
अमेरिकी सेनाले इरानका विभिन्न ठेगानालाई निशाना बनाउँदै लगातार दोस्रो दिन पनि शक्तिशाली हवाई हमला शुरू गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले नयाँ आक्रमणको पुष्टि गर्दै यसलाई इरानको निरन्तर र अनुचित आक्रमकताको जवाफ भनेको छ ।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सेनाले इरानका 'प्रमुख केन्द्रहरू'मा बमबारी गरिरहेको बताए । सम्झौताका लागि दिइएको मौका इरानले नउठाएकाले यो कदम चाल्नुपरेको उनको भनाइ छ । बुधबार इरानले अमेरिकी 'अपाचे' हेलिकप्टर खसालेपछि दुई देशबिचको तनावले उग्र रूप लिएको हो ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले हर्मोज जलमार्ग क्षेत्रमा दुई वटा जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानले सुरक्षा सङ्कटको कारण देखाउँदै रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने सो जलमार्ग तेल ट्याङ्कर र व्यापारिक जहाजसहित सबै प्रकारका साधानका लागि पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ । इरानले अनुमति बिना उक्त क्षेत्र पार गर्न खोज्ने जुनसुकै जहाजलाई निशाना बनाइने चेतावनी दिएको छ ।
यद्यपि, अमेरिकी सेन्ट्रल कमाण्डले भने इरानी दाबीको खण्डन गर्दै व्यापारिक जहाजहरू अझै पनि उक्त मार्गबाट आवतजावत गरिरहेको र कुनै पनि अमेरिकी युद्धपोतमा क्षति नपुगेको दाबी गरेको छ । युद्धका कारण यो जलमार्ग लामो समयदेखि प्रभावित बन्दा यहाँको व्यापारिक चहलपहल साविकको तुलनामा १५ प्रतिशतमा खुम्चिएको छ । जलमार्ग बन्द भएको समाचार बाहिरिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतले बढेर प्रतिब्यारेल ९५ डलर माथि पुगेको छ ।
अमेरिकाको यो पछिल्लो आक्रमण इरानको दक्षिणी क्षेत्रमा पर्ने मिनाब, सिरिक, बन्दर अब्बास र केश्म टापु नजिकका सैन्य तथा निगरानी केन्द्रहरूमा केन्द्रित रहेको छ। अमेरिकी हमलाको लगत्तै खाडी क्षेत्रमा रहेको बहराइनमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू गुन्जिएका छन् ।
इरानको आईआरजीसीले अमेरिकी आक्रमणको बदलास्वरूप बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य बेसहरूसहित कुल १८ वटा महत्त्वपूर्ण लक्ष्यहरूमा प्रतिशोधात्मक आक्रमण गरेको दाबी गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका शीर्ष अधिकारीहरूले आफूलाई फोन गरेर आक्रमण रोक्न आग्रह गरेको र यो बमबारी छिट्टै रोकिने बताएका छन् । तर, उनले यदि भोलि रातिसम्ममा कुनै ठोस समझदारी पत्रमा हस्ताक्षर नभए आगामी राति फेरि बमबारी शुरू हुने चेतावनी दिए । ट्रम्पले इरानसँगको यो युद्धविरामलाई विश्व इतिहासकै सबैभन्दा बढी उल्लङ्घन गरिएको युद्धविरामको संज्ञा दिए ।
राष्ट्रपति ट्रम्पले इरानले सम्झौताका लागि धेरै लामो समय लगाएकाले अब त्यसको मूल्य चुकाउनुपर्ने र युद्ध रोक्नइरानले केवल कागजमा हस्ताक्षर गरे पुग्ने दाबी गरेका छन् । अर्कोतर्फ, इरानी राष्ट्रपति मसउद पेजेस्कियानले अमेरिकी धम्कीहरू देशको कमजोरीको प्रतीक भएको बताउँदै इरान कुनै पनि दबाब वा धम्कीसामु नझुक्ने र दृढतापूर्वक उभिने स्पष्ट पारे ।