
नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका विषयमा एमाले नेताहरूले आपत्ति जनाउँदै निष्पक्ष अनुसन्धान र कानूनी प्रक्रियाको पालना गर्न माग गरेका छन् ।
एमाले नेता प्रदीप ज्ञवाली र सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै राज्यका निकायका निर्णय पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुन नहुने बताएका छन् ।
ज्ञवालीले एमालेले अनुसन्धानमा सहयोग गर्ने, कानूनसम्मत रूपमा आरोपहरूको सामना गर्ने र न्यायालयको निर्णय स्वीकार गर्ने स्थापित मान्यता राख्दै आएको उल्लेख गरेका छन् । उनले निष्पक्ष र गहिरो अनुसन्धानपछि मात्र अभियोजन र अदालतको निर्णयका आधारमा अघि बढ्नुपर्ने बताएका छन् ।
उनले अत्यावश्यक अवस्थामा मात्र नियन्त्रणमा लिने व्यवस्था न्याय निरूपणको स्थापित विधि हुनुपर्ने उल्लेख गर्दै पछिल्लो समय ‘पहिले गिरफ्तार गर्ने र पछि अनुसन्धान गर्ने’ प्रवृत्ति बढेको टिप्पणी गरेका छन् । राज्यका कुनै पनि निकायका निर्णय पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनु नहुने उनको भनाइ छ ।
यस्तै, एमाले सचिव बस्नेतले कानूनी राज्यमा तथ्य र प्रमाणको निष्पक्ष परीक्षणपछि मात्र कानूनी कारबाही अघि बढ्नुपर्ने बताएका छन् । फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले गिरफ्तारी गरिनु उचित नहुने उनको तर्क छ ।
बस्नेतले एमाले कार्यकर्ताहरूलाई उक्त घटनालाई केवल एक व्यक्तिसँग सम्बन्धित विषयका रूपमा नभई लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र विधिको शासनसँग जोडिएको विषयका रूपमा बुझ्न आग्रह गरेका छन् ।
आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्ने भन्दै उनले यस्ता प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने बताएका छन् ।
पार्टीको कामको सिलसिलामा सुर्खेतमा रहेका पौडेल सोमबार साँझ पक्राउ परेका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ पुर्जी पठाएपछि सुर्खेत प्रहरीले उनलाई वीरेन्द्रनगरस्थित शुभ होटलबाट पक्राउ गरेको हो ।