
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन नेतृत्वको वर्तमान सरकार ठेगानमा नरहेको टिप्पणी गरेका छन् । उनले सय दिनमा सरकार उम्लिएर भाँडा बाहिर पोखिएको समेत कटाक्ष गरे ।
बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले सरकारको खुट्टा भुइँमा नरहेको आरोप लगाएका हुन् ।
‘सरकार कहाँ ठेगानमा छ ? यसका खुट्टा कहाँ भुइँमा छन् ? यो उम्लिएको छ । दूध भाँडाको पिँधमा छैन, भाँडाभरी भएको छ, थोरै भए पनि उम्लिएर भाँडा बाहिरसम्म पोखिएको छ’, ओलीले भने, सय दिनका काम भाँडाभरी भएर उम्लिएका छन्, सरकार कसैलाई मान्छे गन्दैन, कर्तव्यबोध छैन ।’
ओलीले आफूहरूको सरकारले गरेका काम उद्घाटन गर्न पनि सरकार हिच्किचाएको बताए ।
‘दैलेखको ग्यास उद्योगमा ताला किन लगाएको ? व्यावसायिक प्रयोग गरे दैनिक अर्बौंको आम्दानी हुन्छ । किन व्यावसायिक प्रयोगका लागि उत्खनन्, प्रशोधन नगरेको ? यस्ता कुरा किन अगाडि नबढाएको ?’, ओलीले प्रश्न गरे ।