
फिफा विश्वकपको समूह 'एच' अन्तर्गतको रोमाञ्चक भिडन्तमा स्पेनले साउदी अरेबियाविरुद्ध सुरुवाती अग्रता लिएको छ।
एटलान्टा स्टेडियममा जारी खेलको १०औँ मिनेटमा युवा खेलाडी लामिन यामलले गोल गर्दै स्पेनलाई १-० को अग्रता दिलाएका हुन्।
यस प्रतियोगितामा पहिलो पटक सुरुवाती ११ मा परेका यामलले खेलको १०औँ मिनेटमै आफ्नो प्रतिभा प्रमाणित गरे। साउदी अरेबियाको गोल-किकबाट फर्किएको बललाई मिकेल ओयार्जाबलले नियन्त्रणमा लिँदै बायाँतर्फबाट एउटा सटिक 'लो क्रस' उपलब्ध गराएका थिए। सोही पासलाई दोस्रो बारमा रहेका लामिन यामलले स्लाइड गर्दै जाली चुमाएका थिए।
यस गोलसँगै यामलले विश्वकप इतिहासमा एउटा नयाँ कीर्तिमान पनि बनाएका छन्। उनी १९ वर्षको उमेर अगावै विश्वकपमा गोल गर्ने इतिहासकै सातौँ खेलाडी बनेका छन्। गोल गरेपछि यामलले क्यामेरा नजिकै गएर आफ्नो परिचित '३०४' इसारा गर्दै खुसीयाली मनाएका थिए। यो अङ्कले उनको गृहनगर स्पेनको मातारोस्थित हुर्किएको ठाउँको पोस्टकोडलाई प्रतिनिधित्व गर्दछ।
यसअघि आफ्नो पहिलो खेलमा केप भर्डसँग बराबरीमा रोकिएको स्पेन आजको खेलमा निकै आक्रामक रूपमा प्रस्तुत भएको छ। खेलको सुरुवाती मिनेटदेखि नै साउदी अरेबियालाई दबाबमा राखेको स्पेनका लागि यामल र पेड्रि जस्ता खेलाडीहरूले लगातार गोलको अवसर सिर्जना गरिरहेका छन्। साउदी अरेबिया भने निकै रक्षात्मक देखिएको छ।