
नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सम्बन्धित मन्त्रीको उपस्थितिविना बजेटको छलफलमा भाग नलिने अडान लिएपछि स्थगित भएको प्रतिनिधिसभा बैठक शुरू भएको छ ।
सरकारका मन्त्रीहरू उपस्थित भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक अघि बढाएका हुन् । अहिले संसद् बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल, शिक्षा तथा खेलकुदमन्त्री सम्मित पोखरेल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव् लगायत उपस्थित छन् ।
यसअघि एमालेका सांसद राईले सम्बन्धित मन्त्रीको उपस्थितिविना बजेटको छलफलमा भाग नलिने अडान लिएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका लागि समय पाएका राईले रोष्ट्रममा गएपछि सबै ९ जना मन्त्री उपस्थित नभई विषय वस्तुमा नबोल्ने अडान लिएका थिए ।
९ वटा मन्त्रालयको छलफल भइरहेकोमा संसद्मा २ जना मन्त्री मात्र उपस्थित थिए । ‘संसद् बैठक विधिमा चलाऔं, मन्त्रीविना मलाई बोल्नै फुर्दैन,’ राईले भने ।
यसअघि पनि उनले प्रिबजेट छलफलमा अर्थमन्त्री नआई छलफलमा भाग नलिने अडान लिएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको थियो ।