१४ असार २०८३, आइतबार
विश्वकप फुटबल शृंखला- ३३

‘ला रोजा’को ऐतिहासिक ‘टिकी–टाका’ यात्रादेखि नयाँ युगको उदयसम्म

असार १, २०८३
काठमाडौं
‘ला रोजा’को ऐतिहासिक ‘टिकी–टाका’ यात्रादेखि नयाँ युगको उदयसम्म

फुटबलको आधारभूमि मानिने स्पेन जसले, ‘टिकी–टाका’ शैलीको माध्यमबाट विश्व फुटबलमा एउटा युगकै शुरूआत गर्‍यो ।

त्यही स्पेनिस टोली फेरि एकपटक विश्वकपका रंगशालाहरूमा आफ्नो चमत्कार देखाउँदै गुमेको वर्चस्व फर्काउने अभियानमा निस्किएको छ ।

सन् २०२६ को फिफा विश्वकपको रौनक बढिरहँदा ‘ला रोजा’ उपनामले परिचित स्पेनिस टोलीले पनि आफ्नो १७ औं सहभागिताको यात्रा शुरू गरिसकेको छ ।

सन् २०१० को स्वर्णिम इतिहास

स्पेनको फुटबल इतिहासमा सन् २०१० को दक्षिण अफ्रिका विश्वकप एउटा सुनौलो अध्याय हो । भिसेन्ट डेल बोस्कको प्रशिक्षणमा रहेको त्यो टोलीले विश्व फुटबलमा तहल्कै मच्चाएको थियो ।

त्यतिबेला स्पेनिस टोलीमा इकर कासियास, जाभी, आन्द्रेस इनिएस्टा, सर्जियो बुस्केट र फर्नान्डो टोरेसजस्ता दिग्गज खेलाडीको जमघट थियो ।

null

समूहगत चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँगको अप्रत्यासित हारपछि स्पेनले जसरी विश्वकपमा पुनरागमन गर्‍यो, त्यो आज पनि फुटबल समर्थकका लागि प्रेरणादायी छ ।

फाइनलमा नेदरल्यान्ड्सविरुद्ध आन्द्रेस इनिएस्टाले अतिरिक्त समयमा गरेको त्यो विजयी गोल र दिवंगत साथी ड्यानी जार्केको सम्झनामा उनले गरेको भावुक सेलिब्रेसन विश्वकप इतिहासकै सबैभन्दा स्मरणीय क्षणमध्ये एक हो ।

विश्वकपको त्यो संस्करणमा स्पेनले आफ्नो विशिष्ठ शैली र संयमताको उत्कृष्ट नमूना प्रदर्शन गर्दै पहिलो पटक विश्व विजेताको ताज पहिरिएको थियो ।

null

००

कतारको पाठ र नयाँ पुस्ताको उदय

लुइस एनरिकको नेतृत्वमा सन् २०२२ को कतार विश्वकपमा सहभागी भएको स्पेनिस टोली निकै उत्साही देखिन्थ्यो ।

कोस्टारिकाविरुद्धको ७–० गोलको ऐतिहासिक जितले स्पेनिस टोलीको क्षमतालाई पनि स्पष्ट पारेको थियो । तर, नकआउट चरणमा मोरक्कोको रक्षात्मक किल्ला तोड्न नसक्दा स्पेन अन्तिम–१६ बाटै बाहिरिन पुग्यो ।

स्पेनिस फुटबलमा त्यसपछिको परिवर्तन निकै तीव्र रह्यो । सन् २०२२ को डिसेम्बरमा पदभार सम्हालेका नयाँ प्रशिक्षक लुइस डे ला फुएन्टले स्पेनिस फुटबलको परम्परागत दर्शनलाई आधुनिकतासँग जोडेका छन् ।

null

उनले आफ्नो यू–१९ र यू–२१ टोलीको अनुभवलाई उपयोग गर्दै पाउ कुबार्सी, निको विलियम्स र लामिन यामलजस्ता युवा प्रतिभालाई मुख्य टोलीमा समावेश गरेका छन् ।

टोलीले अब ‘पोसेसन’सँगै तीव्र ‘काउन्टर–अट्याक’मा पनि उत्तिकै ध्यान दिन थालेको छ, जसले यो विश्वकपमा स्पेनिस टोलीलाई थप घातक बनाएको छ ।

००

विश्वकप यात्राका रोमाञ्चक र दुर्भाग्यपूर्ण घटनाहरू

स्पेनको विश्वकप यात्रा सन् १९३४ को इटाली संस्करणबाट शुरू भएको थियो । आफ्नो पहिलो सहभागितामै स्पेन क्वार्टरफाइनलसम्मको यात्रा तय गर्न सफल भएको थियो ।

सन् १९५४ को विश्वकप छनोटमा टर्कीसँगको खेल बराबरी भएपछि ‘टस’का आधारमा स्पेन बाहिरिनु परेको थियो । फिफा विश्वकपको इतिहासमा यस्तो अनौठो ‘टस’ नियमबाट बाहिरिने स्पेन पहिलो टोली थियो ।

null

स्पेनिस टोलीले हालसम्म फिफा विश्वकपको २२ मध्ये १६ वटा संस्करणमा सहभागिता जनाइसकेको छ । सन् १९७८ देखि भने स्पेनले लगातार १३ पटक विश्वकपमा छनोट भएर आफ्नो निरन्तरता कायम राखेको छ ।

कूल नौ गोलका साथ डेभिड भिया स्पेनका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । इकर कासियास, सर्जियो रामोस र सर्जियो बुस्केटले विश्वकपमा १७–१७ खेल खेलेर सर्वाधिक सहभागिताको कीर्तिमान बनाएका छन् ।

००

समूहगत चरणबाटै बाहिरिएको साविक विजेता

सन् १९५० को ब्राजिल विश्वकपमा स्पेनले चौथो स्थान हात पारेको थियो, जुन सन् २०१० को उपाधिअघिको उत्कृष्ट प्रदर्शन थियो ।

घरेलु मैदानमा आयोजना भएको सन् १९८२ को विश्वकपमा भने स्पेनले ठूलो निराशा भोग्नुपरेको थियो । त्यतिबेला स्पनिस टोली दोस्रो चरणबाटै बाहिरिएको थियो ।

यसैगरी, सन् २०१४ को विश्वकपमा साविक विजेताका रूपमा सहभागी भएको स्पेनले समूहगत चरणबाटै बाहिरिएर विश्व फुटबललाई नै स्तब्ध पारेको थियो ।

००

छनोट चरणको गौरवशाली यात्रा

यसपटक विश्वकपको छनोट चरणमा पनि स्पेनले अब्बल प्रदर्शन गर्‍यो । स्पेनको टोली युरोपेली छनोटको समूह ‘ई’मा परेको थियो ।

स्पेनले आफूले खेलको ६ मध्ये पाँच खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकाल्यो । १६ अंकसहित स्पेन तालिकाको पहिलो स्थानमा रहँदै विश्वकपमा पुग्न सफल भयो ।

null

स्पेनले विपक्षीको पोष्टमा १९ गोल गर्‍यो भने आफूले केवल दुई गोल खायो । स्पेनले छनोट चरणको पहिलो खेलमा बुल्गेरियालाई ३–० गोलले हरायो ।

त्यसपछि, टर्कीलाई ६–० गोल र जर्जियालाई २–० गोलले स्तब्ध पार्‍यो । आफ्नो चौथो खेलमा स्पेनले फेरि बुल्गेरियालाई ४–० गोलले हरायो ।

आफ्नो पाँचौं खेलमा ‘ला रोजा’ले जर्जियालाई ४–० गोलले पाखा लगायो । छनोट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा भने स्पेनिस टोली टर्कीसँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

छनोट चरणको प्रतियोगितामा आफ्नो समूहमा सबैभन्दा बढी गोल गर्ने दुवै खेलाडी स्पेनका थिए । मिकेल मेरिनो र मिकेल ओयार्जाबलले ६–६ गोल गरेका थिए ।

००

सन् २०२६ को महाकुम्भ र चुनौती

क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना भइरहेको सन् २०२६ को विश्वकपमा स्पेन समूह ‘एच’मा परेको छ ।

यो समूहमा स्पेनले दुईपटकको च्याम्पियन उरुग्वे, साउदी अरेबिया र केप भर्डेजस्ता प्रतिद्वन्द्वीको सामना गर्नु पर्नेछ ।

स्पेनिस टोलीले जुन १५ तारिखमा ‘डेब्यू’ गरिरहेको टोली केप भर्डेविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्रा प्रारम्भ गर्नेछ । त्यसपछि स्पेनले जुन २१ तारिखमा साउदी अरेबिया र २६ तारिखमा उरुग्वेको सामना गर्नेछ ।

युरोपियन च्याम्पियनको रूपमा विश्वकपमा सहभागी भएको स्पेन आफ्नो साख जोगाउने र दोस्रो पटक विश्वकप उचाल्ने लक्ष्यका साथ मैदानमा ओर्लने छ ।

स्पेनको इतिहास र वर्तमानलाई हेर्ने हो भने, यो टोलीले फेरि एकपटक विश्वकप उपाधि जित्ने क्षमता राख्छ । लुइस डे ला फुएन्टको रणनीति र युवा तथा अनुभवी खेलाडीको मिश्रणले स्पेनलाई सन् २०२६ को विश्वकपमा सबैभन्दा बलिया दाबेदारमध्ये एक बनाएको छ ।

null

००

विश्वकपमा ‘ला रोजा’का सारथीहरू

विश्व फुटबलमा स्पेन र रियल मड्रिड एक–अर्काका पर्यायजस्तै हुन् । तर, आगामी विश्वकपका लागि घोषित स्पेनको २६ सदस्यीय टोलीले फुटबल प्रेमीहरूलाई आश्चर्यमा पारेको छ ।

विश्वकपको इतिहासमा पहिलोपटक स्पेनको टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी अटाएका छैनन् । यो निर्णयले फुटबल जगतमा बहस सिर्जना गरे पनि मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टले भने आफ्नो अडान प्रष्ट पारेका छन् ।

‘म कुनै क्लब वा स्थानीय आग्रह–पूर्वाग्रहबाट प्रभावित छैन । मेरो दृष्टिकोण विश्वव्यापी छ,’ टोली घोषणापछि प्रशिक्षक फुएन्टले भनेका छन्, ‘मेरो एउटै चाहना भनेको टोलीमा रहेका प्रत्येक खेलाडीले राष्ट्रिय जर्सीको प्रतिनिधित्व गर्दा गर्व महसुस गरून् ।’

टोलीमा केही चर्चित तर, घाइते खेलाडीको उपस्थिति अर्को चर्चाको विषय बनेको छ । बार्सिलोनाका १८ वर्षीय स्टार लामिन यामल पनि यसको उदाहरण हुन् ।

यामल गत अप्रिल २२ तारिखमा ‘ह्यामस्ट्रिङ’को चोटका कारण सिजनको अन्तिम महिना थुप्रै खेल गुमाउन बाध्य भएका थिए । उनलाई पनि स्पेनिस टोलीमा समावेश गरिएको छ । यसका अतिरिक्त, एथलेटिक बिल्बाओका विंगर निको विलियम्स पनि चोटका बाबजुद टोलीमा परेका छन् ।

null

प्रशिक्षक फुएन्ट भने खेलाडीहरूको स्वास्थ्यस्थितिलाई लिएर ढुक्क देखिन्छन् । उनी भन्छन्, ‘हामी निकै सचेत छौं । कुनै ठूलो समस्या नआए हाम्रा सबै खेलाडी विश्वकपको पहिलो खेलबाटै मैदानमा ओर्लन तयार हुनेछन् ।’

यसपटक स्पेनिस टोलीमा इङ्लिस प्रिमियर लिगको प्रभाव प्रस्ट देखिन्छ । आर्सनलका मिडफिल्डर मिकेल मेरिनो पनि यसैको उदाहरण हुन् । उनी चार महिनाको चोटपछि पुनरागमन गर्दै स्पेनिस टोलीमा परेका हुन् ।

यसैगरी, मेरिनोसँगै डेभिड राया, मार्टिन जुबिमेन्डी, पेड्रो पोरो, मार्क कुकुरेला, रोड्री र एरेमी पिनोगरी सात खेलाडी प्रिमियर लिग क्लबबाट स्पेनको विश्वकप टोलीमा परेका छन् ।

बार्सिलोना र एथलेटिको मड्रिडका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका एरिक गार्सिया र मार्क पुबिलले पनि पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । अर्कोतर्फ, बार्सिलोनाका फर्मिन लोपेज भने खुट्टाको चोटका कारण टोलीबाट बाहिरिएका छन् ।

यो सिजनमा कुनै पनि ट्रफी जित्न नसकेको र ला लिगा विजेता बार्सिलोनाभन्दा आठ अंकले पछि परेको रियल मड्रिडका डिफेन्डरहरू डीन हुइजसेन र ड्यानी कार्भाजलले समेत स्पेनको विश्वकप टोलीमा स्थान बनाउन सकेनन् ।

‘उत्साह र जिद्धी नै हाम्रो मुख्य यतियार हो,’ प्रशिक्षक फुएन्ट भन्छन्, ‘स्पेनका बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको साथ राष्ट्रिय टोलीसँग छ । हामी यही ऊर्जाका साथ मैदानमा ओर्लनेछौं ।’

null

स्पेनको विश्वकप टोलीमा गोलरक्षकको भूमिकामा उनाई सिमोन, डेभिड राया र जोन गार्सिया रहेका छन् । डिफेन्डरमा मार्कोस लोरेन्ट, मार्क पुबिल, पेड्रो पोरो, एमरिक लापोर्ट, एरिक गार्सिया, पाउ कुबार्सी, मार्क कुकुरेला र अलेज्यान्द्रो ग्रिमाल्डो छन् ।

यसैगरी, मिडफिल्डरमा रोड्री, मार्टिन जुबिमेन्डी, मिकेल मेरिनो, पेड्री, गाभी, फबियन रुइज र एलेक्स बाएना रहेका छन् । फरवार्डमा एरेमी पिनो, भिक्टर मुनोज, मिकेल ओयार्जाबल, फेरान टोरेस, लामिन यामल, ड्यानी ओल्मो, निको विलियम्स र बोर्जा इग्लेसियस छन् ।

के ‘ला रोजा’ले उत्तर अमेरिकी भूमिमा फेरि एकपटक आफ्नो नाम स्वर्ण अक्षरले लेखाउन सक्ला ? यो प्रश्नको जवाफका लागि अब केही समयको प्रतीक्षा गर्नुपर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्