
पछिल्लो समय निजामती सेवामा राजीनामा दिने कर्मचारीको संख्या बढेसँगै ई-पेन्सन सेवामा चाप बढेको छ ।
यसै सन्दर्भमा, आर्थिक वर्षको समाप्ति नजिकिँदै गर्दा राष्ट्रिय किताबखाना (निजामती)ले ई-पेन्सन सेवाको फर्स्यौट हुन बाँकी सम्पूर्ण आवेदनहरूलाई शून्यमा झार्ने उद्देश्यले आइतबार एक दिवसीय विशेष अभियान सञ्चालन गरेको छ ।
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार ‘शून्य बाँकी ई-पेन्सन आवेदन’ नाम दिइएको अभियानअन्तर्गत आइतबार सार्वजनिक बिदाका दिनसमेत ७ जना कर्मचारीको विशेष टोलीले काम गरिरहेको छ ।
असार २५ गतेपछि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)बाट अवकाशपछिका सुविधाहरू भुक्तानी लिन कठिन हुने भएकाले विभिन्न जिल्लाबाट अनलाइन आवेदन गरी प्रतीक्षा सूची (ब्याकलग) मा रहेका निवृत्त कर्मचारीहरूको विशेष अनुरोधलाई सम्बोधन गर्न यो विशेष अभियान सञ्चालन गरिएको पोखरेलले बताए ।
२०८२ फागुन ८ गतेबाट शुरू भएको ई-पेन्सन सेवाका लागि हालसम्म कुल ५१७ जनाले आवेदन दिएकोमा ४३३ जनाले सेवा प्राप्त गरिसकेका छन् भने अत्यधिक कार्य बोझका कारण ८४ जना अझै सेवाको पर्खाइमा थिए ।
हाल कुल निवृत्त कर्मचारीहरूमध्ये ५० प्रतिशतभन्दा बढीले यो सेवा लिने गरेका छन् । श्रेणीविहीनदेखि विशिष्ट श्रेणीसम्मका निवृत्त कर्मचारीहरूमाझ यो सेवा लोकप्रिय बन्दै गइरहेको छ ।
महानिर्देशक पोखरेलका अनुसार पछिल्लो समय विभिन्न कारणले राजीनामा दिने कर्मचारीहरूको संख्या बढ्दै गएकाले ई-पेन्सन सेवामा चाप बढेको हो ।
असार महिनाको १ गतेदेखि १९ गतेसम्मका १५ कार्यदिनको तथ्यांक विश्लेषण गर्दा अनिवार्य अवकाशभन्दा राजीनामा दिनेको सङ्ख्या बढी देखिएको छ । यस अवधिमा १४२ जना अनिवार्य अवकाशमा गएका छन् भने १४६ जनाले राजीनामा दिएका छन् ।
पछिल्लो १५ कार्यदिनको अवधिमा राजीनामा दिएर पेन्सनका लागि आवेदन दिनेहरूमा सहायक स्तरका ७९ जना, शाखा अधिकृत स्तरका २९ जना, उपसचिव स्तरका ३३ जना र सहसचिव स्तरका ५ जना उच्च अधिकारीहरू रहेका छन् ।
राजीनामा दिनेको चाप यसरी नै बढ्दै गए पनि अनलाइन आवेदनलाई प्रभावकारी रूपमा फर्स्यौट गर्न किताबखानाले प्रविधिको अधिकतम प्रयोग गरिरहेको जनाएको छ ।