०४ असार २०८३, बिहीबार
पहिलो जीतको खोजीमा दुवै टीम

फिफा विश्वकप-२०२६ : बदला लिने धुनमा स्विट्जरल्यान्ड, तीन अंक थप्दै अघि बढ्ने दाउमा बोस्यिना

असार ४, २०८३
काठमाडौं
फिफा विश्वकप-२०२६ : बदला लिने धुनमा स्विट्जरल्यान्ड, तीन अंक थप्दै अघि बढ्ने दाउमा बोस्यिना

फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘बी’को निकै प्रतिस्पर्धात्मक मानिएको खेलमा शुक्रबार स्विट्जरल्यान्ड र बोस्निया एन्ड हर्जगोभिना आमने–सामने हुँदैछन् ।

बोस्निया एन्ड हर्जगोभिना र स्विट्जरल्यान्डबीचको खेल अमेरिकाको सोफी स्टेडियममा नेपाली समयअनुसार, राति १२:४५ बजे शुरू हुनेछ ।

यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ । दुवै टोली जारी विश्वकपमा पहिलो जित निकाल्दै नकआउट चरणको यात्रा बलियो बनाउने धुनमा रहने छन् ।

यतिबेला समूह ‘बी’ तालिकाको अवस्था निकै रोचक छ । एक–एक खेल सकेका चारवटै टोलीको अंक पनि एक–एक नै छ ।

आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्ड एसियाली प्रतिद्वन्द्वी कतारसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । बोस्निया एन्ड हर्जगोभिनाले पनि क्यानडासँग १–१ गोलको बराबरी खेलेको थियो ।

कतारविरुद्धको खेलमा पूर्ण नियन्त्रण जमाएको स्विट्जरल्यान्डले २६ पटक गोलको प्रयास गरे पनि फिनिसिङमा चुक्दा अंक बाँड्न बाध्य हुनु परेको थियो ।

१७ औं मिनेटमा ब्रेल एम्बोलोको पेनाल्टी गोलबाट अग्रता लिएको स्विट्जरल्यान्डले खेलको अन्तिम समयमा मिरो मुहेमको आत्मघाती गोलका कारण जितबाट वञ्चित हुनुपर्‍यो ।

स्विस प्रशिक्षक मुरात याकिन भने आफ्नो टोलीको प्रदर्शनबाट असन्तुष्ट नै देखिएका छन् । उनले बोस्नियाविरुद्धको खेलमा टोलीको प्रदर्शनमा सुधारको आशा गरेका छन् ।

उनी भन्छन्, ‘कतारविरुद्ध हामीले उत्कृष्ट अवसरहरू सिर्जना गर्‍यौं तर, हामी आक्रामक र प्रभावशाली हुन सकेनौं । अन्तिम समयमा आएर दुई अंक गुमायौं ।’

अर्कोतर्फ, बोस्निया एन्ड हर्जगोभिनाले पनि क्यानडाविरुद्धको खेलमा शुरूआती अग्रता लिएको थियो । २१ औं मिनेटमा जोभो लुकिचको गोलमार्फत अग्रता लिए पनि ७८ औं मिनेटमा काइल लारिनले बराबरी गोल फर्काएपछि टोली ऐतिहासिक जितबाट वञ्चित भएको थियो ।

प्रशिक्षक सर्गेज बारबारेजको नेतृत्वमा रहेको बोस्नियाले लगातार छैटौं खेल बराबरी खेल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिइरहेको छ ।

सन् २०१६ को मैत्रीपूर्ण खेलमा बोस्नियाले स्विट्जरल्यान्डलाई २–० गोलले हराएको थियो । सोही इतिहासलाई सम्झँदै स्विट्जरल्यान्ड यस पटक बदला लिने दाउमा हुनेछ । बोस्निया भने आफ्नो बराबरीको शृंखला तोड्दै जितको खोजीमा रहनेछ । 

स्विट्जरल्यान्डको मध्यपंक्तिको कमान्ड ग्रानिट जाकाले सम्हाल्नेछन् । कतारविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका ३३ वर्षीय कप्तान जाका टोलीका आधारस्तम्भ मानिन्छन् ।

उता, बोस्नियाका लागि २७ वर्षीय स्ट्राइकर जोभो लुकिच मुख्य आकर्षण हुनेछन् । पाँच वर्षपछि टोलीमा पुनरागमन गरेका लुकिचले क्यानडाविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । उनको हेडरमार्फत गोल गर्ने क्षमता स्विट्जरल्यान्डका लागि चिन्ताको विषय बन्न सक्छ ।

समूह ‘बी’का सबै चार टोलीको १–१ अंक रहेकाले यो खेलपछि समूहको समीकरण थप रोचक बन्ने निश्चित छ । सोफी स्टेडियममा शुक्रबार बिहान सञ्चालन हुने यो खेलले समूह विजेताको दौडमा कसले अग्रता लिन्छ भन्ने स्पष्ट पार्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्