२७ असार २०८३, शनिबार

अमेरिकी सेनाले गोप्य तेल स्थानान्तरण अभियान सञ्चालन गरेको खुलासा

असार २, २०८३
काठमाडौं
अमेरिकी सेनाले गोप्य तेल स्थानान्तरण अभियान सञ्चालन गरेको खुलासा
स्याटेलाइट तस्वीर ।

अमेरिकी सेनाले फारसी खाडीबाट तेल निर्यातलाई निरन्तरता दिन गोप्य रूपमा जहाजबाट जहाजमा तेल स्थानान्तरण (शिप–टु–शिप ट्रान्सफर) अभियान सञ्चालन गरेको खुलासा भएको छ । 

समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी सेनाले ड्रोन, हेलिकोप्टर र जलयानको सहायताले तेल बोकेका जहाजहरूलाई मार्गनिर्देशन गर्दै अर्को ट्यांकरमा तेल सार्ने व्यवस्था मिलाएको हो ।

रोयटर्सले समीक्षा गरेको स्याटेलाइट तस्वीर र जहाज आवागमनसम्बन्धी तथ्यांकअनुसार यो अभियान मे महिनाको शुरूदेखि सञ्चालनमा छ । हालसम्म कम्तीमा ९२ वटा जहाज यस प्रक्रियामा संलग्न भएको जनाइएको छ । तेल स्थानान्तरणका लागि संयुक्त अरब इमिरेट्सको फुजैराह तट र ओमानको सोहार बन्दरगाह नजिक दुई स्थान प्रयोग गरिएको बताइएको छ ।

रोयटर्सका अनुसार जुन ११ मा मात्रै ती दुई क्षेत्रमा एकै समयमा १७ जोडी जहाजले तेल स्थानान्तरण गरिरहेको दृश्य स्याटेलाइट तस्वीरमा देखिएको थियो ।

जुन ९ मा इरानले खसालेको अमेरिकी अपाचे हेलिकोप्टर पनि यही अभियानमा संलग्न रहेको विभिन्न स्रोतले बताएका रोयटर्सले जनाएको छ । 

हेलिकोप्टर खसालिएपछि अमेरिका र इरानबीच थप तनाव बढेको थियो । यद्यपि उक्त हेलिकोप्टरले तेल स्थानान्तरण अभियानमा कस्तो भूमिका खेलेको थियो भन्ने स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

अमेरिकी रक्षा अधिकारीले भने रोयटर्सलाई दिएको प्रतिक्रियामा अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) तेल स्थानान्तरण अभियानमा संलग्न नरहेको दाबी गरेका छन् । हेलिकोप्टरका दुवै चालक दलका सदस्यलाई ड्रोन डुंगाको सहायताले उद्धार गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

रिपोर्टअनुसार इरानले अमेरिका–इजरायल युद्धको प्रतिक्रियास्वरूप हर्मुज जलडमरूलाई प्रभावकारी रूपमा बन्द गरेको थियो । विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही मार्गबाट हुने भएकाले यसले विश्वव्यापी ऊर्जा आपूर्ति र मूल्यमा ठूलो असर पारेको बताइएको छ ।

तेल स्थानान्तरण हुने क्षेत्रहरू इरानले हालै स्थापना गरेको ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ले निगरानी गर्ने क्षेत्रको नजिक पर्छन् । इरानका आदेश पालना नगर्ने जहाजहरू ड्रोन वा क्षेप्यास्त्र आक्रमणको जोखिममा पर्ने चेतावनी दिइएको छ ।

रोयटर्सका अनुसार जहाजबाट जहाजमा तेल सार्ने यो विधि विगतमा इरानले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न प्रयोग गर्दै आएको थियो । अहिले अमेरिकाले पनि खाडी क्षेत्रबाट तेल आपूर्ति कायम राख्न त्यही रणनीति अपनाएको देखिएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता घोषणा गरिएको अमेरिका–इरान शान्ति सहमति अन्तर्गत हर्मुज जलडमरू शुक्रबारदेखि पुनः खुल्ने बताएका छन् । तर सहमतिका विस्तृत प्रावधान सार्वजनिक नभएकाले यसले तेल स्थानान्तरण अभियानमा कस्तो प्रभाव पार्नेछ भन्ने अझै स्पष्ट भएको छैन ।

रोयटर्सले यसअघि प्रकाशित अनुसन्धानमा इरानले पनि जलडमरूको अर्को भागबाट जहाज आवागमन व्यवस्थापन गर्न छुट्टै प्रणाली स्थापना गरेको जनाएको थियो । उक्त प्रणालीमा टापुमा आधारित जाँच चौकी, कूटनीतिक समझदारी तथा केही अवस्थामा शुल्कसमेत समावेश रहेको उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्