
नेपाली कांग्रेसका सांसद सन्दीप रानाले भूगोलभन्दा गुगलको कुरा गर्ने वर्तमान सरकारसँग निजी क्षेत्र निरुत्साहित भएको बताएका छन् ।
प्रतिनिधिसभामा बिहीबार बजेटको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद रानाले केही वर्गालाई राम्रो लागे पनि रास्वपा सरकारको बजेटले सामाजिक न्याय नगरेको बताएका हुन् ।
‘बजेटले ठूलो वर्गलाई समेटेको छैन, कृषि क्षेत्रलाई उपेक्षा गरिएको छ’, उनले भने, ‘रित्तिएको गाउँ पुनर्वास गर्ने आदर्श गाउँ योजना सपनामै रहने भएको छ । बाँझिएको खेतबारीमा बाली झुलाएर कृषिमा आत्मनिर्भरको योजना तुहिएको छ ।’
सांसद रानाले सरकारलाई भूगोलभन्दा गुगलको कुरा गर्ने भन्दै कटाक्ष गरे । ‘सुनेर थुन्नु पर्नेमा थुनेर सुन्ने सरकारको कार्यशैलीले निजी क्षेत्र निरुत्साहित छ, अनि रोजगार कसरी अगाडि बढाउन सकिन्छ ?’ सांसद रानाले भने ।
रामायणको अयोध्या काण्डको संस्कृत श्लोक सुनाउँदै सांसद रानाले अर्थात् सूर्यले नदेखिने पाराले पानी सोसेर अन्यत्र वर्षा भएजस्तै जनताले थाहा नपाउने तरिकाले कर असुली गर्नुपर्ने बताए ।