०४ असार २०८३, बिहीबार
समाजको डरलाग्दो चित्र

टिकटकको चिनजानले बर्बाद एक महिलाको जीवन– नक्कली बिहे दर्ता, कीर्ते कागजातदेखि अदालतसम्म

जेठ ३१, २०८३
काठमाडौं
टिकटकको चिनजानले बर्बाद एक महिलाको जीवन– नक्कली बिहे दर्ता, कीर्ते कागजातदेखि अदालतसम्म
AI Genereted Photo

सामाजिक सञ्जाल टिकटकमा भएको एउटा चिनजानले शर्मिला (नाम परिवर्तन) को जीवनलाई यस्तो मोडमा पुर्‍यायो, जहाँ प्रेम, विवाह र विश्वास अन्त्यमा ठगी, कीर्ते कागजात र अदालतको मुद्दासम्म पुगेको छ ।

रामेछापका उज्ज्वल गुरागाईंसँग टिकटकमार्फत चिनजान भएकी शर्मिलाले शुरूमा उनलाई आफ्नो जीवनसाथी ठानिन् ।

उज्ज्वलले आफू विवाहित भए पनि पहिलो वैवाहिक सम्बन्ध सुखद् नरहेको र कानूनी रूपमा सम्बन्धविच्छेद गरिसकेको भन्दै शर्मिलासँग विवाह गर्ने प्रस्ताव राखे ।

शर्मिलाले सम्बन्धविच्छेदको प्रमाण मागिन् । उज्ज्वलले कागजात देखाए । त्यसपछि उनीहरूको सम्बन्ध विवाहसम्म पुग्यो ।

शर्मिलाका अनुसार उनीहरू काठमाडौंको नक्सालस्थित एक अपार्टमेन्टमा सँगै बस्न थाले । तर, विवाहपछि पनि उज्ज्वलले उनलाई आफ्नो परिवार वा आफन्तसँग भेटाएनन् । परिवारले सम्बन्ध स्वीकार नगरेको भन्दै उनले पछि विवाह दर्ता गरिदिने आश्वासन दिए ।

केही समयपछि उज्ज्वल एक्लै रामेछाप गएर विवाह दर्ता गराएको भन्दै कागजात लिएर फर्किए । शर्मिलाले त्यो कागजातलाई आफ्नो वैवाहिक सम्बन्धको कानूनी आधार मानेर विश्वास गरिन् ।

उज्ज्वलले नयाँ व्यवसाय शुरू गर्ने योजना सुनाए । व्यवसाय विस्तारका लागि रकम आवश्यक परेको बताए । श्रीमान् ठानेर शर्मिलाले आफूसँग रहेको ११ तोला सुनका गहना र ८ लाख रुपैयाँ उनलाई दिइन् । तर, महिनौं बित्दासमेत कुनै व्यवसाय शुरू भएन । उल्टै उज्ज्वलको व्यवहार बदलिँदै गयो ।

त्यसपछि शर्मिलाले विवाह दर्ताको कागजात पुन: हेर्न थालिन् ।

कागजातमा उल्लेख गरिएको मिति (२०७७/१२/२५) शंकास्पद लागेपछि उनले सम्बन्धित पालिकामा बुझिन् । त्यहाँबाट प्राप्त जानकारीले उनको खुट्टामुनिको जमिन नै भासियो । पालिकाको अभिलेखमा त्यो मितिमा उज्ज्वल र शर्मिलाको विवाह दर्ता भएको कुनै विवरण थिएन । बरु सोही मितिमा उज्ज्वलकै पहिलो श्रीमतीसँग विवाह दर्ता भएको अभिलेख भेटियो ।

शर्मिलाले कागजातबारे प्रश्न गर्दा उज्ज्वलले शुरूमा ‘कम्प्युटर टाइप मिस्टेक’ भन्दै टार्ने प्रयास गरे । तर त्यसपछि थप तथ्यहरू खुल्दै गए ।

शर्मिलाका अनुसार उज्ज्वलले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद नै नगरेको खुलेपछि उनी थप सशंकित भइन् । जवाफ खोज्दा उज्ज्वलले आफू जापानबाट फर्किएको र पुन: जापान जाँदा शर्मिलालाई डिपेन्डेन्ट भिसामा लैजानका लागि नक्कली विवाह दर्ता बनाएको बताएका थिए ।

तर त्यसले शर्मिलाको शंका मेटाएन । उनले आफूले दिएको रकम र सुन फिर्ता माग्न थालिन् । त्यसपछि सम्बन्ध झन् बिग्रियो । शर्मिलाको आरोपअनुसार उज्ज्वलले गालीगलौज गर्न थाले, मानसिक तनाव दिन थाले र पटक–पटक धम्कीसमेत दिए । उनले प्रहरीसमक्ष दिएको जाहेरीमा आफ्नो इच्छाविपरीत पटक–पटक शारीरिक सम्पर्क गर्न बाध्य बनाइएको आरोपसमेत लगाएकी छन् ।

यसबीच शर्मिलाका परिवारले उज्ज्वललाई पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद भएको प्रमाण ल्याउन भने । त्यसपछि शर्मिला धरानस्थित माइती पुगिन् । त्यहीँ पुगेपछि आफन्तसँग परामर्श गरेर उनले प्रहरीमा उजुरी दिने निर्णय गरिन् ।

प्रहरी अनुसन्धानपछि उज्ज्वल पक्राउ परे । अनुसन्धान मिसिल जिल्ला सरकारी वकिल कार्यालयमा पुगेपछि सरकारी वकिलले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबर्जस्ती करणी, ठगी र लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गर्‍यो ।

मुद्दाको अनुसन्धानका क्रममा दिएको बयानमा उज्ज्वलले आफू र शर्मिलाबीच टिकटकमार्फत चिनजान भएको तथा श्रीमान/श्रीमतीसरह बस्दै आएको स्वीकार गरेका छन् ।

उनले कानूनी रूपमा पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद नभएको अवस्थामा शर्मिलालाई जापान लैजाने उद्देश्यले नक्कली विवाह दर्ता प्रमाणपत्र बनाएको स्वीकार गरेका छन् । शर्मिलाका आफन्तलाई देखाउनका लागि पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद भएको नक्कली कागजातसमेत तयार गराएको उनले सरकारी वकिलसमक्ष बताएका छन् ।

विवाह दर्ता र सम्बन्धविच्छेदसम्बन्धी कागजात कीर्ते गरी बनाउनु आफ्नो गल्ती भएको र त्यसबापत कानूनबमोजिमको सजाय भोग्न तयार रहेको उनको बयानमा उल्लेख छ ।

तर शर्मिलाबाट ८ लाख रुपैयाँ र ११ तोला सुन लिएको आरोप भने उनले अस्वीकार गरेका छन् । त्यस्तै, जबर्जस्ती करणी गरेको आरोपसमेत उनले इन्कार गरेका छन् ।

अदालतमा दर्ता भएको मुद्दाको टुंगो लाग्न बाँकी छ । तर टिकटकमा शुरू भएको एउटा सम्बन्ध अहिले कीर्ते कागजात, ठगी र जबर्जस्ती करणीको आरोपसहित अदालतको इजलासमा पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्