
फिफा विश्वकपको समूह ‘के’ अन्तर्गतको आफ्नो पहिलो खेलमा युरोपेली पावरहाउस पोर्चुगल अफ्रिकी टोली कंगो डीआरसँग बराबरीमा रोकिएको छ।
स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको जादु चल्न नसक्दा र रक्षापङ्क्तिमा तालमेल नमिल्दा पोर्चुगल १–१ गोलको बराबरीमा रोकिन पुगेको हो।
ह्युस्टन स्टेडियममा बुधबार राति सम्पन्न खेलमा पोर्चुगलले सुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन।
खेलको छैटौँ मिनेटमै जोआओ नेभेसले पेड्रो नेटोको क्रसमा उत्कृष्ट हेडरमार्फत गोल गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाएका थिए। सुरुवाती गोलपछि पोर्चुगलले बलमा पूर्ण नियन्त्रण जमाउँदै लगातार आक्रमण बुन्ने प्रयास गरे पनि कंगोको रक्षापङ्क्ति बाधक बन्यो। पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा योआने विसाले हेडरमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए।
यो गोल कंगो डीआरको विश्वकप इतिहासकै पहिलो गोल मात्र थिएन, ५२ वर्षपछि विश्वकपमा फर्किएको टोलीका लागि ऐतिहासिक अङ्क बटुल्ने माध्यम समेत बन्यो।
४१ वर्षको उमेरमा आफ्नो छैटौँ विश्वकप खेलिरहेका क्रिस्टियानो रोनाल्डोका लागि यो खेल बिर्सनलायक रह्यो। उनले पूरै ९० मिनेट मैदानमा बिताए पनि गोलका लागि खासै प्रभावकारी मुभहरू बनाउन सकेनन्।
दोस्रो हाफमा पोर्चुगलले राफायल लियाओ र ब्रुनो फर्नान्डेजमार्फत गोल गर्ने केही प्रयास गरे पनि कंगोका गोलकिपर लियोनेल म्पासी र डिफेन्डर आरोन वान-बिसाकाले ती प्रयासहरूलाई विफल पारिदिए। विशेषगरी वान-बिसाकाले रक्षापङ्क्तिमा उत्कृष्ट प्रदर्शन गर्दै पोर्चुगलका विङ्गरहरूलाई पूर्ण रूपमा रोकेर राखेका थिए।
खेलको अन्तिम समयमा जोआओ फेलिक्स र गोन्सालो रामोसलाई मैदान प्रवेश गराए पनि पोर्चुगलले विजयी गोल निकाल्न सकेन।
समूह ‘के’ मा अब पोर्चुगलले कोलम्बिया र उज्वेकिस्तान जस्ता टोलीहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।