
देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका हरेक गतिविधिमा प्रत्यक्ष जोड्न सरकारले ‘नागरिक चौतारी’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त प्लेटफर्मको प्रारम्भिक (बेटा) संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहका स्वकीय उपसचिव प्रकृति ढकाल का अनुसार यो प्लेटफर्म सरकारका नीतिमाथि बहस गर्ने माध्यममा मात्र सीमित रहने छैन, बरु देशका समसामयिक विषय, सरकारी योजना, नीति र अभ्यासबारे नागरिकको सहज पहुँच सुनिश्चित गर्ने माध्यम बन्नेछ।
नागरिकले मोबाइल वा कम्प्युटरमार्फत देशका समस्या उठाउन, दुईतर्फी छलफल गर्न तथा व्यवहारिक समाधानका प्रस्ताव सिधै सरकारसमक्ष पेश गर्न सक्नेछन्। नागरिक चौतारीमार्फत नागरिकले सरकारलाई प्रत्यक्ष राय–सुझाव दिन सक्ने र सरकार तथा नागरिकबीचको अपनत्व र सहकार्य बढ्ने अपेक्षा गरिएको छ।
ढकालले यो प्लेटफर्ममार्फत देश विकासमा योगदान दिन इच्छुक प्रतिभावान र मिहिनेती स्वयंसेवकको खोजी गर्न पनि सकिने बताए। उनका अनुसार देशभित्र वा विदेशमा रहेका नेपालीले आफ्नो विज्ञता र अनुभव देश विकासमा योगदान गर्न यस माध्यमको उपयोग गर्न सक्नेछन्।
पुकार मल्ल ले नागरिक चौतारी जनताले अपेक्षा गरेको सुशासनको प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे। उनका अनुसार यसले सरकारी नीति तथा अभ्यासलाई थप नागरिकमैत्री, सहभागितामूलक र नतिजामुखी बनाउन सहयोग पुर्याउनेछ।