
बिमा दाबी गर्न र ग्राहकले धितो राखेको सुनचाँदी हिनामिना गर्ने उद्देश्यले आफ्नै पसलमा चोरीको नाटक गरेको आरोपमा बुटवलका एक सुनचाँदी व्यवसायी पक्राउ परेका छन्।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा जेठ १७ गते भएको भनिएको चोरी घटनाको अनुसन्धानका क्रममा पसल सञ्चालककै संलग्नता खुलेपछि प्रहरीले उनलाई सार्वजनिक गरेको हो।
इलाका प्रहरी कार्यालय बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बुटवल उपमहानगरपालिका–३ पुल्चोक निवासी ४१ वर्षीय दीपक विकले आफ्नै पसलमा योजनाबद्ध रूपमा चोरीको नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए।
प्रहरीका अनुसार विक पोखरा गएको अवस्थामा पसलबाट एक करोड ४६ लाख ९४ हजार ७०० रुपैयाँ बराबरका सुनचाँदीका गरगहना चोरी भएको दाबी गरिएको थियो। तर अनुसन्धानका क्रममा उनी सोही दिन साँझ बुटवल फर्किएको र जेठ १७ गते बिहान करिब १ बजे आफ्नै पसलका कामदार नविन विकको सहयोगमा चोरीको नाटक गरेको देखिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले गरेको अनुसन्धानमा सञ्चालक र कामदार दुवैको संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरी आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले विभिन्न स्थानका सीसीटीभी फुटेजको अध्ययन गर्दा दीपक विक रातिको समयमा पसलभित्र प्रवेश गरी करिब दुई घण्टापछि बाहिरिएको देखिएको जनाएको छ। त्यसपछि उनी तिनाउ पुल हुँदै अन्यत्र गएको दृश्य पनि फुटेजमा देखिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा प्रहरीले विकको घरमा छापा मारेर विभिन्न सुन तथा चाँदीका गरगहना बरामद गरेको छ। बरामद सामग्रीमा सुनका बाला, सिक्री, झुम्का, औँठी, कानपासा, टप लगायतका गरगहना तथा चाँदीका विभिन्न सामग्री रहेका छन्।
यसैबीच, बुटवल–५ स्थित देव सुनचाँदी पसलको सटरको ताला काट्दै गरेको अवस्थामा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी चोरीसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।
त्यसैगरी बुटवल–८ सुख्खानगरस्थित एक घरमा नगद तथा सुनचाँदी चोरी भएको घटनामा संलग्न रहेको आरोपमा कपिलवस्तु नगरपालिका–२ निवासी शिवओम थारुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।