
काठमाडौंको त्रिपुरेश्वस्थित राहदानी विभागको ३ नम्बर गेट अगाडि बिहीबार आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगु जिल्लाको सोरू गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली रहेको पाइएको छ ।
उनी राइड शेयरिङमा आवद्ध रहेर काम गर्दै आएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार पनि उनले यात्रुलाई विभाग अगाडि छाडेका मोटरसाइकल त्यहीँ रोकेका थिए । त्यसक्रममा काठमाडौं महानगर प्रहरीले उनको मोटरसाइकलमा ह्वील लक लगाइदियो ।
महानगरले मोटरसाइकलको ह्वील लक लगाइदिएपछि नेपाली र महानगर प्रहरीबीच भनाभनको अवस्था सृजना भएको थियो । महानगर प्रहरीले मोटरसाइकल गाडीमा राख्न थालेपछि उनले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार नेपालीको ६५ प्रतिशत शरीर जलेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।