
नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको घटनाले आफूलाई स्तब्ध बनाएको भन्दै यसलाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाई राज्य र समाजका लागि सामूहिक आत्मचिन्तनको विषय बनाउन आग्रह गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
सभापति थापाले अहिलेको आवश्यकता दोषारोपण नभई पीडित परिवारलाई सक्दो साथ र सहयोग गर्नु रहेको उल्लेख गरेका छन्। उनले गणेश नेपालीका आश्रित परिवारको दुःखमा मल्हम लगाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएका छन्।
उनले यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्नेमा जोड दिएका छन्। 'हामीले आफैंसँग केही कठिन प्रश्न सोध्नैपर्छ- एउटा युवा किन यस्तो निराशाको विन्दुसम्म पुग्छ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन्? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौं?,' उनले प्रश्न गरेका छन् ।