातार ६ वर्षसम्म लेखापाल रहँदै आएकी थिइन् । यति ठूलो रकम गुरुङ एक्लैले अपचलन गर्न सम्भव नरहेको आशंका गरिएको छ ।

यस प्रकरणमा विद्यालयका तत्कालीन कमान्डेन्ट दिग्विजय सुवेदी, भूपेन्द्र केसी र रामजंग पाण्डेको भूमिकामाथि पनि प्रश्न उठाइएको छ । सुवेदी हाल डीआईजी, केसी एसएसपी र पाण्डे एसपीका रूपमा कार्यरत छन् ।

यस घटनामा कल्याण शाखाका कर्मचारीको भूमिकामाथि पनि छानबिन सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । ‘वर्षौंसम्म विद्यालयको आम्दानीको प्रभावकारी खोजबिन नहुनु, कल्याण कोषमा रकम जम्मा नगरी जम्मा गरिएको भौचर मात्र पठाइएको तथ्य पनि छानबिनबाट खुलेको छ’, स्रोतले भन्यो, ‘वर्षौंसम्मको लेखापरीक्षणमा समेत यो विषय लुकाइएको देखिन्छ ।’

छानबिनले बैंकको भूमिकामाथि पनि प्रश्न उठाएको छ । विद्यालयको खाता एनआईसी एसिया बैंकको कीर्तिपुर शाखामा भए पनि रकम लाजिम्पाट शाखाबाट निकालिएको र आवश्यक प्रक्रिया पूरा नगरी समेत रकम झिकिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्