२५ असार २०८३, बिहीबार
रास्वपा महाधिवेशन उद्‌घाटन

चितवनबाट रवि–बालेनको सन्देश : सरकार ठीकठाक चलिरहेको छ, हामीबीच असमझदारी छैन

असार ७, २०८३
काठमाडौं
चितवनबाट रवि–बालेनको सन्देश : सरकार ठीकठाक चलिरहेको छ, हामीबीच असमझदारी छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताले सरकार राम्रोसँग चलिरहेको र आफूहरूबीच आशंका नरहेको प्रष्टीकरण दिएका छन् । आइतबार शुरू रास्वपाको पहिलो महाधिवेशनको उद्‌घाटनका क्रममा नेताहरूले आफूहरूबीच कुनै तिक्तता नरहेको दाबी गरेका हुन् ।

महाधिवेशनमा बोलाइएका अन्य दलका नेताहरूले रास्वपाको शीर्ष नेतृत्वमा खटपट ल्याउने कोशिश हुनसक्ने भनेर गरेको टिप्पणीको जवाफस्वरूप सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)ले कुनै असमझदारी नरहेको सन्देश दिएका हुन् ।

सभापति लामिछानेले चुनाव अघि गरेको सहमतिअनुसार सरकार सञ्चालनको जिम्मा बालेनको रहेको बताए । ‘हामीलाई लडाउने, ढलाउने, फाटो ल्याउने प्रयास हुनेछ । तर सरकार सञ्चालन गर्नका लागि चुनाव अगाडि नै गरिएको सहमतिमा म प्रतिबद्ध छु,’ रविले भने, ‘बालेनको खुट्टामा बल छ, गोल हान्ने जिम्मा बालेन शाहको हो । झुक्किएर मेरोमा आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो ।’

लामिछानेले यसो भनिरहँदा बालेन मुस्कुराए, अनि कार्यकर्ताले उभिएर ताली बजाएका थिए । रवि केहीबेर रोकिए । ‘यहाँ मुख मिठ्याउनेहरू धेरै छन, चुक्ली लगाउने धेरै छन् । तर इतिहासले म र बालेनसँग प्रश्न सोध्ने छ, त्यत्रो बहुमत पाएर के गर्‍यौ ?,’ उनले भने ।

रवि अघि नै बोलेका बालेनले सरकारको गति र नियन्त्रण सही भएकाले गन्तव्यमा पुगेर मात्र रोकिने बताए ।

एमाले नेता प्रदीप ज्ञवालीले सरकारलाई गाडीसँग तुलना गर्दै एक्सिलेटर मात्र च्याप्ने तर ब्रेक नलगाएमा दुर्घटना हुनसक्ने बताएका थिए । ‘सुझाव सल्लाह दिएर चिन्ता लिनुभएको छ । सरकारको गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक पनि हुन्छ भन्ने कुरा आए,’ बालेनले भने, ‘लोकल रोडमा हिँड्दा ब्रेक लगाउनु पर्छ, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ । गन्तव्यमा पुग्नु अघि ब्रेक लगाउन जरुरी हुँदैन, अनियन्त्रित छैन, वातावरण मिलेर गएको छ । चिन्ता लिनुभएकोमा धन्यवाद ।’

रविले चुनाव अघिको सहमतिको प्रसंग कोट्याउँदा बालेनले पार्टीमा गुटबन्दी अस्वीकार्य भएको बताएका थिए । बालेनले पार्टीभित्र आफ्नो तर्फबाट गुटबन्दीलाई प्रोत्साहन नगर्ने संकेत दिए ।

null

गुटबन्दी नगर्ने बताइएपछि अधिवेशन उद्‌घाटन समारोहमा आधा कार्यक्रम रवि पक्षका महामन्त्री कबिन्द्र बुर्लाकोटी र आधा समय बालेन पक्षमा भूपदेव शाहले गरे । महाधिवेशनमा सँगै आएर सँगै फर्किएका बालेन र रविले मञ्चमा बस्दा भलाकुसारी गरेका थिए ।

पूर्वप्रधानमन्त्री डा बाबुराम  भट्टराईले रवि-बालेन खासखुस गर्नुभएको छ, छलफल भइरहोस् भन्दा उनीहरू हाँसेका थिए । अधिवेशन उद्‌घाटन समारोहका पहिलो वक्ता जनमत पार्टीका डा. सीके राउतले बालेनलाई प्रधानमन्त्री बनाएर रविले त्याग गरेको बताएका थिए ।

रास्वपा पार्टी र सरकारबीच टसल शुरू भएको विश्लेषण सामाजिक सञ्जालमा भइरहेको बेला रवि र बालेनले असमझदारी छैन भन्ने देखाउन अधिवेशन स्थलमा आउँदा र जाँदा एउटै गाडीमा चढेका थिए । बालेनले चलाएको गाडीमा रवि अगाडिको सीटमा बसेका थिए ।

महाधिवेशनले रविलाई सभापति र बालेनलाई वरिष्ठ नेतामा दोहोर्‍याउने अड्कलबाजी अन्य दलका नेताले गर्दा एक-अर्काले ताली बजाएका थिए ।

४ वर्षअघि स्थापना भएको पार्टी रास्वपाले पहिलो महाधिवेशन गरेको हो ।

महाधिवेशनका आकर्षको केन्द्रमा गगन थापा थिए । अन्तिममा रास्वपा महाधिवेशनको अतिथि बनेका गगनले सो पार्टीको प्रशंसा गरे । उनले रास्वपा आफूहरूको दुस्मन नभई प्रतिस्पर्धी रहेको बताए ।

गगन र रविले मञ्चमा हात मिलाएर कुम जोडे । विगतमा तिक्ततापूर्ण सम्बन्ध रहेको यथार्थबीच गगन र रविले चितवनको मञ्चबाट राजनीतिक संस्कार र सुझबुझ देखाए ।

salt training

कमेन्ट गर्नुहोस्