२०७१ सालमा पप्पु कन्स्ट्रक्सनले काठमाडौंको तीनकुनेमा पुल बनाउन २१ करोड रूपैयाँ हाराहारीमा ठेक्का पाएको थियो । ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले २०७५ सालमा पुल बनाइसक्नुपर्ने थियो ।
तर, २०८३ सालसम्म पनि यो पुल पूर्ण भएन । पुलको निर्माण नसकिनुका पछाडि आर्थिक स्रोत अभाव वा यससँग सम्बन्धित अरु कारण होइन ।
पिलर निर्माणको काम अघि बढेका बेला यो काम रोकिएको थियो । कारण के थियो त ? यस विषयमा हामी यहाँ चर्चा गर्दैछौं ।
निर्माण कम्पनीले मापदण्ड पूरा नगरी पिलर बनाएको विषय बाहिरिएपछि ठेक्का तोडिएको थियो । तत्कालीन संसद्को विकास समितिले २०७६ मा गरेको अध्ययनले निर्माण कम्पनीले बनाएका पिल्लरमा त्रुटि देखाएपछि ठेक्का तोडिएको थियो ।
ठेक्का तोडिएपछि पनि पुलको विषय विवादित नै रहन पुग्यो । पटक-पटक मुद्दा मामिला भएपछि २०७९ सालमा आयोजनाले नयाँ निर्माणको ठेक्का खुलायो र नयाँ निर्माण कम्पनी वाई–पी–किरातेश्वर जेभीले ठेक्का पायो ।
सोही निर्माण कम्पनीले अहिले उक्त ठाउँमा नयाँ पुलका लागि पुराना पिलर भत्काउने काम गरिरहेको छ । अब यस ठाउँमा नयाँ डिजाइनको आर्क ब्रिज बनाउने तयारी भइरहेको छ ।
नयाँ निर्माण कम्पनीले ३३ महिनाभित्रै यो पुलको काम गरिसक्नुपर्ने थियो । तर, समयावधि समाप्त भएर अहिले म्याद थप गरिएको छ । जस अनुसार अब २०८५ कार्तिकसम्म यो पुल निर्माण गरिसक्नुपर्नेछ ।
यस पुलको नयाँ ठेक्का सम्झौता २४ करोड ५९ लाखमा भएको हो । अहिले ढिला हुँदा पनि निर्माण कम्पनीले सोही रकममा बनाउनुपर्नेछ । अर्थात् सम्झौता रकम नबढ्ने जनाइएको छ ।
अहिले तीनकुनेको यो ठाउँमा केवल एउटा पुल मात्रै छ । तर, बाटो भने ८ लेनको छ । सडक लेन अनुसारको पुल निर्माण नहुँदा यहाँ अत्यधिक जामको समस्या हुने गरेको छ । जसले गर्दा यात्रुले सास्ती खेप्नु परिरहेको छ भने अर्कोतिर दुर्घटनाको जोखिम समेत उत्तिकै छ ।
भिडियो सामग्री :