०६ असार २०८३, शनिबार
विश्वकप

ब्राजिल समूह 'सी'को शीर्ष स्थानमा, अंकविहीन बन्यो हाइटी

असार ६, २०८३
काठमाडौं
ब्राजिल समूह 'सी'को शीर्ष स्थानमा, अंकविहीन बन्यो हाइटी

फिफा विश्वकप अन्तर्गत समूह 'सी' को खेलमा ब्राजिलले हाइटीलाई ३-० गोल अन्तरले पराजित गरेको छ। शनिबार बिहान फिलाडेल्फिया स्टेडियममा भएको यस खेलमा प्रभावशाली जित निकाल्दै ब्राजिल समूह तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ।

खेलको सुरुवाती समयदेखि नै हाइटीमाथि दबाब बनाएको ब्राजिलका लागि माथेउस कुन्हाले उत्कृष्ट प्रदर्शन गरे। उनले खेलको २३औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ३६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। पहिलो हाफ सकिनुअघि इन्जुरी समयमा भिनिसियस जुनियरले गोल गरेपछि ब्राजिल पहिलो हाफमै ३-० को सुरक्षित स्थितिमा पुगेको थियो। भिनिसियस र लुकास पाक्वेटाले गोलका लागि सुन्दर पासहरू मिलाएका थिए।
यद्यपि, ब्राजिलका लागि पहिलो हाफमा राफिन्हा घाइते हुनु चिन्ताको विषय बन्यो भने जसको स्थानमा रायन मैदान प्रवेश गरेका थिए। 

दोस्रो हाफमा ब्राजिलले केही रक्षात्मक रणनीति अपनाउँदा र मुख्य खेलाडीहरूलाई आराम दिँदा थप गोल हुन सकेन । १९ वर्षीय युवा प्रतिभा एन्ड्रिकले गोल गर्ने अवसर पाए पनि अफसाइडका कारण उनको गोलले मान्यता पाएन।
हाइटीले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गर्दै केही राम्रा अवसरहरू सिर्जना गरेको थियो। रुबेन प्रोभिडेन्स र रिकार्डो एडेका प्रहारहरूलाई ब्राजिलका गोलकिपर एलिसन बेकरले उत्कृष्ट बचाउ गर्दै विफल तुल्याइदिए। हाइटीका डेन्ली जीन ज्याक्सले पहेँलो कार्ड खाएको यस खेलमा हाइटीले अन्तिम समयसम्म गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन।

यो जितसँगै २ खेलबाट ४ अंक जोड्दै ब्राजिल समूह 'सी' को शीर्ष स्थानमा पुगेको छ। समान ४ अंक भए पनि मोरक्को गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ भने स्कटल्याण्ड ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ।

 लगातार दुई खेलमा हार बेहोरेको हाइटी भने अंकविहीन रहँदै तालिकाको पुछारमा खुम्चिएको छ।

salt training

कमेन्ट गर्नुहोस्