
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नेतृत्व तहमा आएको परिवर्तनलाई 'सत्ता परिवर्तन' सँग जोडेर टिप्पणी गरेका छन् ।
फ्रान्समा आयोजित जी-सेभेन शिखर सम्मेलनको समापनमा बुधबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरानका पुराना र कट्टरपन्थी नेताहरूको बहिर्गमनसँगै त्यहाँ नयाँ र 'स्मार्ट' नेतृत्व आएको बताएका हुन्।
पत्रकार सम्मेलनको सुरुमा राष्ट्रपति ट्रम्पले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँलाई भव्य आतिथ्यताका लागि धन्यवाद दिँदै यो शिखर सम्मेलन इतिहासकै सबैभन्दा सफलमध्ये एक भएको टिप्पणी गरे। उनले मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न, रणनीतिक रूपमा महत्त्वपूर्ण 'स्ट्रेट अफ हर्मुज' खुला गर्न र इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने गरी एक महत्त्वपूर्ण शान्ति सम्झौता भएको घोषणा समेत गरे।
इरानको आन्तरिक राजनीतिक फेरबदलका बारेमा बोल्दै ट्रम्पले त्यहाँका नयाँ नेताहरू पहिलेको तुलनामा धेरै बुद्धिमानी र कम कट्टरपन्थी भएको दाबी गरे।
उनले इरानमा आफूले चाहेको जस्तै परिवर्तन देखिएको संकेत गर्दै भने, 'तपाईंहरू सत्ता परिवर्तनको कुरा गर्नुहुन्छ, सायद बाहिर अरू कसैले यसलाई त्यसरी नभन्लान्, तर मलाई लाग्छ यो वास्तवमै सत्ता परिवर्तन हो। नेतृत्वको पहिलो समूह गइसक्यो, दोस्रो समूह पनि गइसक्यो र तेस्रो तहका नेताहरू पनि क्रमशः बाहिरिँदै छन्। मेरो विचारमा यो नै वास्तविक सत्ता परिवर्तन हो।'
सम्बोधनका क्रममा उनले यो शान्ति सम्झौता र राजनीतिक स्थिरताले अन्तर्राष्ट्रिय सेयर बजारमा पारेको सकारात्मक प्रभावका बारेमा पनि चर्चा गरेका थिए।