०५ असार २०८३, शुक्रबार

कांग्रेस-एमालेको ध्यान आन्तरिक समस्या समाधानमा मात्रै होइन, राष्ट्रिय मुद्दामा केन्द्रित हुनुपर्छ : प्रदीप ज्ञवाली

असार २, २०८३
काठमाडौं
कांग्रेस-एमालेको ध्यान आन्तरिक समस्या समाधानमा मात्रै होइन, राष्ट्रिय मुद्दामा केन्द्रित हुनुपर्छ : प्रदीप ज्ञवाली
फाइल फोटो

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेस र नेकपा एमाले राष्ट्रिय मुद्दामा केन्द्रित हुनुपर्ने बताएका छन् ।

मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत उनले आन्तरिक उल्झनमा रहेका कांग्रेस-एमालेको ध्यान मुख्य राष्ट्रिय मुद्दाहरूमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।

'नेकपा (एमाले) र नेपाली कांग्रेसजस्ता पार्टीहरू यतिबेला केही आन्तरिक समस्याहरूसँग जुझिरहेका छन् । लोकतान्त्रिक पार्टीहरूभित्र नीति, निर्णय, सङ्गठन, शैली र नेतृत्वका बारेमा मतान्तर या विमतिहरू देखिनु अस्वाभाविक होइन । यी समस्याको समाधानका आफ्नै विधिहरू छन् । आशा छ, समस्याहरू विधिसम्मत ढङ्गले समाधान हुनेछन् र पार्टीहरूको आन्तरिक एकता थप सुदृढ हुनेछ,' उनले लेखेका छन्, 'आन्तरिक विषयहरूको सामना गरिरहेको बेला हाम्रो ध्यान मुख्य राष्ट्रिय मुद्दाहरूमा केन्द्रित हुनैपर्छ । हामी गम्भीर भूराजनीतिक भुमरीतिर धकेलिँदै गइरहेका छौं । सीमामा चिया निकासी रोकिँदा हजारौं श्रमिक र सयौं उद्यमीहरू सङ्कटमा पर्नुभएको छ । दुई महिना अगाडि वर्वरतापूर्वक लखेटिएका सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू होल्डिङ सेन्टरहरूमा वेवारिसे जस्तै हुनुभएको छ । धान रोप्ने बेला मलको अभाव यथावत् छ । महङ्गी भयावह बनिरहेको छ ।'​​​

गरिखानेहरूको ट्याम्पो भीरबाट गुडाइदिएर सरकार आत्मरतिमा रमाइरहेको उनको दाबी छ । '...सबै कुरामा बेखबर हाम्रा बिन्दास प्रधानमन्त्री ‘जिस्किँदै’ हुनुहुन्छ र उहाँको ‘देश बनाउने टोली’ व्यवसायीहरूका खुट्टा भाँच्ने धम्की दिँदैछ । गरिखानेहरूको ट्याम्पो भीरबाट गुडाइदिएर ठूलै शत्रुमाथि ‘सर गरेको’ आत्मरतिमा रमाइरहेको छ,' उनले भनेका छन्, 'राष्ट्रपति संस्थाको अपमान । संसद्को अवमूल्यन । मतदाताहरूप्रति उपेक्षा । आफ्नै पार्टीप्रति वेवास्ता । लोकतान्त्रिक अधिकारहरूको सङ्कुचन । संवैधानिक अङ्गहरूमाथि हस्तक्षेप । राजनीतिक प्रतिशोध । राष्ट्रसेवकहरूको हुर्मत । समग्रमा, मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिँदै छ ।'

जनतालाई कांग्रेस-एमालेका आन्तरिक एजेन्डाभन्दा माथिका मुद्दामा बढी चासो रहेको उनले बताएका छन् । 'आफ्ना आन्तरिक विषयमा बहस गरिरहेको बेला यी राष्ट्रिय मुद्दाहरू र यिनीहरूप्रतिको हाम्रो दायित्व ओझेलमा नपरोस् भनेर ध्यान दिनैपर्छ । जनतालाई हाम्रा आन्तरिक एजेन्डाभन्दा माथिका मुद्दामा बढी चासो छ,' उनले भनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्