
स्विजरल्याण्डको जनसंख्यालाई १० मिलियन (१ करोड) मा सीमित गर्ने दक्षिणपन्थी दलको प्रस्तावलाई त्यहाँका मतदाताले बहुमतले अस्वीकार गरिदिएका छन्।
आइतबार भएको जनमत संग्रहमा ५५ प्रतिशत मतदाताले उक्त प्रस्तावको विपक्षमा मतदान गरेका हुन्।
दक्षिणपन्थी 'स्विस पिपुल्स पार्टी'ले अध्यागमन नियन्त्रण गर्न र सार्वजनिक सेवामा चाप घटाउन जनसंख्याको सीमा तोक्नुपर्ने माग राखेको थियो।
तर, सरकार र व्यावसायिक क्षेत्रले यसले युरोपेली संघसँगको सम्बन्ध बिगार्ने र श्रमिकको अभाव सिर्जना गर्ने भन्दै विरोध गरेका थिए।
मतदानको नतिजा सार्वजनिक भएपछि स्विस सरकारले यसलाई स्थिरता र खुलापनको जित भनेको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले पनि नतिजाको स्वागत गर्दै स्विजरल्याण्ड र युरोपेली संघबीचको साझेदारी अझ मजबुत हुने विश्वास व्यक्त गरेकी छिन्।
हाल स्विजरल्याण्डको जनसंख्या ९.१ मिलियन रहेको छ।